२६ असार , काठमाण्डौ ।
गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर गणेश नेपालीको प्रकरणमा बोल्ने क्रममा भावुक बनेका छन् । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन् ।
संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए । उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ । आफ्नो जनताको सेवा गर्नुपर्छ।’
गुरुङले प्रतिनिधि गणेश नेपालीको आत्मदाह प्रकरणमा सांसदहरूले उठाएको प्रश्नमा प्रतिप्रश्न गरेका छन् । गृहमन्त्रीले सांसदहरूलाई प्रश्न गर्दै भने, ‘तपाईँहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?’ गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि वीर अस्पतालमा गएर आफूले उपचारमा कुनै अभाव हुन नदिन लागिपरेको उल्लेख गर्दै उनले भने, ‘उहाँलाई सेफ ट्रान्सफर गर्न हामी रातभर लागिपरेका थियौँ ।’
भारतमा उपचारको लागी पठाउन धेरै मेहनत गरेको उनले बताए । आज पनि परिवारलाई सान्त्वना कसरी दिने भन्नेबारे गृहमा छलफल गरिरहेको उल्लेख गर्दै उनले भने, ‘मुखले बोलेर जनताको सेवा हुँदैन ।’ फिल्डमा गएर जनताको सेवा गर्नुपर्ने उल्लेख गर्दै गुरुङले भने, ‘मलाई स्टन्टबाजी गर्ने इच्छा छैन, देशको सेवा गर्न आएको हुँ ।’
गणेश नेपालीलाई उपचारको लागी भारत लैजान आफूहरूले अथक प्रयास गरेको गुरुङले बताए । उनले भने, ‘चिकित्सकहरूको सल्लाह अनुसार उहाँलाई भारत नलगिएको हो ।’ ‘सरकार कसरी सञ्चालन हुन्छ भनेर म सिकाउन चाहन्छु’ उनले भने, ‘सरकार ३ तहको हुन्छ, जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले ह्वील लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो ।’
स्थानीय सरकार कसको छ अहिले भनेर प्रश्न गर्दै सुधनले सोधे, ‘स्थानीय सरकार रास्वपाको छ ? प्रदेश सरकार कसको छ ?’ दुई तहको सरकार त प्रतिपक्षीहरूसँगै भएको उल्लेख गर्दै गुरुङले भने, ‘कालो सिसा लगाउन नपाइने कानुन हामीले कोरेको हो ? तपाईँहरूले कोरेको कानुन पालना गराएका हौँ ।’
गृहमन्त्रीले मोटरसाइकलमा ह्विल लक लगाउने ट्राफिक प्रहरी नभएको पनि बताए । ’जुन ठाउँमा घटना भयो। त्यो ठाउँमा ट्राफिकले ह्विल लक लगाएको होइन। कुनै भिडिओमा छ ट्राफिकले लगाएको? नगरप्रहरीले लगाएको छ। स्थानीय सरकार कसको छ अहिले? रास्वपाको छ? प्रदेश सरकार कसको छ? दुई तहको सरकार त तपाईंहरूसँग छ। यो नियम कानुन हामीले बनाएको हो?,’ उनले भने।
उनले गणेशले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको पनि सदनलाई जानकारी दिएका छन्। उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ। साथै घटनाको अनुसन्धान गर्न तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको पनि उनले बताए। नियन्त्रणमा लिइएका दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरी हुन्।
गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए । उनले घटनास्थलमा ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाउँदै त्यसको जिम्मेवारी स्थानीय तहको कानुन र व्यवस्थापनसँग जोडिएको बताए ।
उनले भने, ‘एउटा संघीय सरकार, प्रदेश सरकार र अर्को स्थानीय सरकार हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ ?’ गृहमन्त्री गुरुङले विपक्षी दलतर्फ संकेत गर्दै स्थानीय र प्रदेश सरकारमा पनि उनीहरूको भूमिका रहेको दाबी गरे ।
उनले भने, ‘स्थानीय सरकार कसको छ अहिले ? प्रदेश सरकार कसको छ अहिले ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको हो ? तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं ।’ संसदमा भावुक हुँदै बोलेका गृहमन्त्री गुरुङले सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने बताए ।
उनले जनताको पीडा बुझ्न आफूहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्ने गरेको उल्लेख गर्दै त्यसलाई स्टण्टबाजीको रूपमा नलिन आग्रह गरे । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा धेरै सांसदहरुले गणेश नेपाली आत्मदाहको विषयलाई लिएर सरकारको विरोध गरे। एमालेको प्रमुख सचेतक ऐन महरले त ‘बालेन्द्र सरकार मुर्दावाद’सम्मको नारा लगाए।
प्रतिपक्षी सांसदले आवाज उठाएपछि जवाफ दिन राष्टम चढेका थिए गृहमन्त्री सुदन गुरुङ। उनी सुरुदेखि नै ’रेस्पोन्स’ र ’रियाक्ट’ दुवै शैलीमा पेश भए। सरकारले गरेका कोसिसहरु सुनाए। गणेश नेपालीको उपचारका लागि सरकारले सक्दो कोसिस गरेको नागरिकको जीवन बचाउन आवश्यक पर्ने पैसा खर्च गर्न सरकार तयार पनि बताए।
उनको तर्क थियो, ‘विपक्षी दलका सांसदहरुले विरोध गर्नुपर्ने अवस्था छैन।’ संसदमा उनले भने, ‘गृह मन्त्रालयमा बसेर हामीले के गर्दा उहाँहरुलाई सान्त्वना होला भनेर छलफल ग¥यौँ। पैसाको तपाइँ टेन्सन नलिनुहोस्, सरकारले पैसा खर्च गर्छ। कति पैसा चाहिने हो, आफ्नो नागरिकलाई खर्च गर्छ भनेँ।’
गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि के के भयो भनेर गृहमन्त्रीले विस्तृतमा विवरण सुनाए। ‘गणेश नेपालीलाई उपचारका लागि इन्डिया लैजान सुरक्षित रुपमा एयरपोर्ट ट्रान्सफर गर्नुप¥यो। त्यसका लागि भीभीआईपी सुरक्षा तैनाथ गरिएको थियो। उनको अवस्था थाहा पाउन डाक्टरसँग कुरा गर्नु प¥यो। हामीले इन्डियन साइटलाई पनि पर्मिसन लिनु प¥यो, राति भइसकेको थियो। डाक्टर रेडी राख्नुप¥यो।
राति परराष्ट्रमन्त्री उठ्नुभयो। परराष्ट्रसचिव उठ्नुभयो। इन्डियन एम्बेसीसँग कोअर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसनपछि उताको एम्सको टिमलाई रेडी गर्नुभयो। एरोप्लेन स्टेन्ड बाई राख्यौँ, हामीले। म आफैँ गएर त्यहाँ निरीक्षण गरेँ। हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटो पिच भएको छैन।
त्यतिखेर हाम्रो गणेश नेपाली एम्बुलेन्समा त्यही बाटो लैजाँदा हल्लेर केही होला कि भनेर, डर लागेर राति नै एयरपोर्ट गएर नम्बर–बी भएर ल्याउनुपर्छ भनेको हो। राति एयरपोर्ट म आफैँ गएको हो। तपाइँहरु यसलाई स्टन्ट बाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबै जनाबाट चाहियो आफ्नो नागरिकको सेवाको लागि।’
गृहमन्त्रीले यति भनिसक्दा संसदमा एउटा फरक दृश्य देखियो। रास्वपाकी सांसद आशिका तामाङ भावुक देखिएकी थिइन्। सुँकसुँकाउन थालेकी थिइन्। हातले मुख छोपिन्। टिस्यु पेपरले आफ्ना आँसु पुछिरहिन्। सांसदहरुले चासो दिएर हेरे। स्थिति निकै भावुक बन्यो।
लगत्तै गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन प्रतिनिधि सभाको बैठकमा सांसदले नियमापत्ति गरे । ‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,’ गृहमन्त्री गुरुङले रोस्टमबाट भने, ‘तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन।’
यसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति गरेका हुन्। गृहमन्त्री गुरुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको शर्माले बताए। ‘सदनले सरकारलाई सदनमै खोज्ने हो। सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो। त्यो जिम्मेवारी हो,’ शर्माले भने।
गृहमन्त्री गुरुङले सदनको अपमान गरेको शर्माले बताए। ‘सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति, संसद्प्रति जिम्मेवारी मन्त्रीले गरेको अपमानको रुपमा मैले यसलाई बुझेको छु,’ शर्माले भने, ‘यसलाई संसदको रेकर्डबाट हटाइयोस्।’




