१ वैशाख , काठमाण्डौ।
अमेरिका–इरानबीचको वार्ता असफल भएपछि अमेरिकाले युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ होर्मुजमाथि नाकाबन्दी लगाउदै इरानलाई घेराबन्दी गरेको छ । अमेरिकी यो कदमलाई उसकै नेतृत्वमा रहेको नेटो सैन्य गठबन्धनले भने साथ नदिने भएको छ । उता समुद्रमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका प्रमुखले बताएका छन् ।
अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिन्गुएजले एक पत्रकारमा भने, “इरान विरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध सुरु भएको छ हप्तापछि होर्मुजमा पहुँच अवरुद्ध गरिनु गलत हुनेछ।” संयुक्त राज्य अमेरिकाले सोमबारदेखि होर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गरेको छ।
यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो क्षेत्रमा तेहरानको सेनाले नियन्त्रण जारी राखेको छ । “अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पारबहनका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरुद्ध गर्ने अधिकार छैन,“ डोमिन्गुएजले भने । इरानी अधिकारीहरूले परीक्षण गरी आफ्ना सहयोगी मुलुक सम्बद्ध जहाजहरूलाई उनीहरूको तटको नजिकको मार्गबाट जलमार्ग पार गर्न अनुमति दिइरहेका छन् र केही मुलुक सम्बद्ध जहाजहरूलाई प्रवेश गर्न पैसा तिर्नुपर्ने बताएका छन्।
“अन्तर्राष्ट्रिय जलमार्गका लागि अन्तर्राष्ट्रिय जलसन्धिमा निषेध गर्ने यो सिद्धान्त समुद्रको अन्तर्राष्ट्रिय परम्परागत कानुनको विरुद्ध छ,” उनले भने । उनले थपे, “यसले धेरै खतरनाक उदाहरण सिर्जना गर्नेछ।”अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर यो काम सहज नभएको उनले बताए ।
“मध्यपूर्व र विशेष गरी हमुर्ज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाजलाई सञ्चालन गर्न मद्दत गर्न हामीले सुरु गरिरहेका छौँ अमेरिकी नाकाबन्दीको अतिरिक्त प्रभाव जहाजमा नगण्य हुने उनले बताए । उनले थपे, “केही (निकै कम) मात्र जहाजहरू आवागमन गर्न सफल भएका छन्, एक अतिरिक्त नाकाबन्दीले स्थितिलाई त्यस स्तरमा बिगार्ने छैन भन्ने बुझ्न सकिन्छ।”
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान ! यदि यी (इरानी) जहाजहरू हाम्रो नाकाबन्दी घोषित क्षेत्रको नजिक पुगे भने तुरून्तै आक्रमण हुनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल नेटवर्क’मा लेखेका छन् ।
भेनेजुयलाको समुद्री तटमा कथित लागुऔषध डुङ्गामा भएको हवाई आक्रमणलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, “अमेरिकी सेनाले समुद्रमा आउने इरानी युद्धक जहाजलाई ‘लागुऔषध व्यापारी’विरुद्ध क्यारेवियाली सागरमा तैनाथ उनीहरूका ‘युद्धक जहाज’ लाई ध्वस्त पार्न हामीले प्रयोग गरेको समान र प्रणाली प्रयोग गर्नेछ।”
ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई चुनौती दिने कुनै पनि इरानी जहाजहरूलाई तत्काल ध्वस्त पारिदिने चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानका साना ‘फास्ट अट्याक’ जहाजहरूले अमेरिकी नाकाबन्दीमा अवरोध पुरÞ्याउन खोजे तिनलाई बाँकी नराख्ने बताएका हुन् ।
ट्रम्पले इरानको ठुलो नौसेना पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै अब बाँकी रहेका साना डुङ्गाहरूलाई पनि निशाना बनाउने संकेत दिएका छन्। ट्रम्पका अनुसार इरानका १५८ वटा ठूला जहाजहरू पहिले नै समुन्द्रको फेदमा पुगिसकेका छन् र अमेरिकाले अहिलेसम्म ती साना तीव्र गतिका जहाजहरूलाई खासै खतरा नमानेका कारण छाडिदिएको थियो ।
तर अब ती जहाजहरू अमेरिकी नाकाबन्दीको आसपास देखिएमा लागूपदार्थ तस्करहरूलाई समुद्रमा सिध्याउन प्रयोग गरिने प्रविधि अपनाएर तुरुन्तै सिध्याइने चेतावनी उनले दिएका छन् । वर्षौँदेखि सैन्य विज्ञहरूले इरानका साना र पत्ता लगाउन गाह्रो हुने डुङ्गाहरूले समूहगत रूपमा अमेरिकी नौसेनाका लागि चुनौती खडा गर्न सक्ने बताउँदै आएका थिए ।
हालैका महिनाहरूमा अमेरिकाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अवैध लागूऔषध ओसारपसार रोक्नका लागि साना डुङ्गाहरूमाथि लगातार आक्रमण गरिरहेको छ। पेन्टागनले हिजो मात्रै प्रशान्त क्षेत्रमा दुईवटा छुट्टाछुट्टै आक्रमण गरी पाँच जनाको ज्यान गएको पुष्टि गरेको थियो ।
इरानले यसअघि नै शत्रुको जहाजको आवागमनका लागि होर्मुज जलमार्ग बन्द गरिसकेको छ र केवल चीनजस्ता मित्रवत देशहरूको सेवा गर्ने जहाजहरूलाई मात्र पार गर्न अनुमति दिइरहेको छ।नयाँ गतिरोधले थप ट्याङ्करहरूको आवागमन रोकिने डरका बीच सोमबार कच्चा तेलको मूल्य लगभग थप आठ प्रतिशतले बढेको छ।
अमेरिकी नाकावन्दीको चेतावनीलाई स्पेनले ‘वेकारको लफडा’ को संज्ञा दिएको छ । त्यसैगरी, चीनले पनि नाकावन्दीको चेतावनीको विरोध गरेको छ । चीनले आफ्नो इन्धन आपूर्तिको ठूलो हिस्सा इरानबाट ल्याउने गर्छ । त्यसैगरी, इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा नेटो आबद्ध राष्ट्रहरूले साथ नदिने घोषणा गरेका छन्।
बेलायत र फ्रान्सले अमेरिकी नाकावन्दीमा आफ्नो कुनै संलग्नता नरहने तर यसको विकल्पमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले स्ट्रेट सुरक्षित गर्न ‘शान्तिपूर्ण बहुराष्ट्रिय अभियान’मा सामेल हुन तयार भएका देशहरूसँग फ्रान्स र बेलायतले एक सम्मेलन आयोजना गर्ने बताएका छन् ।
युद्ध समाप्त भएपछि मात्रै हस्तक्षेप गर्ने प्रस्ताव अघि सार्दै बेलायत र फ्रान्स लगायतका देशहरूले ट्रम्पको सैन्य अभियानमा सामेल हुन अस्वीकार गरेपछि पश्चिमी सैन्य गठबन्धनभित्रको विवाद थप गहिरिएको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै इरानले विश्वको कुल तेल आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यस जलमार्गमा आफ्ना बाहेक अन्य जहाजलाई अवरोध गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मार्फत अन्य देशहरू पनि यस नाकाबन्दीमा सहभागी हुने दाबी गरे पनि नेटोका प्रमुख सदस्यहरूले त्यसलाई ठाडै अस्वीकार गरेका छन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफूहरूमाथि ठुलो दबाब भए पनि इरानसँगको युद्धमा नपस्ने अडान लिएका छन्।
उनले बीबीसीसँग कुरा गर्दै नाकाबन्दीलाई समर्थन नगर्ने र युद्धमा नतानिने स्पष्ट पारे। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि यस विषयमा फरक धारणा राख्दै युद्ध सकिएपछि मात्रै सो क्षेत्रमा सुरक्षित जलयात्रा सुनिश्चित गर्न छुट्टै बहुराष्ट्रिय मिसन परिचालन गर्ने योजना अघि सारेका छन्।
नेटो राष्ट्रहरूको यो अडानले राष्ट्रपति ट्रम्पलाई क्रुद्ध पार्ने देखिएको छ। ट्रम्पले यसअघि नै इरानमाथिको आक्रमणका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने युरोपेली देशहरूबाट अमेरिकी सेना फिर्ता लैजाने र नेटो गठबन्धनबाटै बाहिरिने धम्की दिँदै आएका छन्।
नेटोका महासचिव मार्क रुट्टले युरोपेली सरकारहरूलाई ट्रम्पले होर्मुज क्षेत्रमा ठोस सैन्य प्रतिबद्धता खोजेको जानकारी गराएका थिए। तर, युरोपेली देशहरूले भने इरानसँग सुरक्षित सम्झौता भएपछि मात्रै आफ्ना जहाज पठाउन सकिने बताएका छन्।यसैबिच, फ्रान्सले बेलायत र अन्य करिब ३० देशहरूसँग मिलेर सो जलमार्गमा ढुवानी सुरक्षाका लागि एक स्वतन्त्र मिसन बनाउने तयारी थालेको छ।
यो मिसनले कुनै पनि पक्षको समर्थन नगरी केवल ट्याङ्करहरूको सुरक्षा गर्नेछ। टर्कीएका विदेशमन्त्री हाकान फिदानले पनि कूटनीतिक माध्यमबाट मात्रै समस्या सुल्झाउनुपर्ने भन्दै आगामी जुलाईमा अंकारामा हुने शिखर सम्मेलनमार्फत ट्रम्प र नेटोबिचको सम्बन्धलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड दिएका छन्।
यता अमेरिका र इरानबिच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताएका छन्। “युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भनेका छन् ।
कतारका प्रधानमन्त्रीले इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिएका छन् ।
पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा इरानको परमाणु गतिविधि रोक्न अमेरिका र इरानले एक–अर्कालाई प्रस्ताव दिएको खुलेको छ। अल जजिराका अनुसार इरानले ५ वर्षसम्म परमाणु परियोजना रोक्ने प्रस्ताव राखेको थियो। तर अमेरिकाले त्यसलाई स्वीकार गरेन र २० वर्षसम्म रोक लगाउनुपर्ने मागमा अडिग रहेपछि वार्ता विफल भएको थियो ।


