१ साउन , काठमाण्डौ ।
तत्कालीन सोभियत संघको पतनका अनेक कारण छन् । विश्वको आधा भूगोल ओगेटेको त्यो महान सोभियत संघ अहिले रुस बनेर खुम्चिदा पनि उस्को भूभाग कम छैन । तर यति ठूलो देशलाई टुक्रा टुक्रा पार्ने खास कारण के हो त ? धेरै कारण र तर्कहरु अघि आउलान । तर तत्कालीन सोभियत संघको हालत कमजोर पार्ने मुख्य पक्ष थियो – स्टार वार ।
जब अमेरिका र सोभियत संघ अन्तरिक्षमा जोडिने होडबाजीमा लागे तब सुरु भयो सोभियत संघको पतन । यी दुई मुलुकको यो अन्तरिक्ष युद्धले अन्तरिक्षमाथि धेरै हदसम्म मानव पहुँच सम्भव भयो । जुन अहिले पनि अनेक अध्ययन र परीक्षणका विषय बनेका छन् । तर ठूलो सफलता हात पारिसकेको सोभियत संघ भने भित्र भित्रै आर्थिक रुपमा जर्जर नै बनिसकेको थियो ।
त्यसमाथि तत्कालीन उदार नेता मिखाइल गोर्बाचोभले ग्लास्त्रोस र पेरेस्त्रोइका दुई नीति अघि सारे पछि त्यो सोभियत संघ १३ वटा देशमा छिन्न भिन्न भयो । अहिले मात्र रुस बनेर सोभियत संघको त्यो पुरानो साख बचाउने प्रयासमा छ । तर स्टार वारले धराशायी बनेको सोभियत संघले विश्वलाई भने अन्तरिक्ष यात्रा, अध्ययन र परीक्षणका लागि धेरै ढोका खोलिदिएको छ ।
यही ढोकाबाट छिरेर धेरै देशले अनेक फाइदा लिइसक्दा चीनले अहिले आएर अन्तरिक्षमा क्रान्तिकारी सफलता नै हात पार्न थालेको छ । चीनले चन्द्रमा घर बनाउने अभियानमा ठूलो सफलता हात पारिसक्दा चन्द्रमामा होटल खोल्ने अभियानले पनि ठूलो फड्को नै मारिसकेको छ ।
एक समय नक्कली चन्द्रमा पनि बनाएर आकाशमा उडाएको चीनले विश्वलाई धेरै कुरामा चकित पार्दै गर्दा चन्द्रमामा पनि अदभूत प्रयोग गर्ने कार्यमा ठूलो सफलता हात पारिसकेको छ । चीनले अहिले चन्द्रमामा भौतिक पूर्वाधारको निर्माणमा जुटेको छ । अन्तरिक्षको कठोर वातावरणमा लामो समय विताएर फिर्ता आएको चिनियाँ अन्तरिक्ष टोलीले चन्द्रमामा घर बनाउने सबै तयारी अन्तिम चरणमा पुर्याएको छ ।
चीनले चन्द्रमाको माटोबाट बनाइन लागेको इँटाले भविष्यमा चन्द्रमामा घरहरू, प्रयोगशालाहरू र वैज्ञानिक स्टेशनहरूको लागि मार्ग प्रशस्त गर्न सक्छ या सक्दैन भन्ने अध्ययनमा ठूलो सफलता हात पारेको छ । चीनले अहिले २०३५ सम्ममा अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनको पूर्वाधार निर्माण गर्ने योजनामाथि काम गरिरहेको छ ।
चीन चन्द्रमामा मानव बसोबासको आफ्नो सपना साकार पार्ने सपनालाई सफलतामा परिणत गर्न लागिपरेको छ । शेन्झोउ–२१ अन्तरिक्षयानबाट चन्द्रमाको माटोको इँटा र चन्द्रमाको माटो जस्तै बनाइएका कृत्रिम इँटाहरू पृथ्वीमा ल्याएर अध्ययन गरिरहेको चीनले ठूलो सफलता हात पारिरहेको जनाएको छ । इटाको प्रारम्भिक परीक्षण गर्दा पूर्ण रूपमा सुरक्षित रहेको पाइएको चिनियाँ वैज्ञानिकहरुको भनाइ छ ।
यो सफलतालाई उनीहरुले चीनको दीर्घकालीन अन्तरिक्ष अभियानको लागि महत्वपूर्ण कोशेढुंगा मानेका छन् । चीनको यो कदम यसकारण पनि महत्वपूर्ण छ किनकि चीनले २०३० सम्ममा चन्द्रमामा आफ्ना अन्तरिक्ष यात्रीहरू पठाउने र २०३५ सम्ममा अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनको पूर्वाधार निर्माण गर्ने योजनामा केन्द्रित भएर काम गरिरहेको छ ।
नोभेम्बर २०२४ मा सुरु गरिएको यो प्रयोगले तब सफलताको संकेत दियो । जब तियान्झाउ–८ कार्गो जहाजले यी नक्कली चन्द्रमाको माटोका नमूनाहरू चीनको अन्तरिक्ष स्टेशनमा पु¥यायो। स्टेशनको बाहिरी भागमा जडान गरिएको विशेष एक्सपोजर प्लेटफर्ममा जम्मा ७४ वटा साना इँटाहरू राखिएको थियो। सम्पूर्ण परियोजना तीन वर्षसम्म चल्ने तालिका छ, जसमा प्रत्येक वर्ष नमूनाहरू पृथ्वीमा फर्काइनेछ र तिनीहरूको परिवर्तनहरू अध्ययन गरिनेछ । यो सम्पूर्ण
काम चीनको हुआझोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिक डिङ लियुआन नेतृत्वको टोलीले गरिरहेको छ । चाङ इ–फाइभ मिसनबाट फिर्ता ल्याइएको वास्तविक चन्द्रमाको नमूनाको रासायनिक विश्लेषणको आधारमा, वैज्ञानिकहरूले पृथ्वीमा चन्द्रमा जस्तो माटोको मिश्रण सिर्जना गरे ।
यसका लागि, उनीहरूले चीनको जिलिन प्रान्तको चाङबाई पर्वतबाट निस्केको ज्वालामुखी खरानी प्रयोग गरे, जसको संरचना चन्द्रमाको माटोसँग धेरै मिल्दोजुल्दो छ । यो मिश्रणलाई उच्च–तापमान तातो–प्रेस सिन्टरिङ प्रक्रिया मार्फत इँटाको आकार दिइएको थियो । उल्लेखनीय कुरा के छ भने, यी इँटाहरूको तौल नियमित इँटा जत्तिकै छ, तर दबाब वहन क्षमताभन्दा तीन गुणा बढी छ ।
तिनीहरू –१९० डिग्री सेल्सियसदेखि १८० डिग्री सेल्सियस सम्मको चरम तापक्रममा पनि स्थिर हुन्छन् र ब्रह्माण्डीय विकिरणको सामना गर्न सक्छन् । परम्परागत चिनियाँ निर्माण प्रविधिहरूबाट प्रेरित डिंग लियुआनको टोलीले सिमेन्ट–रहित जोइन्ट, मोर्टिसटेनन जोइन्टहरू प्रयोग गरेर जोड्न सकिने इँटाहरू सिर्जना गरेको छ ।
चिनियाँ वैज्ञानिकहरूले एउटा यस्तो रोबोट पनि विकास गरेका छन् जसले यी इँटाहरूलाई जम्मा गरेर चन्द्रमामा संरचनाहरू निर्माण गर्न सक्नेछ । अन्तिम चरणमा, संरचनालाई थ्रीडी प्रिन्टिङ प्रयोग गरेर बलियो बनाइने योजना चीनको छ । चीनले यो सफलतालाई अहिलेसम्म एउटा उचाईमा पुर्याइसक्दा उता अमेरिकामा रहेका वैज्ञानिकहरु भने चन्द्रमामा होटल सञ्चालन ल्याउने अभियानलाई मुर्त रुप दिन कस्सिएर लागेका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार अन्तरिक्ष प्रविधि स्टार्टअप स्पेस (ग्यालेक्टिक रिसोर्स युटिलाइजेसन) ले एक दशक भन्दा कम समयमा चन्द्रमामा मानिसहरू बसोबास गर्ने योजना घोषणा गरेसँगै अन्तरग्रहीय यात्राको सपना वास्तविकताको नजिक पुग्दैछ । यस परियोजनाका संस्थापक २२ वर्षीय स्काइलर चान हुन् ।
कम्पनी गत वर्ष मात्र स्थापना भएको भए पनि जीआरयु स्पेसले पहिलेदेखि नै स्पेस एक्स र एन्ड्रुली जस्ता प्रमुख कम्पनीहरूसँग काम गरेका लगानीकर्ताहरूबाट पूँजी जुटाइसकेको छ । चन्द्रमामा खुल्न लागेको पहिलो होटलको आधिकारिक रूपमा कोठा बुकिङ खुल्ला गरिएको एजेन्सीको भनाइ छ ।
यही कारण पनि आगामी दश वर्ष भित्र, अन्तरिक्षमा पहिलो होटलको सम्भावना अब विज्ञान कथा मात्र नहुन सक्छ । त्यस समयमा, पर्यटकहरूले झ्यालबाट ताराहरू हेर्न मात्र सक्षम हुनेछैनन्, तर वास्तवमा अन्तरिक्षको कठोर वातावरणमा बस्न सक्षम हुनेछन् ।
संस्थापक चानका अनुसार, परियोजनाको लक्ष्य पर्यटन अनुभव प्रदान गर्नुमा मात्र सीमित रहने छैन । यसले चन्द्रमामा अर्थतन्त्र स्थापना गर्ने लक्ष्य पनि राखेको छ । अन्तरिक्ष अभियानमा निकै विश्वस्त देखिएका चाङका अनुसार मानवीय सफलता एउटा मोडमा पुगेको र योजनाहरू सफल भएमा, चन्द्रमा र मंगल ग्रहमा अरबौं मानिसहरूको बसोबास गर्नु अब असम्भव छैन ।
होटल निर्माण गर्न, जीआरयु स्पेसले पृथ्वीबाट परम्परागत निर्माण सामग्रीहरू प्राप्त नगरे पनि कम्पनीले सजिलै उपलब्ध स्थानीय स्रोतहरू प्रयोग गर्ने संरचनाको मोडेल रोजेको छ । योजना अनुसार, २०२९ मा, कम्पनीले नासाको सीएलपीएस कार्यक्रम मार्फत आफ्नो पहिलो परीक्षण अभियान सुरु गर्नेछ ।
जसमा चन्द्रमाका चट्टानहरूलाई इँटामा परिणत गर्ने प्रविधि प्रदर्शन गरिनेछ । यी इँटाहरू फुल्ने मोड्युलहरूलाई बलियो बनाउन प्रयोग गरिनेछ, जसले विकिरण र अत्यधिक तापक्रमबाट सुरक्षा प्रदान गर्ने सुरक्षात्मक तह सिर्जना गर्नेछ । वरपरको क्षेत्रको तुलनामा चन्द्रमाको स्थिर तापक्रमको फाइदा उठाउन यो होटल चन्द्रमाको सतहको एउटा खाल्डोमा अवस्थित हुने योजना छ ।
यसको पहिलो संस्करण, २०३२ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ, एक पटकमा अधिकतम चार जना पाहुनाहरूलाई मात्र सेवा दिइने छ । जीआरयु स्पेशले यस परियोजनाको लागि बुकिङ खोलेको छ । फिर्तायोग्य निक्षेप प्रति युनिट ४२ लाख ५० हजार देखि ४२ लाखसम्म छ । यद्यपि, यो केवल प्रारम्भिक बुकिङ शुल्क हो ।
यस बसाइको कुल लागत ४१ करोड भन्दा बढी हुने अनुमान गरिएको छ, र यसको उद्देश्य अन्तरिक्षमा गएका वा पृथ्वीमा उपलब्ध नभएका अनौठा अनुभवहरू खोज्ने अर्बपतिहरूलाई आकर्षित गर्नु हो। चन्द्रमामा बस्ने सुरुवाती अनुभव आरामदायी विलासिता भन्दा बढी चुनौतीहरूले भरिएको हुनेछ।
संरचनाहरूले यातायात लागत घटाउन फुल्ने सामग्रीहरू प्रयोग गर्नेछन् । खानाको कुरा गर्ने हो भने, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अन्तरिक्ष यात्रीहरूले खाने जस्तै फ्रिज–ड्राइ गरिएको खाना दिइनेछ । होटल बाहिरका गतिविधिहरूमा भाग लिन, पाहुनाहरूले विशेष अन्तरिक्ष यात्री सूट लगाउनु पर्छ र चन्द्रमाको वातावरणको लागि विशेष रूपमा डिजाइन गरिएका सवारी साधनहरू प्रयोग गर्नु पर्छ।
प्रत्येक बसाइ लगभग ५ रातसम्म रहने अपेक्षा गरिएको छ, यद्यपि यो चन्द्रमामा पूर्ण दिनभन्दा कम हो, किनकि त्यहाँ दिन–रात चक्र लगभग २९ पृथ्वी दिनसम्म रहन्छ । के यो अभियान सफल होला त ? विज्ञानको दुरुपयोग गरी पृथ्बीलाई बस्नै नसक्ने गरी क्षत विक्षत बनाउँदै लगेका पृथ्बीवासीले अब के यो पृथ्बी छाडेर अन्तरिक्षमा मानव वस्ती बसाउने लक्ष्यलाई पूरा गर्न खोजेका हुन त ?
हेरु नजिकको छिमेकी चीन र अमेरिका अहिले अर्को स्टार वारमा छन् । हालत सोभियत संघको जस्तै हुने हो या प्रयास सार्थक बन्ने हो ? देखिने छ नै ।




