५ साउन , काठमाण्डौ ।
भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी)ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि केही प्रदर्शनकारीहरूले नेपालमा भएको जेनजी आन्दोलनको उदाहरण दिँदै मोदी सरकारलाई कडा चेतावनी दिएका छन् ।
नीट प्रश्नपत्र लीक प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सिजेपीले आयोजना गरेको ‘संसद मार्च’का क्रममा प्रहरीले धरपकडसहित बल प्रयोग गरेपछि आक्रोशित बनेका प्रदर्शनकारीले दिल्लीमा पनि नेपालकै जस्तो अवस्था बनाइदिने हुन् ।
संसद मार्च का सहभागीहरूले भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलन स्मरण गर्दै नेपालमा जस्तै संसद भवन तहसनहस पार्ने चुनौती दिएका छन्। ’नीट’ (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरणलाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शनमा ओर्लिएका एक प्रदर्शनकारीले भने, ’राजीनामा आएन भने संसद भवन उखाड्दिन्छौं (उखेलेर फाल्छौं)। नेपाल बनाइदिन्छौं नेपाल।’
प्रदर्शनकारीले नेपालको जेनजी आन्दोलन सम्झिँदै दिएको यस्तो अभिव्यक्तिको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । भारतमा सत्तासँगको असन्तुष्टिका कारण जन्मेको कक्रोच जनता पार्टीले आयोजना गरेका विरोध कार्यक्रमलाई सुरूदेखि जेनजी आन्दोलनसँग जोडेर हेरिएको छ।
जेनजी आन्दोलनमा जस्तै कक्रोच पार्टीले आयोजना गर्ने विरोध कार्यक्रमहरूमा पनि विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने गरेको छ। यसअघि कक्रोज पार्टीले आफूहरुको प्रर्दशन शान्तिपूर्ण हुने बताउदै आएको थियो। नेपालमा जेनजी आन्दोलनमा संसद् घेर्न पुगेका जेनजी प्रर्दशनकारीविरुद्ध प्रहरीले अन्धाधुन्द गोली चलाएपछि १९ जनाको ज्यान गएपछि जेनजी प्रर्दशन हिंसात्मक बनेको थियो ।
संसद् भवन ,सिंहदरबार, सर्वाेच्च अदालतसहितका धरोहर जलेका थिए भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भाग्नु परेको थियो । सोमबार दिल्लीमा आयोजित संसद मार्चमा ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा ओर्लिएका थिए। तिनमा बहुसंख्यक विद्यार्थी थिए।
प्रहरीको कडा सुरक्षा घेराबन्दीका कारण प्रदर्शनकारीहरू संसद भवनसम्म पुग्न नसके पनि प्रदर्शनको रापले अहिले सम्पूर्ण मध्य दिल्ली क्षेत्र ठप्प बनेको थियो । प्रदर्शन स्थल जन्तर–मन्तरमा स्थिति तनावग्रस्त बनेपछि भिड तितरबितर पार्न प्रहरीले लाठीचार्ज र बल प्रयोग गरेको छ।
आइतबारदेखि नै भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको त्यस क्षेत्रमा सोमबार बिहानै दंगा नियन्त्रण वाहन परिचालन गरिएको थियो। प्रहरीले जन्तर–मन्तरबाट हटाउन खोजे पनि प्रदर्शनकारीहरू मध्य दिल्लीका अन्य भागमा तितरबितर भएर प्रदर्शन जारी राखेका थिए ।
संसद चलो मार्चका क्रममा सोमबार प्रदर्शनकारीहरू हातमा राष्ट्रिय झण्डा र विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर संसदतर्फ अघि बढेका थिए। केही प्रदर्शनकारी भने कक्रोचको भेषभूषामा देखिएका थिए। प्रदर्शन रोक्न प्रहरीले विभिन्न स्थानमा अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो।
प्रहरीले पटक–पटक रोके पनि प्रदर्शनकारीहरू फेरि एकत्रित हुँदै संसदतर्फ अघि बढ्ने प्रयास गरिरहेका थिए। दिउँसोसम्म संसद जाने उच्च सुरक्षा क्षेत्रका सडकहरू नाराबाजी, वर्षा र अश्रुग्यासबीच तनावग्रस्त बनेका थिए। अश्रुग्यासको गन्ध फैलिएको अवस्थामा पनि प्रदर्शनकारीहरूले अगाडि बढ्ने प्रयास जारी राखेका थिए।
भारतका विभिन्न राज्यबाट आएका हजारौँ नागरिक प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका थिए। मार्च जन्तर–मन्तरबाट सुरु भएको थियो, जहाँ सीजेपीले जुन २० देखि निरन्तर धर्ना दिँदै आएको छ। संसदको मनसुन अधिवेशन सुरु भएको पहिलो दिन नै यो प्रदर्शन आयोजना गरिएको हो।
धेरै प्रदर्शनकारी रातभर रेल र बस यात्रा गरेर दिल्ली पुगेका थिए। उनीहरूका काँधमा यात्रा झोला झुन्डिएका थिए। प्रदर्शनका क्रममा भारत माता की जय, “वन्दे मातरम”, “इन्कलाब जिन्दाबाद” र “धर्मेन्द्र प्रधान राजीनामा दे” जस्ता नाराले सडक गुञ्जिएको थियो।
संसदतर्फ जाने सबै मार्गमा सुरक्षा अवरोध (ब्यारिकेड) राखिएको थियो। दंगा नियन्त्रणका उपकरणसहित प्रहरी बहुस्तरीय धातुका अवरोधक पछाडि तैनाथ थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीका बसहरू तयारी अवस्थामा राखिएका थिए भने आपत्कालीन सेवा दिने सवारीसाधन पनि आसपास परिचालन गरिएको थियो।
उता चार दिनदेखि दिल्लीको सफदरजंग अस्पतालमा भर्ना रहेका सामाजिक अभियानी सोनाम वाङचुकले आफ्नो अनसन जारी राख्ने बताएका छन्। उनले सोमबार प्रहरीले ’अहिंसक प्रदर्शनकारीहरूमाथि गरेको क्रूर व्यवहार’ पछि यो निर्णय लिएको बताएका छन्।
वाङचुकको यो सन्देश उनको आधिकारिक ’एक्स’ (ट्वीटर) मा कागजमा हातले लेखिएको सन्देशका रूपमा पोस्ट गरिएको छ। उक्त सन्देशमा उनले भनेका छन्, ’सरकारले मंगलबार वा बुधबार युवा नेताहरूलाई आफ्ना कुरा सांसदहरूसामु राख्न संसद जान अनुमति देओस्, वा उनीहरूका युवा नेताहरू उनलाई भेट्न अस्पताल आउन सकून; तब मात्र उनले आफ्नो अनसन तोड्नेछन्।’
आफ्नो सन्देशमा उनले सोमबार संसद मार्चका क्रममा जम्मा भएका समर्थकहरूको अहिंसक भिडलाई धन्यवाद दिएका छन् र अगाडि पनि यसरी नै समर्थनको अपेक्षा व्यक्त गरेका छन्। यसअघि भारतको राजधानी दिल्लीको जन्तर–मन्तरमा आमरण अनसन बसिरहेका वाङचुकलाई प्रहरीले दिल्ली उच्च अदालतको निर्देशनको हवाला दिँदै जुलाई १८ मा जबर्दस्ती सफदरजंग अस्पताल लगेको थियो।
सोमबारै बिहान उनले सामाजिक सञ्जाल ’एक्स’ मा पोस्ट गर्दै आफ्नो अनसन समाप्त गर्न तीनवटा सर्त राखेका थिए। बिबिसी हिन्दीका अनुसार सोनाम वाङचुकले राखेका सर्तमा भनिएको थियो — प्रश्नपत्र सार्वजनिक भएका घटना लगायत शिक्षा व्यवस्थाको ’हालैका असफलता’ को जिम्मेवारी सरकारले लेओस्, राजनीतिक दलहरूले संसदमा यो मुद्दा उठाउने विश्वास दिलाऊन्, र, विभिन्न दलका सांसद र नेताहरू अस्पताल आएर उनलाई भेटेर यसबारे आश्वासन दिऊन्।
उता प्रदर्शन चर्कँदै गएपछि सरकारका तर्फबाट वार्ताको पहल गरिएको छ। सिजेपीका प्रवक्ताहरूले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट कुराकानी गरेका छन्। भेटपछि सिजेपीका प्रवक्ता आशुतोष रांकाले मन्त्रीसमक्ष आफ्ना तीनवटा मुख्य सर्त प्रस्तुत गरिएको जानकारी दिए।
ती सर्तहरूमा सामाजिक अभियानी सोनाम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र ’नीट’ परीक्षा विवाद र तनावका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई १ करोड क्षतिपूर्ति दिनुपर्ने रहेका छन्। सीजेपीको उदयताका टीएमसी जस्ता दलहरूले समर्थन देखाएका थिए ।
तर, विपक्षी दल र नेताहरू सुरुदेखि नै यो आन्दोलनबाट टाढा थिए। पछि केही नेताहरूले व्यक्तिगत रूपमा आन्दोलनमा सहभागी हुने कुरा गरे। आइतबार दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोडिया धर्नास्थल पुगे। उनले मानिसहरूलाई पार्टीभन्दा माथि उठेर मार्चमा सहभागी हुन आग्रह गरे।
उनले एक्समा लेखेका छन्, ” यो देशका बालबालिकाको भविष्यको समर्थनमा मार्च हो। यो भारतलाई शिक्षा माफियाबाट आजाद गराउने मार्च हो।” समाजवादी पार्टीकी सांसद प्रिया सरोज आइतबार जन्तर–मन्तर पुगिन्। उनले मञ्चबाट यो मार्चमा सहभागी हुन अपिल गरिन्। उनले सोमबार हुने मार्चमा सहभागी हुने कुरा पहिले पनि भनेकी थिइन्।
आइतबार समाजवादी पार्टीका सांसद राजीव राय र इक्रा हसन पनि पुगे। मञ्चबाट बोल्दै राजीव रायले समाजवादी पार्टी र उनीहरूका सबै कार्यकर्ता सीजेपीको यो आन्दोलनसँग रहेको बताए। शुक्रबार कांग्रेस पार्टीका प्रवक्ता एवं राज्यसभा सांसद पवन खेडा सोनम वाङचुक र प्रदर्शनकारीहरूलाई भेट्न जन्तर–मन्तर पुगेका थिए।
संसदमा पनि सीजेपीको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्न खडा गर्न थालेका छन् । भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोमबार सीजेपीका प्रदर्शनकारीहरूमाथि भएको प्रहरी लाठीचार्जको मुद्दा राज्यसभामा सशक्तरूपमा उठाएका छन्।
पेपर लिक प्रकरणलाई लिएर जन्तर–मन्तरमा भेला भएका हजारौँ युवाहरूमाथि प्रहरीले लाठीचार्ज गरेको बताउँदै उनले मोदी सरकारले युवाहरूको आवाज दबाउन खोजिरहेको आरोप लगाएका छन्। यसैबीच, ककरोच जनता पार्टी (सीजेपी) ले संसदमा युवाहरूको पक्षमा आवाज उठाएको भन्दै सामाजिक सञ्जाल एक्समार्फत अध्यक्ष खड्गेलाई धन्यवाद ज्ञापन गरेको छ।
संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्गेले दिल्ली आएर आफ्ना कुरा राख्न चाहने छात्र तथा नौजवानहरूमाथि कुटपिट र दुःख दिने कार्य गलत भएको बताएका छन्। त्यस्तै, दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले सीजेपीका प्रदर्शनकारीहरूमाथि भएको लाठीचार्जप्रति कडा आपत्ति जनाउँदै त्यसलाई गलत बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै सरकारलाई अहंकार त्यागेर युवाहरूसँग वार्ता गर्न आग्रह गरेका छन्।




