वेदिका केसी पक्राउ, राधिका दासीको उजुर!

६ साउन ८३, बिहीबार

७ साउन , काठमाण्डौ ।

चरित्र हत्या गरेको आरोपमा प्रहरीले अभियानी वेदिका केसीलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् ।

बिहीबार काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले उनलाई पक्राउ गरेको एसपी दिलिप गिरीले जानकारी दिए। साइबर ब्युरोका प्रवक्ता गिरीका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ ।

Advertisement

वेदिकाले केही दिनयता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगतस्तरमा गम्भीर आरोपहरू लगाउँदै आएकी छन् । बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् । केसीले विभिन्न सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध बोल्दै आएकी थिइन् ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने केसी पछिल्लो समय मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्दै आएकी थिइन् । वेदिकाले सामाजिक सञ्जालमार्फत आफूले गलत ठानेका गतिविधि र कथितरुपमा ‘माता’ भनिएकाहरूको गतिविधिमाथि प्रश्न उठाउँदै भण्डाफोर अभियान चलाएकी थिइन् ।

Advertisement

उनले सामाजिक सञ्जालतर्फ सनातन धर्मको पक्षमा बोल्दै भिडियोहरु बनाउँदै आएकी छन् । यस क्रममा १७ घण्टाअघि मात्रै टिकटकमा एक भिडियो पोष्ट गर्दै उनले आफूले सनातन धर्मका पक्षमा बोल्दा धर्म विरोधीहरुले आफूबारे अफवाह फैलाएको भन्दै उनीहरु विरुद्ध कानुनी उपचारमा गएको बताएकी थिइन् ।

यस क्रममा उनी आफै पक्राउ परेको खबर सार्वजनिक भएको हो । उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्ताहरूमा सनातन धर्मभित्र रहेका विकृति, अन्धविश्वास, नक्कली धामी–झाँक्री तथा ‘माता’ भनिनेहरू विरुद्ध आवाज उठाउँदै आएको दाबी गर्ने वेदिका र कथावाचिका राधिका दासीबिच केही समयदेखि आरोप–प्रत्यारोप चलिरहेको थियो।

एक टेलिभिजन कार्यक्रममा बेदिका र राधिका दासी दुवैले एकअर्काविरुद्ध आरोप र प्रत्यारोप लगाएका थिए । अभियन्ता बेदिकाले राधिका दासीविरुद्ध सम्पत्ति र ठगीसम्बन्धी आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक गरेकी थिइन ।

यसको प्रतिउत्तरमा कथावाचक दासीले आरोपहरू निराधार रहेको बताउँदै, आरोप सामाजिक सञ्जालमा होइन कानुनतः प्रमाणित गर्न चुनौती दिएकी थिइन्। राधिका दासीको धार्मिक गतिविधि, व्यक्तिगत जीवन र महायज्ञहरूसँग जोडिएका विषयमा प्रश्न उठाउँदै आएकी वेदिकामाथि भ्रामक प्रचारप्रसार गरेको आरोप लागेपछि यो मुद्दा प्रहरीसमक्ष पुगेको हो।

पक्राउ परेकी केसीको स्थायी घर विराटनगर रहेको छ । तर उनी हाल काठमाडौंमा बसोबास गर्दै आएकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top