२५ साउन , काठमाण्डौ ।
स्वास्थ्यलाई लिएर इजरेली मिडियाले विभिन्न टिप्पणी गरिरहेका बेला इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेईसँग राष्ट्रपति मसुद पेजेस्कियानले भेट गरेको इरानको राष्ट्रिय प्रसारक प्रेस टीभीले दाबी गरेको छ। उनीहरूबिच देशका सैन्य तथा आर्थिक मामिलाबारे छलफल भएको राष्ट्रपतिको कार्यालय स्रोतलाई उद्धृत गर्दै प्रेस टीभीले उल्लेख गरेको छ।
यो भेट भएको कुरा इजरायली सञ्चारमाध्यमले खामेनीको मृत्यु भइसकेको वा उनी ‘अत्यन्त गम्भीर अवस्था’मा रहेको दाबी गरेको केही दिनपछि सार्वजनिक गरिएको हो। सो दाबीपछि खामेनीले छलफल गर्दै गरेको भिडियो समेत सार्वजनिक गरिएको थियो।

प्रेस टीभीका अनुसार ‘भेटवार्तामा जनताका जीविकोपार्जन आवश्यकता, अमेरिका–इजरायली आक्रामक युद्धका अवस्था र भविष्यका सम्भावना, सैन्य विकास, स्रोत सुनिश्चित गर्ने तरिका तथा रियल, विदेशी मुद्रा र ऊर्जा खर्च व्यवस्थापन, साथै विदेशी साझेदारसँग आर्थिक सहकार्य’बारे छलफल भएको छ।
यो भेटवार्ताको कुरा मोज्ताबा खामेनीसँग सम्बन्धित सामाजिक सञ्जाल एक्स अकाउन्टमा पनि राखिएको छ। एक्समा लेखिएको छ, ‘पेजेस्कियान राष्ट्रपति बनेको तेस्रो वर्ष सुरु हुँदा राष्ट्रपति र सर्वोच्च नेताबिच देशका आर्थिक तथा सैन्य मुद्दाबारे भेट र छलफल भएको छ।
पोस्टमा अगाडि भनिएको छ, ‘यस भेटमा देशका मुद्दा र समस्या, विशेष गरी जनताका जीविकोपार्जन आवश्यकता, थोपारिएको तेस्रो युद्धको वर्तमान अवस्था र अगाडिको भविष्य, सैन्य क्षेत्रका विकास, स्रोत व्यवस्थापन र खर्च (रियल, विदेशी मुद्रा र ऊर्जा) का समाधान, साथै विदेशी पक्षसँग आर्थिक अन्तरक्रियाबारे विस्तृत छलफल भयो’
यसअघि आइतबार बिहानै इरानको अर्ध–सरकारी समाचार एजेन्सी मेहरले मोज्तबा खामेनीको भिडिओ सार्वजनिक गरेको थियो।भिडिओमा मोज्ताबा खामेनी केही मानिसँग कुरा गरिररहेको देखिन्छ। त्यसअघि इजरायली सञ्चारमाध्यमले उनी गम्भीर अवस्थामा रहेको र अस्पताल लगिएको दाबी गरेका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिता तत्कालीन सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिएपछि मोज्तबा खामेनीले उक्त पद सम्हालेका हुन्। सर्वोच्च नेता बनेयता उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्।
आइतबार सार्वजनिक भिडिओ पनि कहिलेको हो भन्ने खुलाइएको छैन। प्रेस टीभीका अनुसार पेजेस्कियान जुलाई ५ मा राष्ट्रपतीय चुनाव जित्दै सन् २०२४ जुलाई ६ मा राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। उनलाई इरानका तत्कालीन सर्वाेच्च नेता आयतुल्ला अली खामेनेईले सन् २०२४ जुलाई २८ मा औपचारिक रूपमा राष्ट्रपति नियुक्त गरेका हुन्।
उनले जुलाई ३० मा इरानी संसदअघि शपथ खाएका थिए। अर्काेतर्फ विवादको एक प्रमुख केन्द्र होर्मुज खुलाउने विषयमा इरानले अमेरिकासँग सर्त अघि सारेको छ। विश्वको कुल ऊर्जा आपूर्ति तथा प्राकृतिक ग्यास ढुवानीका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने सामरिक महत्त्वको होर्मुज जलमार्गको सुरक्षित सञ्चालन र व्यवस्थापनको विषयलाई लिएर हाल इरान र ओमानबीचको कूटनीतिक संवाद निकै सकारात्मक दिशामा अघि बढिरहेको छ।
ओमानको विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार रणनीतिक रूपमा संवेदनशील यस जलमार्गमा पानीजहाजहरूको आवतजावतलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने विषयमा दुई देशका उच्च अधिकारीहरूबीच गम्भीर तथा विस्तृत छलफल भइरहेको छ।
ओमानको सक्रिय मध्यस्थतामा भइरहेको यो वार्ता अन्तिम चरणमा प्रवेश गरेको दाबी गरिए पनि यसले मात्रै तत्काल यो सामरिक जलमार्ग पूर्ण रूपमा खुलिहाल्ने निश्चित भने नरहेको तेहरानले स्पष्ट शब्दमा चेतावनी दिएको छ।
ओमानले भने जलमार्ग सञ्चालनको प्रक्रिया अघि बढिरहेको यस संवेदनशील बेलामा कुनै पनि किसिमका पानीजहाज लक्षित आक्रमण वा हिंसात्मक गतिविधिहरू भएमा त्यसले सम्पूर्ण कूटनीतिक प्रयास र सम्झौताको प्रक्रियालाई नै गम्भीर अवरोध पुर्याउने स्पष्ट पारेको छ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले ओमानसँगको संवाद निकै सकारात्मक ढङ्गले अन्तिम चरणमा पुगिरहेको बताएका छन्। उनका अनुसार जलमार्गमा नयाँ रुट तथा सुरक्षित बाटो निर्धारण गर्ने विषयमा इरान र ओमानबीच साझा सहमति बन्ने सम्भावना बलियो बन्दै गएको छ।
प्रस्तावित नयाँ मार्गको व्यवस्थापन र अनुगमनको जिम्मेवारी दुवै देशले संयुक्त रूपमा बहन गर्नेछन् र त्यसले आगामी दिनमा व्यापारिक तथा तेल बोक्ने ट्याङ्करहरूको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। गत फेब्रुअरी महिनामा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेलगत्तै इरानले यो व्यस्त जलमार्गलाई लगभग ठप्प पार्दै आएको थियो।
विश्लेषकहरूका अनुसार यस जलमार्गबाट विश्वको कुल तेल तथा ग्यास कारोबारको करिब २० प्रतिशत परिमाण आवतजावत हुने गरेका कारण यसको अवरोधले वैश्विक ऊर्जा बजारमा निरन्तर ठूलो प्रभाव पारिरहेको छ। यद्यपि, इरानका तर्फबाट जलमार्ग पूर्ण रूपमा खुला गर्नका लागि अन्य कडा राजनीतिक, आर्थिक तथा सामरिक सर्तहरू अघि सारिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहम्मद बकेर जोल्कादरले अमेरिकाले आफ्नो आक्रामक व्यवहार, धम्कीपूर्ण नीति र कारबाहीहरू पूर्ण रूपमा नसच्याएसम्म यो जलमार्ग कुनै पनि हालतमा नखुल्ने कडा चेतावनी दिएका छन्। तेहरानको अडान अनुसार जलमार्ग खुलाइनका लागि अमेरिकाले मुख्यतया ५ वटा प्रमुख सर्तहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।
ती सर्तहरूमा इरानविरुद्ध दिइने सम्पूर्ण धम्कीपूर्ण अभिव्यक्तिहरू बन्द गरिनुपर्ने, इरानी बन्दरगाहहरूलाई लक्षित गरेर लगाइएको सामुद्रिक नाकाबन्दी पूर्ण रूपमा हटाइनुपर्ने र विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा रोक्का गरिएका इरानी सम्पत्तिहरू तत्काल फुकुवा गरिनुपर्ने विषयहरू समावेश छन्।
यसका साथै, इरानमाथिका कडा आर्थिक प्रतिबन्धहरू खुकुलो पारिनुपर्ने र गत महिनाहरूमा भएका युद्धजन्य क्षतिहरूको निम्ति अमेरिकाले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग समेत इरानले दृढताका साथ उठाएको छ।
यसबीचमा, जुलाई २० देखि रेड सीस्थित साउदी अरेबियाका बन्दरगाहलाई लक्षित गर्दै यमनका इरान समर्थित हुथी समूहले पनि छुट्टै नाकाबन्दी जारी राखेको छ, जसले यस क्षेत्रको समग्र सुरक्षा अवस्थालाई थप जटिल बनाइदिएको छ।
यस मामिलामा अमेरिकी उच्च तहबाट पनि विभिन्न प्रतिक्रियाहरू बाहिर आएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै इरानसँग छिट्टै नै कुनै ठोस र सकारात्मक सहमतिमा पुग्न सकिने विश्वास व्यक्त गरेका छन्।
तर, उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजसँग कुराकानी गर्दै कूटनीतिक प्रयासहरूमा केही प्रगति हासिल भए तापनि अहिले नै सबै कुरा टुंगो नलागेको र आफूहरू वार्ताको मध्यभागमा रहेको बताएका छन्। अमेरिकी जनताका लागि सर्वोत्तम परिणाम हासिल गर्न कूटनीतिक, आर्थिक तथा सैन्य सबै किसिमका विकल्पहरू खुला राखिएको उनले प्रष्ट पारे।
साथै, युद्ध सुरु हुनुभन्दा अगाडिकै परिमाणमा खाडी क्षेत्रबाट तेल ढुवानी हुने गरी काम भइरहेको उनले जानकारी दिए। यसअघि इरानी अधिकारीहरूले होर्मुज जलमार्ग पार गर्ने पानीजहाजहरूसँग बोकेको सामग्रीको मूल्यको ५ देखि ७ प्रतिशतसम्मको भारी शुल्क उठाउन खोजेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणलाई उपराष्ट्रपति भान्सले खारेज गर्दै इरानले त्यस्तो कुनै शुल्क नलगाउने विषयमा आफूहरूलाई आश्वस्त पारेको बताएका छन्।
क्षेत्रीय तनाव अझै पूर्ण रूपमा साम्य भइनसकेको अवस्थामा हिंस्रक तथा शंकास्पद घटनाहरू पनि उत्तिकै जारी छन्। ओमानले जलमार्गमा कुनै पनि आक्रमण नगर्न सम्बन्धित पक्षहरूलाई निरन्तर आग्रह गरिरहेकै समयमा युनाइटेड अरब इमिरेट्स (युएई) ले आफ्नो सरकारी तेल कम्पनी एडनकसँग आबद्ध एक तेल ट्याङ्करमाथि इरानले क्षेप्यास्त्र प्रहार गरी निशाना बनाएको गम्भीर दाबी गरेको छ।
युएईको विदेश मन्त्रालयले इरानी हमलाका कारण एडनकको ट्याङ्करमा क्षति पुगेको जनाए पनि यस घटनामा कुनै पनि मानवीय क्षति भने नभएको स्पष्ट पारेको छ। यता संयुक्त अधिराज्यको सामुद्रिक व्यापार सञ्चालन निकाय (यूकेएमटिओ) ले पनि ओमानको तट नजिकै एक अज्ञात प्रोजेक्टाइल वा क्षेप्यास्त्रको आक्रमणबाट पानीजहाजमा क्षति पुगेको र त्यहाँ उत्पन्न भएको आगलागीलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको जनाएको छ।
यद्यपि, यूकेएमटिओले उल्लेख गरेको जहाज र युएईले दाबी गरेको जहाज एउटै हो वा होइन भन्ने विषयमा अझै पनि पूर्ण स्पष्टता आइसकेको छैन। यस प्रकारका छिटपुट झडप, हिंसात्मक घटनाहरू र इरानका कडा राजनीतिक सर्तहरूका कारण होर्मुज जलमार्गको दिगो खुलापन र क्षेत्रीय शान्तिको भविष्य अझै पनि अनिश्चितताको घेराभित्रै अल्झिरहेको छ।




