पर्खाल काटेर विद्युत् टनेल र नदी किनारबाट उद्धार

११ भदौ ८३, बिहीबार
Share this
749shares

११ भदौ ,काठमाण्डौ ।
रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ । भत्किएका संरचना खोजी तथा उद्धारको तालिम लिएका सुरक्षाकर्मीले संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गर्छन् ।

Advertisement

हाइड्रोपावरमा फसेकाहरू र नदी तटका संरचनामा फसेकाहरूको उद्धारको लागी सीएसएसआर टिम परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिए । गएराति नै काठमाडौँबाट हिँडेको एउटा टोलीले अहिले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीहरूमा खोजी कार्य सुरु गरेको छ ।

सीएसएआर टिम १ हजार ५ सय परिचालन गरिएको छ । उद्धार र खोजीमा गोताखोर पनि परिचालन गरिएको छ । भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटमा मानवीय क्षति गरेसँगै सशस्त्रले प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर र ड्रोनको प्रयोग गरेर खोज तथा उद्धारको काम गरिरहेको छ ।

Advertisement

खोज तथा उद्धारमा समन्वय गर्न सशस्त्रको नम्बर–३ बाहिनीका प्रमुख डीआईजी किरण बस्नेत नुवाकोट गएका छन् । नुवाकोटस्थित नम्बर–१९ गुल्ममा विपद् प्रतिकार्य वेश बनाएर खोज तथा उद्धारमा समन्वय गरिरहेका छन् । शव व्यवस्थापन गर्न पनि टिम परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

खोज तथा उद्धारका लागि सशस्त्रले धुन्चे, रसुवागढी, नुवाकोट र चितवनमा विपद् प्रतिकार्य बेस बनाएर काम गरिरहेको छ । कुरिनटारस्थित विपद् तालिम शिक्षालय विकाश घिमिरेले पनि खोज तथा उद्धारमा समन्वय गरिरहेका छन् । सशस्त्रले अहिलेसम्म १२ ठाउँबाट ९८ वटा शव सङ्कलन गरेको छ ।

Advertisement

अहिलेसम्म ३० जना घाइते सहित ७३ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । आज बिहानै ६ः३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि ४ घण्टामा १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीले बताएका छन् ।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।

अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पु¥याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पु¥याइँदैछ।

छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पु¥याउनेछ। नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको प्रधानमन्त्रीले बताएका छन् । खाना तथा पानीको व्यवस्था गरिएको छ।ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ।

यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ। उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ।

यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्ने प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री साहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समेत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरू आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् ।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री साह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् । बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री साहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ ।
यता, रसुवा पहिरोले बगाएर चितवनसम्म ल्याएका शव राख्न ठाउँ अभाव भएपछि चितवन प्रशासनले कोल्ड स्टोर बनाएर व्यवस्थापनको तयारी गरेको छ । जिल्लामा जम्मा ५० वटा शव मात्रै व्यवस्था गर्न सकिने क्षमता रहेकाले नयाँ व्यवस्था गर्नु परेको हो ।

नारायणी किनारामा एकैठाउँ ४–५ वटासम्म शव भेटिन थालेपछि जिल्ला सुरक्षा संयन्त्रले शव व्यवस्थापनको लागि सरकारी भवन प्रयोग गर्न लागेको हो । हिजो नै त्याहा ६५ वटा शब भेटिएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव व्यवस्थापनमा कठिनाइ भएपछि प्रयोगमा नभएको सरकारी भवनमा कोल्ड स्टोर बनाउन लागिएको जानकारी दिए ।

अहिले कोल्ड स्टोर तयार गर्ने काम भइरहेको छ । तापक्रम व्यवस्थापन पछि शवहरु तत्कालीन कृषि सामग्री केन्द्रको भवनको कोठामा राख्न लागिएको हो । नेपाल प्रहरीर सशस्त्र प्रहरी तथा नेपाली सेनासहित महानगरपालिकाको नगर प्रहरी समेत शव व्यवस्थापनको काममा खटिएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको नुवाकोटको विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत् आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ । टोलीले प्रभावित विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरी काम तीव्र बनाउन निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ । टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तनविक्रम राणा लगायतका अधिकारी सहभागी छन् ।

प्राधिकरणले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट आपूर्ति सञ्चालन गर्ने तथा क्षतिग्रस्त संरचनाको मर्मत गरी नियमित विद्युत् सेवा पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

यसैबीच, हिजो भोटेकोसीमा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, यी नदीमा अझै पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै छ।

आगामी तीन दिन देशका केही प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। सुनकोसी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीमा आजदेखि पर्सीसम्मै पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको भनाइ छ।

यसैगरी, सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सामान्य मात्र बढ्ने प्रक्षेपण छ।आज देशका विभिन्न जिल्ला भई बग्ने स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको छ।

रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्की जिल्लाका स–साना नदीमा बाढीको जोखिम रहेको महाशाखाले स्पष्ट पारेको छ।

यसका साथै, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बग्ने नदीहरूमा पनि बहाव बढ्ने बताइएको छ। यसैगरी, भोलि र पर्सी भने विशेषगरी गण्डकी र लुम्बिनी प्रदेश भई बग्ने केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top