१५ भदौ, काठमाण्डौ।
प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो पाँच दिनदेखि नेपालले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको बताएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका कारण चुनौती भइरहेको उनले बताएका हुन् ।
प्रधानमन्त्री शाहले नागरिकको जीवनरक्षाका लागि राज्यका सम्पूर्ण संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको दाबी गरेका छन् । प्रभावित नागरिकले आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडा ठूलो रहेको उल्लेख गर्दै उनले संकटको यस घडीमा सरकार गम्भीर र संवेदनशील रहेको बताएका हुन् ।

९ हजार ४३५ जनाको उद्धार
प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा र्पुयाइएको छ । राहत तथा उद्धारका लागि आज मात्रै थप ७२ सहित हालसम्म ३९४ उडान भइसकेका छन् ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको शाहले बताएका छन् । विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ।
रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ । उक्त क्षेत्रमा चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार जारी राखेका छन् ।
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धार प्रयास जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन् । नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङमार्फत सुरुङमा पहुँच विस्तार गर्ने काम गरिरहेका छन् ।
नेपाली सेना, तालिमप्राप्त कुकुरसहितको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली घटनास्थलमा परिचालित छ । टोलीले आइतबार सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाए पनि भित्रबाट कुनै प्रतिक्रिया नआएको शाहले बताएका छन् ।
ठूला उपकरणको प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम एकसाथ भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवाको चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि विभिन्न नेपाली तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोज तथा उद्धार जारी रहेको उनले बताएका छन् ।
२६७ घाइतेको उपचार
बाढी प्रभावित क्षेत्रबाट २६७ जना घाइतेको उद्धार गरी स्थानीयसहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंलगायत स्थानबाट चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।
बाढीका कारण अवरुद्ध स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन गर्ने काम पनि भइरहेको शाहले बताएका छन् ।
राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा
प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले बताएका छन् । त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले जानकारी दिएका छन् । संकलित रकमलाई प्रभावकारी रूपमा खर्च गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
आश्रयस्थल तथा राहत केन्द्र सञ्चालन
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । आइतबार मात्रै यी केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीले बताएका छन् ।
काठमाडौंमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टार र रसुवाको उत्तरगयालगायत प्रभावित क्षेत्रमा र्पुयाइएको छ। भारत र चीनबाट पनि उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको शाहले बताएका छन् ।
अन्तर्राष्ट्रिय सहयोग बढ्दै
बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग पनि बढिरहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ ।
भारतबाट चार चरणमा गरी हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाउनुका साथै थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । चीनबाट पनि ३० वटा बेलीब्रिज सहयोग मागिएको शाहले बताएका छन् ।
सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालन
बाढीका कारण अवरुद्ध भएको सञ्चार सेवा अधिकांश प्रभावित क्षेत्रमा पुनः सञ्चालनमा आएको प्रधानमन्त्रीले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाइएको छ ।
नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् ।
७८१ शव फेला
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ । पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको उनले बताएका छन् ।
पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग गर्ने आधार सुरक्षित राखिने प्रधानमन्त्रीको भनाइ छ ।
‘प्रत्येक प्रभावित नागरिकसम्म राहत र्पुयाउँछौं’
मुख्य सडकहरू क्षतिग्रस्त भएपछि वैकल्पिक सडक सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको शाहले बताएका छन् । तर भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो खस्नुका साथै कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा यातायात सेवा प्रभावित भएको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रिय एकता र सामूहिक प्रयासबाट संकटलाई परास्त गर्न सकिने बताएका छन् । सरकारले हरेक प्रभावित नागरिकको अभिभावक बनेर काम गर्ने उल्लेख गर्दै उनले प्रत्येक प्रभावित व्यक्तिसम्म राहत र्पुयाउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




