१५ भदौ, काठमाण्डौ।
केही साता आक्रमण रोकिएको अमेरिका–इरानबीच फेरि मिसाइल हानाहान भएको छ । अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन् ।
जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो ।

आईआरजीसीले पनि अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ । साथै, उसले अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनी दिएको छ । त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले पनि आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दाबी गरेका छन् ।
यसबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया भने सार्वजनिक भएको छैन । आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ ।
जोर्डनको सशस्त्र सेनाले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा आठवटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको उल्लेख छ । आईआरजीसीका अनुसार आइतबार गरिएको संयुक्त क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई निशाना बनाइएको छ ।
उक्त कारबाहीलाई आईआरजीसीले आक्रमणकारीलाई सजाय भनेको छ । आक्रमणबाट सैन्य प्राविधिक तथा मर्मत सम्भार पूर्वाधार र लडाकु विमान तैनाथ गर्ने क्षेत्रहरूमा ठुलो क्षति पुगेको दाबी आईआरजीसीले गरेको छ ।
यता जोर्डनको सेनाका अनुसार उक्त घटनामा दुवै अमेरिकी सैन्य अड्डामा कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । पछिल्लो सैन्य झडप जुलाईको अन्त्ययताकै पहिलो ठुलो हिंसात्मक घटना भएको जनाइएको छ । यस घटनाले इरान र अमेरिकाबिच पुनः सैन्य टकराब चर्किने जोखिम बढाएको छ ।
अमेरिकाले इरानमाथि बमबारीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिन थालेका बेला दुई पक्षबिच पुनः सैन्य हमला भएको हो । यसैबिच इरानी समाचार संस्था फार्सले अमेरिकी–इजरायली शत्रुको आक्रमणमा इरानी सैनिक मारिएको तथा घाइते भएको जनाएको छ ।
यद्यपि, त्यसमा कति सैनिक मारिए वा घाइते भए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन । पछिल्ला केही सातादेखि अमेरिका र इरानबिच स्टेट अफ होर्मुजलाई लिएर समेत तनाव बढेको छ । अमेरिकाले आफ्नो सैन्य सुरक्षामा उक्त जलमार्ग हुँदै लाखौँ ब्यारेल तेल पार भइरहेको दाबी गर्दै आएको छ भने इरानले स्टेट बन्द रहेको बताउँदै आएको छ ।
यसअघि जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसयता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ। पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः चर्किन सक्ने संकेत गरेको छ।
विशेषगरी विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा सुरक्षा चुनौती थपिन सक्ने आशंका गरिएको छ । यसबीच अमेरिकाले इरानमाथि आर्थिक दबाब थप बढाउने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई अमेरिकी वित्तीय प्रणालीबाट थप अलग पार्ने उद्देश्यले यसै साता अर्को एउटा बैंकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताएका छन् ।
आइतबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बेसेन्टले प्रतिबन्धमा पर्ने बैंकको नाम भने खुलाएनन् । इरानको आम्दानीका स्रोत बन्द गर्ने र उसलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग पार्ने अमेरिकी अभियान अझ तीव्र हुने उनले बताए । रोयटर्ससँग कुरा गर्दै बेसेन्टले आगामी दिनमा यस्ता प्रतिबन्ध थप बढ्ने संकेत गरे ।
उनका अनुसार अमेरिकाले बैंकहरूबाटै कारबाही सुरु गरेको छ र इरानी रकम राख्ने तथा इरानी सरकारलाई सहयोग गर्ने वित्तीय संस्थालाई त्यस्तो गतिविधि रोक्न चेतावनी दिइएको छ । यो घोषणा इजिप्टको दोस्रो ठूलो बैंक बान्क मसरमाथि अमेरिकाले कारबाही अघि बढाएको केही दिनपछि आएको हो ।
अमेरिकाले उक्त बैंकले इरानी सरकारसँग कारोबार गरेको आरोप लगाउँदै त्यसलाई अमेरिकी वित्तीय प्रणालीबाट अलग गर्ने प्रक्रिया अघि बढाएको थियो । इरानमाथि दबाब कायम राख्न आवश्यक परे कडा वित्तीय कदम चालिने पनि बेसेन्टले बताएका छन् ।
अमेरिकाले पछिल्लो समय इरानमाथि आर्थिक प्रतिबन्ध थप कडा बनाउँदै आएको छ । गत साता अमेरिकी अर्थमन्त्रालयले इरानलाई तेलबाट आम्दानी गर्न, हतियार खरिद गर्न तथा साइबर गतिविधि सञ्चालन गर्न सहयोग गरेको आरोपमा करिब ६० व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गरेको थियो ।
इरानलाई दबाब दिन सञ्चालन गरिरहेको अभियानलाई अमेरिकाले अपरेसन इकोनोमिक आउटकास्ट नाम दिएको छ । दुई पक्षबीच युद्धविरामका विषयमा वार्ता अवरुद्ध रहेका बेला अमेरिकाले आर्थिक दबाबलाई थप तीव्र बनाएको हो ।
तर इरानले अमेरिकी प्रतिबन्धको विरोध गर्दै त्यसबाट आफू नझुक्ने बताएको छ । इरानका अर्थ तथा आर्थिक मामिलामन्त्री अली मदानिजादेहले अमेरिकी प्रतिबन्ध असफल हुने दाबी गरेका छन् ।




