४ हजार २ सय ४७ जनाको न सास, न लाश, ९ सय शव भेटिए

१५ भदौ ८३, सोमबार
Share this
734shares

१५ भदौ, काठमाण्डौ।

Advertisement

बुधबार रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण ज्यान गुमाउनेहरुको संख्या लगातार बढिरहेको छ । रसुवा,नुवाकोट, धादिङ, चितवन, नवलपरासीसहित भारतसम्म नदी किनाराहरुमा शव भेटिरहेका छन् । कतिपय स्थानमा खोलाको बगरमा दबिएका शवहरु समेत फेला परेको छ ।

भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९०० नाघेको छ । सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ ।

Advertisement

रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २०७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।

मृतको यो भयावह तथ्याङका बीच मृतकको संख्याभन्दा चार गुणा बढी मानिस त अझै बेपत्ता रहेका छन् । उक्त बाढीपश्चात् अझै चार हजार २४७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।

Advertisement

सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५९२ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १२७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाबाट ८६५ जना, नुवाकोटका १५५८ जना सम्पर्कविहीन छन्।

त्यस्तै विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन्। बाढीको छैठौं दिन पुगिसक्दा समेत बेपत्ताहरुको खबर नपाएपछि परिवार थप पीडामा छन् ।

प्राधिकरणका अनुसार हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। तीमध्ये नेपाली सेनाले २५२ जना विदेशी नागरिक, ३ हजार ३४४ जना नेपाली नागरिकको हवाई उद्धार भएका छन्। आइतबार विभिन्न जलविद्युत आयोजनमा फसेका १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको हवाई उद्धार गरिएको छ।

सोमबार बिहान ९ बजेसम्म १७ वटा उडान भएको प्राधिकरणले जनाएको छ। हालसम्म २६७ जना घाइते भएकाहरूमध्ये १५६ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन्। बाढीमा परेकाहरूको खोजी कार्यका लागि २० हजार ८१९ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

त्यसमध्ये नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेना ८ हजार ७२२ जना र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २६७ छ ।

उनीहरूमध्ये १६५ जना उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जनाएको छ । उद्धार, राहतका निम्ति २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । यही भदौ १० गते बिहान उक्त बाढी आएको थियो । बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

यता खोज तथा उद्धारका क्रममा चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा तीनजनाको शव भेटिएको छ । नेपाली सेनाका अनुसार चिलिमेको टनेलमा दुई वटा शव भेटिएको हो । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा ती शव भेटिएका हुन् ।

हिलो माटोले पुरिएको अवस्थामा शव फेला पारेको सेनाले जनाएको छ । यस्तै, अपर त्रिशूली–१ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको थियो । खोजीका क्रममा टनेलमा एउटा शव भेटिएको सेनाले जनाएको छ ।

नेपाली सेनाले भारत, चीन र दक्षिण कोरियाका विज्ञहरूको साथ लिई बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य गरिरहेको छ । अर्काेतर्फ त्रिशूली–३ए आयोजनाको टनेलमा गएराति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको नेपाली सेनाले जनाएको छ ।

“दुई वटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने, टनेलभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने कार्य भइरहेको छ,” नेपाली सेनाले सोमबार विज्ञप्ति जारी गर्दै त्रिशुली– ३ए मा भइरेको खोज तथा उद्धार कार्यबारे जनाएको छ । त्रिशूली–३बी आयोजनामा टनेलमा पनि विज्ञसहितको फौज खटिई खोज तथा उद्धार कार्य जारी रहेको छ ।

“विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा त्यसभन्दा भित्रको भाग हिलो माटोले पुरिएको अवस्थामा फेला पारेको छ। सो क्रममा दुई वटा शव संकलन गरिएको छ,” नेपाली सेनाले जनाएको छ ।

अपर त्रिशूली–१ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको छ । अपर त्रिशूली–१ को टनेलभित्र एक शव संकलन गरिएको नेपाली सेनाले जनाएको छ। लाङटाङ आयोजनाको टनेलमा समेत खोज तथा उद्धार टोली प्रवेश गरी सर्च लाइटको प्रयोगसहित खोज तथा उद्धार कार्य चलिरहेको छ ।

अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएको जनाइएको छ । आयोजनामा कार्यरत बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीहरूका अनुसार क्याम्प क्षेत्रका घर बाढीले बगाएको नभई ठूलो मात्रामा आएको लेदोले पुरिएका हुन् ।

पुरिएको घरभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्य र साना बालबालिका समेत रहेको बताइएको छ। सम्पर्कविहीनमध्ये आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका ७ जना, परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका ११ जना र काठमाडौँ विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यासका लागि गएका ३ जना विद्यार्थी रहेका छन्।

सम्पर्कविहीन हुनेमा आयोजनाका प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा, इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत छन्। परामर्शदाता कम्पनीतर्फ वरिष्ठ टोली नेता कमलबहादुर पाण्डे, ठेक्का इन्जिनियर मनोज केसी, वरिष्ठ भूगर्भविद् सुमेस अमात्य, वरिष्ठ निर्माण इन्जिनियर निरज श्रेष्ठलगायत सम्पर्कविहीन रहेको जनाइएको छ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आयोजनामा पुगेका सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी पनि सम्पर्कविहीनको सूचीमा छन्। सबैभन्दा चिन्ताजनक अवस्था कर्मचारीका परिवारका साना बालबालिकाको रहेको छ ।

सम्पर्कविहीन परिवारका सदस्यमा ३ वर्ष ६ महिनाका आदित्य पौडेल शर्मा र आदिश्री पौडेल शर्मा, २ वर्ष ६ महिनाका शिवांश पौडेल र त्रिशा पौडेल तथा २ वर्षका कियान्शा अधिकारी पनि छन्। बाढीपछि पुरिएको संरचनाभित्र मानिसहरू जीवितै रहेको सम्भावना रहेको भन्दै तत्काल आधुनिक उद्धार तथा उत्खनन उपकरण परिचालन गर्न माग गरिएको छ।

घटनास्थलमा ढिलाइ हुँदा जीवित उद्धारको सम्भावना प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा आयोजनासँग समन्वय गरी तीव्र उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। उद्धारका लागि भारी उपकरण, माटो तथा लेदो हटाउने मेसिन, खोज तथा उद्धार प्रविधि र आवश्यक प्राविधिक जनशक्ति तत्काल घटनास्थलमा पु¥याउनुपर्ने माग गरिएको छ।

नेपाली सेनाले भारत, चीन र दक्षिण कोरियाका विज्ञहरूको साथ लिई बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य गरिरहेको छ । रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।

१११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत् रेकी गर्नेलगायत काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ । इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् ।

दुईजना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् । भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चारजना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

त्यस्तै मैलुङमा रहेको साइट कार्यालयमा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन छन् । साइट कार्यालयमा रहेका व्यक्तिहरूको अवस्था अज्ञात रहँदा उनीहरूका आफन्त आक्रोशित बनेका हुन् । उक्त साइट कार्यालयमा ७५ जना रहेका थिए । उनीहरूमध्ये कतिपयको अवस्था अज्ञात रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top