चारवटा टनेलमा पस्यो उद्धार टोली, चिलिमे टनेल भरिएको भेटियो

१७ भदौ ८३, बुधबार
Share this
733shares

१७ भदौ , काठमाण्डौ ।

Advertisement

भोटेकोसी बाढीको आज आठौं दिन पनि उद्धार र खोजी अभियान विहानैदेखि जारी रहेको छ । बाढीपछि अझै ४ हजार जना सम्पर्कविहीन रहेका छन् । जसमा सबैभन्दा बढी जलविद्युत आयोजनाका सुरुङमा फसेको अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकराण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढीबाट तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको जानकारी दिएको छ ।

सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीबाट २५, नेपाली सेनाबाट ४५, सशस्त्र प्रहरी बल नेपालबाट १३, भन्सार कार्यालयबाट १५ छन् । त्यस्तै, अध्यागमन कार्यालयबाट तीन, लाङटाङ राष्ट्रिय निकुञ्जबाट तीन र क्वारेन्टाइन कार्यालयबाट तीनजना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकराण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले बताएका छन् ।

Advertisement

जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त सम्पर्कविहीन रहेका नागरिकको जिल्लागत तथ्यांकबारे पनि उनले जानकारी दिएका छन् । समितिको सूचनाअनुसार रसुवाबाट करिब ६५ जना, नुवाकोटबाट करिब १५५ जना सम्पर्कविहस्न रहेको उनले बताए । जलविद्युत् आयोजनाहरूबाट ६३९ जना सम्पर्कविहीन रहेको उनले बताए ।

बाढीपछि ५८३ विदेशी नागरिक सम्पर्कविहीन रहेको र उनीहरूसँगै घुम्न गएका १६४ नेपाली सम्पर्कविहीन रहेको उनले जानकारी दिए । उता प्रहरीले भने बाढीमा परेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको बताएको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ ।

Advertisement

यो राष्ट्रिय विपद् जोखिम न्यूनीकराण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ भन्दा फरक तथ्याङ हो । बाढीपछिको आठौं दिन पुग्दा समेत बेपत्ताहरुको तथ्याङ फरक फरक रहेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्गसहितका रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा छन् ।

बाढीपछि उद्धार गरिएकामध्ये तीन हजार २१४ पुरुष, एक हजार ५३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । बाढीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनसमेत भइरहेको छ ।

हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ । प्रवक्ता काफ्लेका अनुसार शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ । सम्पर्कविहीनको विवरणमा दुई हजार ३१५ स्वदेशी पुरुष, ३६८ स्वदेशी महिला, २५१ विदेशी पुरुष, ३३० विदेशी महिला, अन्य दुई तथा फोनबाट टिपाइएका एक हजार ३४० गरी चार हजार ६०६ जना रहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा सम्पर्कविहीनको विवरण संकलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ । भोटेकोशीमा आएको आकस्मिक बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

बाढीपछि विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ । रसुवा बाढीमा बेपत्ता भएकामध्ये मंगलबार एक विदेशी नागरिक सहित जम्मा ११८ जनाको उद्धार भएको छ ।

नेपाली सेनाको हवाई तथा जमिनी खोजअन्तर्गत उक्त उद्दार भएको हो । टनेलहरुबाट भने कसैको पनि उद्दार हुन सकेन । चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन भएको थियो । उक्त टोली टनेलभित्र प्रवेश गरी करिब १५० मिटर भित्रसम्म पुग्दा भिरालो भाग सुरु भएपछि पूर्ण रूपमा पुरिएको अवस्थामा पाइएको सैनिक मुख्यालयले जनाएको छ ।

यस्तै, ‘अपर त्रिशूली– १’को हाँकूमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मीटरसम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको थियो । ‘त्रिशूली थ्री बी’मा टनेल हेड फेला परेको छ । तर ३ वटा स्काभेटरबाट माटो पन्छाई कम्प्रेसर र रक ब्रेकरद्वारा इनलेट टनेलमा पारिएको दुलोमा अत्यधिक पानी भएका कारण उक्त स्थानबाट छिर्न असम्भव देखिएको सैनिक मुख्यालयले जनाएको छ ।

टनेलको आउटलेटबाट पुनः प्वाल पार्ने कार्य जारी रहेको छ । ‘त्रिशूली थ्री बी’ आयोजनाको कार्यालय तथा निवास पहिचान गरी एक्साभेटरमार्फत पहुँचमार्ग निर्माण जारी रहेको सेनाले उल्लेख गरेको छ । नेपाली सेनाको संयुक्त टोलीले तुइन निर्माणको काम पनि गरेको छ ।

त्रिशूली नदीको प्रभावित विभिन्न पाँच स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर– ९, इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको हो । उक्त तुइन जडानपछि सम्पर्कविहीन भएका इलाकालाई बजार एवम् अस्पतालसँगको पहुँचमा सहजता प्रदान गरेको सेनाले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठकले एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा.गुणकर भट्टले गृहसचिवको नेतृत्वमार्फत कोष परिचालन हुने गरी विपद् व्यवस्थापन कोषमा रकम निकासा गरिएको बताएका छन् ।

अर्काेतर्फ नेपालको छोछेन खोला (चिनियाँ स्रोतमा कुओजियान नदी) क्षेत्रमा अगस्ट २६ मा गएको विनाशकारी पहिरो तथा बाढीपछि बनेको प्रभाव क्षेत्र वरपरका हिमनदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार, सेप्टेम्बर १ बिहान ८ बजे खिचिएको ड्रोन तस्बिरमा छोछेन खोला क्षेत्रमा पहिरोका कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहिरिइसकेको देखिएको छ ।

प्रभाव क्षेत्रभन्दा तलको नदीको बहाव पनि अहिले सामान्य अवस्थामा फर्किएको छ । तर, वरपर रहेका हिमनदीहरू भत्किने सम्भावना भने अझै उच्च रहेको मन्त्रालयले जनाएको छ । चीनको जलस्रोत मन्त्रालयले नेपालको सीमासँग जोडिएको दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा भएको पहिरो तथा मलबे–बाढीको जोखिमबारे निरन्तर परामर्श, निगरानी र समग्र जोखिम मूल्यांकन गरिरहेको छ ।

मन्त्रालयले उद्धार तथा राहत कार्यलाई सहयोग पुग्ने गरी जलविज्ञानसम्बन्धी अनुगमनसमेत अघि बढाएको जनाएको छ । अगस्ट ३१ मा गरिएको स्याटेलाइट र राडार चित्र विश्लेषणमा छोछेन खोलाको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको सतह करिब ८३ हजार वर्गमिटर रहेको पाइएको थियो ।

यो अगस्ट ३० बिहान ११ बजेको तुलनामा २५ हजार वर्गमिटर र सोही दिन साँझ ७ बजेको तुलनामा १४ हजार वर्गमिटर कम थियो । त्यतिबेला उक्त क्षेत्रमा करिब ६ लाख ५० हजार घनमिटर पानी रहेको अनुमान गरिएको थियो । प्रभाव क्षेत्रभन्दा करिब २.५ किलोमिटर तल तीनवटा साना स्थिर पानीका क्षेत्र पहिचान भएका थिए ।

तीमध्ये केही पानीका क्षेत्र नदीका जलमार्गसँग जोडिएका र पानी बगिरहेको अवस्थामा रहेको चिनियाँ मन्त्रालयले जनाएको थियो । तर, पछिल्लो ड्रोन तस्बिरले प्रभाव क्षेत्रमा जम्मा भएको पानी ठूलो मात्रामा निकास भइसकेको र तलतर्फको नदी सामान्य रूपमा बगिरहेको देखाएको छ ।

चिनियाँ पक्षले पानीको बहाव सामान्य भए पनि जोखिम समाप्त नभएको चेतावनी दिएको छ । प्रभाव क्षेत्र वरपरका हिमनदीहरू भत्किएमा पुनः ठूलो मात्रामा मलबे नदीमा पस्न सक्ने र त्यसले नयाँ प्राकृतिक बाँध वा हिमताल निर्माण गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

यसअघि गरिएको ड्रोन निरीक्षणमा पूर्व प्यूरेपू छाङ्पो हिमतालबाट करिब तीन किलोमिटर तल नदीका दुवै किनारमा धेरैवटा पहिरोका थुप्रा देखिएका थिए । हाल ती क्षेत्रमा पानी बगिरहेको भए पनि थप पहिरो गएमा नदीको बहाव अवरुद्ध भएर नयाँ ताल बन्न सक्ने जोखिम रहेको चिनियाँ अनुसन्धानकर्ताहरूले औंल्याएका छन् ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार ग्यिरोङ छाङ्पो नदीको जलाधार क्षेत्रमा पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

अगस्ट ३१ को विश्लेषणअनुसार चीनतर्फ ०.१ वर्गकिलोमिटरभन्दा ठुला १४ वटा मोरेनले बाँधिएका हिमताल पहिचान भएका थिए । तीमध्ये ११ वटा दोङलिन छाङ्पो नदी र यसका सहायक नदीमा तथा तीनवटा ग्यिरोङ छाङ्पो नदी र यसका सहायक नदीमा रहेका छन् ।

नदीको प्राकृतिक अवस्था तथा वहाव क्षेत्रमा रहेका बस्ती र पूर्वाधारलाई आधार बनाएर ती १४ हिमतालमध्ये १० वटालाई उच्च जोखिम र चारवटालाई मध्यमदेखि न्यून जोखिममा वर्गीकरण गरिएको छ । यद्यपि, पछिल्लो एक महिनामा यी सबै हिमतालको पानीको सतहमा ठुलो परिवर्तन नदेखिएको चिनियाँ पक्षले जनाएको छ ।

नेपालतर्फ भने केरुङ बन्दरगाहभन्दा माथिल्लो क्षेत्रमा ०.१ वर्गकिलोमिटरभन्दा ठूला मोरेनले बाँधिएका हिमताल नभेटिएको स्याटेलाइट विश्लेषणले देखाएको छ । चीनको जलस्रोत मन्त्रालयले अगस्ट ३१ मा १४ सदस्यीय प्राविधिक टोली परिचालन गरी प्यूरेपू छाङ्पो, दोङलिन छाङ्पो र ग्रिुङ छाङ्पो नदी क्षेत्रमा जलविज्ञानसम्बन्धी आपत्कालीन अनुगमन गरेको थियो ।

टोलीले थप निगरानी केन्द्र स्थापना गर्न सकिने स्थानहरूको समेत सर्वेक्षण गरेको थियो । काठमाडौँस्थित चिनियाँ दूतावासले बाढी प्रभावित क्षेत्रको जल तथा मौसम सम्बन्धी तथ्याङ्क नेपाललाई दैनिक रूपमा उपलब्ध गराइरहेको जनाएको छ ।

दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै नेपाललाई आवश्यक सूचना नदिएको भन्ने आरोपहरू तथ्यहीन भएको बताएका छन् । विज्ञप्तिमा जनाइए अनुसार गत अगस्ट २६ मा केरुङ–रसुवागढी नाका क्षेत्रमा आएको भीषण पहिरोका कारण त्यहाँका मनिटरिङ स्टेशनहरूमा क्षति पुगेको थियो ।

यातायात अवरुद्ध हुनुका साथै सिग्नलमा समेत अस्थिरता आएको भए पनि चीनले डाटा प्रशारण च्यानलहरू पुनःस्थापना गर्न हरसम्भव प्रयास गरेको दूतावासले उल्लेख गरेको छ । प्रभावित क्षेत्रको मुख्य जल तथा मौसम सम्बन्धी तथ्याङ्क चीनले नेपालको जल तथा मौसम विज्ञान विभागलाई दैनिक रूपमा उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, अन्य सम्बन्धित नेपाली अधिकारीहरूसँग पनि समयमै आवश्यक जानकारी साझा भइरहेको भनिएको छ। चीनमाथि लगाइएको ‘पारदर्शिताको अभाव’ सम्बन्धी आरोप तथ्यहरूसँग मेल नखाने भन्दै दूतावासले यस्ता कुराले नेपाल र चीनबीचको विपद् व्यवस्थापन र राहत सहकार्यलाई खल्बल्याउने उद्देश्य राखेको टिप्पणी गरेको छ ।

चीनले सधैँ मानवीय भावनालाई उच्च प्राथमिकता दिँदै आएको र नेपालको विपद् प्रतिकार्य सम्बन्धी निर्णय प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दुवै देशका जनताको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्दै आएको र आगामी दिनमा पनि नेपाललाई कठिनाइबाट पार पाउन र पुनर्निर्माणमा सहयोग जारी राख्ने चीनले स्पष्ट पारेको छ। यता

प्रधानमन्त्री वालेन्द्र शाहले भने गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top