नेपालको सुरुङ उद्धार जीवनकै सबैभन्दा कठिन परीक्षाः आर्नोल्ड डिक्स

२२ भदौ ८३, सोमबार
Share this
745shares

२२ भदौ , काठमाण्डौ ।

Advertisement

रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ । १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

रसुवामा १६३, नुवाकोटमा १ सय ९५, धादिङमा ६८, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्‍चिममा २२० शव फेला परेको हो । फेला परेकामध्ये ९८ शव सनाखपछि आफन्तलाई हस्तान्तरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

४ हजार ९९६ जना सम्पर्कविहीन छन् । विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् र खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।

Advertisement

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बाढीपछि हालसम्म नौ हजार १ सय ५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ ।

हालसम्म मृतक एक हजार १ सय ८१ जना र मृतकका आफन्त एक हजार १ सय ९५ जना गरी दुई हजार ३ सय ७६ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढीप्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । उनी बाढीप्रभावित क्षेत्र नुवाकोट पुग्ने जनाइएको छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको मैथिल ब्यारेक पुग्नेछन् । त्यहाँबाट उनी नुवाकोटा विभिन्न स्थानमा पुगेर बाढीको क्षतिको अवलोकन गर्नेछन् । त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था पनि बुझ्ने जनाइएको छ । राष्ट्रपति पौडेल बाढी आएको १३औँ दिनमा अवलोकनमा जान लागेका हुन् ।

यता भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विदेशी विज्ञ र आयोजनाको प्रतिनिधि सम्मिलित उद्धार टोलीले जलविद्युत् आयोजनाको संरचनामा हराइरहेकाको खोजी गरिरहेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र ‘कन्ट्रोल रुम’ सम्म पुगी खोजी गरेका छन् । यस्तै, त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ ।

यसबीच प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आइतबार उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएकोसमेत उल्लेख गरेका छन् । सुरक्षाकर्मीले घाइतेको स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेरसमेत जतिसक्दो चाँडो अस्पताल पु¥याएको उनले बताएका छन् ।

यता अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन् । नेपालमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान साढे ३ बजे सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘यस्तो कहिल्यै भोगेको थिइनँ ।’

नेपालको स्थिति विगतको भन्दा भिन्न रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘अहिले नेपालमा हामीले त्यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले पहिले कहिल्यै भोगेको थिइनँ। यहाँ कुनै एउटा मात्र उद्धार होइन, फरक–फरक स्थानहरूमा एकैपटक धेरै सम्भावित उद्धारहरू सँगसँगै अगाडि बढिरहेका छन्। जहाँ हरेक ठाउँमा आ–आफ्नै खतरा, अनिश्चितता र अझै पनि जोगाउन सकिने जीवनहरू जोडिएका छन् ।’

सन् २०२३ मा भारतको सिल्क्यरा सुरुङमा १७ दिनसम्म फसेका ४१ मजदुरको उद्धार कार्य स्मरण गर्दै डिक्सले नेपालको विपद्लाई अझ ठूलो जिम्मेवारीका रूपमा व्याख्या गरेका छन् । ‘सिल्क्यारामा ४१ जना जमिनमुनि थिए र हामीसँग उनीहरूलाई जीवितै घर फर्काउने एउटा असम्भवप्रायः जिम्मेवारी थियो । हामीले त्यो परीक्षा सँगै उत्तीर्ण ग¥यौँ,’ उनले भनेका छन्, ‘तर एउटा महान् परीक्षा पास गर्नुको अर्थ परीक्षा समाप्त भयो भन्ने होइन रहेछ। यसको अर्थ सायद हामीलाई त्योभन्दा पनि ठूलो अर्को परीक्षाको जिम्मेवारी सुम्पिइएको हो ।’ ‘एसियाली परम्पराले हामीलाई धर्मको अर्को शक्तिशाली दृष्टिकोण दिन्छ,’ डिक्सले लेखेका छन्, ‘परीक्षा हामी सफल भयौँ कि भएनौँ भन्ने मात्र होइन। बाटो जतिसुकै कठिन हुँदै जाँदा, जिम्मेवारीहरू थपिँदा र नतिजा अज्ञात रहँदा पनि हामी निरन्तर सही काममा लागिरहन्छौँ कि रहँदैनौँ भन्ने मुख्य कुरा हो।’

उनले थपेका छन्, ‘सिल्क्याराले मलाई न्यून सम्भावना र असम्भव बीचको भिन्नता सिकायो। नेपालले मलाई त्योभन्दा बढी सिकाइरहेको छ– जब एकैपटक धेरै जीवनहरू हामीमाथि निर्भर हुन्छन्, तब आशालाई अनुशासनमा, करुणालाई कार्यमा बदल्नुपर्छ र कर्तव्य सफलताको निश्चिततामा मात्र भर पर्नुहुँदैन।’

अन्तर्राष्ट्रिय टनेलिङ तथा अन्डरग्राउन्ड स्पेस एसोसिएसन ९आईटीए० का वरिष्ठ विज्ञ डिक्सले रसुवा बाढीको सुरुवाती दिनहरूमा अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिएका थिए। उनको त्यही सुझाव र समन्वयका कारण बाढीको १० दिनपछि त्रिशूली ३ ‘ए’ को जलमग्न सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो ।

त्यसलगत्तै नेपाल आइपुगेका डिक्स आफैँ फिल्डमा खटिएका छन् । बाढी र हिलोले पूर्ण रूपमा पुरेका संरचनाभित्र पनि ‘बाँच्न सकिने हावाका सुरक्षित पकेटहरू’हुनसक्छन् भन्ने प्राविधिक मान्यताका आधारमा उनले चिलिमे जलविद्युत आयोजनालगायत विभिन्न सुरुङहरूको निरीक्षण र खोजी कार्यलाई निर्देशित गरिरहेका छन् ।

उद्धार अभियानलाई अन्तिमसम्म जारी राख्ने दृढता व्यक्त गर्दै डिक्सले लेखेका छन्, ‘पूर्व होस् वा पश्चिम, सिद्धान्त एउटै हो– हाम्रो मूल्यांकन हामीले कति जीवन बचायौँ भन्नेबाट मात्र हुँदैन, बरु हामीले त्याग्न अस्वीकार गरेका जीवनहरूबाट पनि हुन्छ।’

यसैबीच भोटेकोशी बाढीका कारण विभिन्न स्थानमा मुख्य राजमार्गका केही खण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड प्रभावित भएको छ। उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिकाको घट्टेखोलामा बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित छ। त्यस्तै, वेत्रावती नगरपालिका–१० सिमटारमा पहिरोका कारण पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण पृथ्वीराजमार्ग प्रभावित भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलाको सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । यसैबीच बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाएको छ ।

आगामी तीन दिन कोशी जलाधारका सप्तकोशी (चतरा, तमोर त्रिवेणी), अरूण (सिम्ले), दुधकोशी (रबुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पचुवार) मा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ। त्यसैगरी नारायणी जलाधारका नारायणी (देवघाट), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मस्र्याङ्दी (विमलनगर), सेती (दमौली) र कालिगण्डकी (कुमालगाउँ) मा पनि आगामी तीनै दिन बहाव उल्लेखनीय बढ्ने पूर्वानुमान गरिएको छ ।

कर्णाली जलाधारका कर्णाली (चिसापानी र असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपायल) तथा महाकाली जलाधारको महाकाली पारिगाउँ र कन्काई नदी मैनाचुलीमा तीनै दिन जलसतह उल्लेखनीय बढ्नेछ। कमला वेलसोत, बागमती पधेरादोभान, पूर्वी राप्ती रजैया, पश्चिम राप्ती कुसुम र बबई चेपाङ नदीमा भने आगामी तीन दिन बहाव सामान्य रूपमा बढ्ने जनाइएको छ ।

साना नदीतर्फ सोमबार ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेखनीय बढ्नेछ ।

यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ । यसबीच आज कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षा÷हिमपातको पनि सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

राति पनि कोशी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top