त्रिशूली ३ बीमा फसेकाको उद्धार कहिले ?कति दिन घरमा बसेर रुने ?

२२ भदौ ८३, सोमबार
Share this
713shares

२२ भदौ , काठमाण्डौ ।

Advertisement

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज बाढीको १३ औं दिनमा राष्ट्रिय शोक दिवस मनाइँदै छ । आज देशभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ । यस्तै भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ ।

Advertisement

आज बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामूहिक रुपमा सद्गति गरिएको हो । बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको हो ।

यसैबीच बाढीको १३ औं दिनसम्मपनि रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजी प्रभावकारी नभएको भन्दै खोजीको माग गर्दै आफन्तहरु काठमाडौं आइपुगेका छन् । १३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरुले आज माइतीघरमा धर्ना दिएका छन् ।

Advertisement

दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फसेका आफन्तहरुको खोजीमा ध्यान नदिएको उनीहरुको गुनासो छ । ‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरुले माइतीघरमै आएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

माइतीघर आएका आफन्तहरुले आफूहरुलाई घटनास्थल जान पनि रोकिएको बताएका छन् । माथिल्लो त्रिशूली थ्री बी मा फसेकाहरूको उद्धार कार्य जारी रहे पनि हालसम्म सफलता मिल्न सकेको छैन । छिमेकी मुलुक चीनबाट आएका प्राविधिक टोली र नेपाली सेनाको टोली उद्धारमा खटिरहेका छन् ।

तर उपलब्धि हुन सकेको छैन । यस परियोजनामा १२२ जना हराइरहेका छन् । यता सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् ।

साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धार कार्यमा परिचालित छन् ।

विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको छ । त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पु¥याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको प्राधिकरणले जनाएको छ ।

अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी छ । अपर त्रिशूली–१ को अडिट–३ बाट इन्फ्रारेड (आईआर) तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ टोली फर्किएको प्राधिकरणले जनाएको छ । यसैबीच, रसुवाका विभिन्न जलविद्युत आयोजनामा बेपत्ता तथा प्रभावितको खोजी कार्य जारी छ ।

रसुवागढी जलविद्युत आयोजनामा संयुक्त द्रुत प्रतिक्रिया टोली तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाको टोलीले उद्धार उपकरणसहित निरन्तर खोज तथा उद्धार गरिरहेको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा अडिट २ बाट प्रवेश गरेको टोली बाहिरिएको छ । एक्साभेटर टनेलबाट लैजान सक्नेगरी बाटो सफा गर्ने काम भइरहेको र हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ ।भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धार अभियान थप जटिल र चुनौतीपूर्ण बनेको छ ।

उद्धार टोलीको नेतृत्व गरिरहेका ६२ वर्षीय विश्व चर्चित अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सले नेपालमा भइरहेको उद्धार अभियानलाई आफ्नो जीवनकै कठिन परीक्षामध्ये एक भएको बताएका छन्। सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना श्रमिकको १७ दिनपछि सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका डिक्सले नेपालमा अहिले एकैपटक विभिन्न स्थानमा उद्धार अभियान सञ्चालन गर्नुपर्ने असाधारण अवस्था आएको उल्लेख गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत सिल्क्यारा सुरुङ दुर्घटनाको स्मरण गर्दै उनले त्यतिबेला ४१ जनाको जीवन जोगाउने काम असम्भवजस्तै देखिए पनि टोलीले चुनौती पार गरेको बताएका छन्। “सिल्क्यारामा ४१ जनाको ज्यान जोगाउनु असम्भवजस्तै देखिएको थियो, तर हामीले त्यो परीक्षा पार ग¥यौँ,” उनले लेखेका छन्, “जीवनमा एउटा परीक्षा पार गर्दैमा सबै परीक्षा समाप्त हुँदैनन्। कहिलेकाहीँ त्यसले अझ ठूलो जिम्मेवारीको सङ्केत गर्छ। आज नेपालमा हामी त्यस्तै ठूलो परीक्षाको सामना गरिरहेका छौँ।”

डिक्सले उद्धार अभियानमा परिणामको निश्चितताभन्दा पनि निरन्तर प्रयास र जीवन बचाउने प्रतिबद्धता महत्वपूर्ण हुने बताएका छन्। कठिन परिस्थिति र सफलताको सम्भावना न्यून देखिए पनि उद्धार प्रयासबाट पछि हट्न नहुने उनको भनाइ छ। पश्चिमी दर्शनको ‘कर्तव्य’ र पूर्वीय दर्शनको ‘धर्म’लाई जोड्दै उनले मानवीय जीवनको रक्षा गर्नु नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गरेका छन्।

“परिणाम के हुन्छ भन्ने निश्चित नहुँदा र बाटो कठिन बन्दै जाँदा पनि काम गरिरहनु नै वास्तविक परीक्षा हो,” डिक्सले भनेका छन्, “कुनै काम सफल हुने सम्भावना कम छ भन्दैमा त्यसलाई असम्भव मान्नु हुँदैन।” नेपालमा जारी उद्धार अभियानले आफूलाई नयाँ पाठ सिकाएको बताउँदै उनले धेरै मानिसको जीवन उद्धार टोलीमाथि निर्भर रहेको अवस्थामा आशालाई अनुशासन र करुणालाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

भोटेकोशी क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विभिन्न विशेषज्ञ टोलीहरू सुरुङभित्र फसेकाहरूको सुरक्षित उद्धारका लागि निरन्तर परिचालित छन्। कठिन भौगोलिक अवस्था, बाढी र सुरुङभित्रको जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।

नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आइतबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको काम पनि तीव्र पारिएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top