२२ भदौ , काठमाण्डौ ।
नेपालमा रसुवा विपत्तिपछि यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै यसबाट तंग्रिनका लागि आवस्यक सहयोग गर्ने भन्दै सीमामा रहेका दुई छिमेकीसंगै कयौं मित्रराष्ट्रहरुले प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री, सरकारका अन्य प्रतिनिधिहरु लगायत सत्तारुढ दलका नेताहरुलाई पनि फोन सम्पर्क गरिरहेका छन् ।
सामाजिक संजालमार्फत पनि कठिन घडीमा ऐक्यबद्धता जनाएका छन्, सहयोग र सहकार्यको प्रस्ताव गरिरहेका छन् । कयौं देशहरुबाट सहयोगहरु पनि प्राप्त भइरहेको छ । भारत, चीन, अमेरिका, अस्ट्रेलियासहितका देशहरुबाट कयौं खेप राहत सामाग्रि तथा अन्य उपकरण र विज्ञहरुको टोली समेत नेपाल आएर सघाइरहेका छन् ।

यसैक्रममा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन वार्ता भएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले सभापति लामिछानेसँग टेलिफोन सम्पर्क गरेका हुन् । वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।
साथै, उनले यस विपद्को घडीमा नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता समेत जनाएका छन् । जवाफमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए।
उनले नेपाली नागरिकका साथसाथै नेपालमा रहेका विदेशी नागरिकहरूको सुरक्षाका लागि पनि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको विदेशमन्त्री रुबियोलाई आश्वस्त पारे । सभापति लामिछानेले यस कठिन परिस्थितिमा अमेरिकी सरकारले देखाएको सदभाव र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।
सो क्रममा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि नेपालको जारी खोज र उद्धार प्रयासलाई अझ धेरै सहयोग गर्न अमेरिकी सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेखेका थिए ।
सीएनएनका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका २७ जना प्रतिनिधिले नेपाललाई सहायता पठाउने वाचा गरेका अन्य देशहरू बेलायत, दक्षिण कोरिया, भारत र चीनको नाम समावेश गर्दै विदेशमन्त्रीलाई पत्र लेखका हुन् ।अमेरिकी विदेश मन्त्रालयले सहयोग प्रदान गरिरहेको बताएको छ।
नेपाललाई ३६ लाख डलरभन्दा बढीको मानवीय सहायता प्रदान गरिसकेको मन्त्रालयले उल्लेख गरेको छ, जसमा आपतकालीन खाद्य सहायता पनि समावेश छ । तर सांसदहरूले भने सहयोग अझै बढाउन आह्वान गरेका हुन् । सांसदहरूले ७५ अमेरिकी नागरिक अझै सम्पर्कविहीन भएको अवस्थामा विदेश मन्त्रीलाई उनीहरूको बारेमा परिवारका सदस्यहरू, साथै कांग्रेसलाई दैनिक अद्यावधिक जानकारी प्रदान गर्न पनि आह्वान गरेका छन् ।
उनीहरूले अमेरिकी सरकारलाई बाढीबाट प्रभावित समुदायमा विपद् सहायता प्रतिक्रिया टोली (डार्ट) खटाउन पनि आग्रह गरेका छन्। बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्न थर्मल र इन्फ्रारेड ड्रोन लगायतका सामग्री प्रयोग गर्न विदेश विभागले ‘अन्तर–एजेन्सी र निजी क्षेत्र’ सँग समन्वय गर्न अनुरोध गरेका छन्।
उनीहरूले विदेश मन्त्रालयलाई नेपाल र चीनका विपद् अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय संस्थाहरूसँग ‘खोज क्षेत्रहरूमा पूर्ण कभरेज र पहुँच सुनिश्चित गर्न’ संलग्न हुन आग्रह गरेका छन् । त्यस्तै, अमेरिकाले नेपाललाई ‘विपद् सहायताको द्रुत वितरण’ सुनिश्चित गर्न र हराएका समुदायहरूको पुनर्निर्माण गर्न, भविष्यमा हुने प्रकोपहरू विरुद्ध पूर्वाधारलाई बलियो बनाउन र प्रभावित क्षेत्रहरूमा विकासलाई प्रोत्साहित गर्नका लागि थप पुनर्निर्माण सहयोग प्रदान गर्न पनि अनुरोध गरेका छन् ।
अमेरिकाले नेपाललाई यसअघि नै मानवीय तथा विपद् प्रतिकार्य सहयोग उपलब्ध गराएको छ । अमेरिकाले दुई खेप सहयोग पठाइसकेको छ । दोस्रो खेपमा अमेरिकी सेनाका दुई वटा मालवाहक विमानमार्फत ५ हजार थान विशेष विपद् पीडितको उद्धार तथा शव व्यवस्थापनसम्बन्धी सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर र अगाडिबाट सामग्री उठाउने मेसिन (फ्रन्ट–एन्ड लोडर) नेपाल ल्याइएको हो ।
यी सामग्री नेपाल नेतृत्वको खोजी, उद्धार तथा पुनःस्थापना अभियानमा सहयोग पु¥याउन उपलब्ध गराइएको दूतावासले जनाएको छ । नेपाल सरकारले गरेको अनुरोधका आधारमा उक्त सहयोग पठाइएको अमेरिकी दूतावासको भनाइ छ । यसअघि अमेरिकाले बाढीपहिरोको प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर (३.६ मिलियन डलर) बराबरको सहयोग घोषणा गरिसकेको थियो ।
यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालको राष्ट्रिय शोकका दिन बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्। अष्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानीजले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति अष्ट्रेलियाको तर्फबाट दुःख व्यक्त गरेका हुन्।
‘नेपालको राष्ट्रिय शोकका दिन हाम्रो विचार नेपालका जनता र यी विनाशकारी बाढीबाट प्रभावित सबैसँग छ,’ प्रधानमन्त्री अल्बानीजले संसदमा भने। उनले विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा रहेका नेपालीप्रति अष्ट्रेलियाको साथ रहेको सन्देश दिएका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको अवस्थामा अष्ट्रेलियाली प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो। आगामी असोज ८ गते प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकाको न्युर्योकस्थित संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भइसकेको छ ।
यसका लागि प्रधानमन्त्री, उनको टिम, परराष्ट्रमन्त्रालयले तयारी थालेका पनि जनाइएको छ । प्रधानमन्त्रीलाई रसुवा बाढीलाई केन्द्रमा राखेर जलवायु परिवर्तनको असर नेपालले बिनाका कारण भोग्नु परेको र यसका लागि न्यायसहितको क्षतिपूर्ति हुनुपर्ने सहितका विषयमा महासभामा जोडदाररुपमा प्रस्तुत हुन राजनीतिकरुपमा र सार्वजनिकरुपमा पनि धेरै सुझावहरु आइरहेका छन् ।




