८ जनप्रतिनिधि सहित ६६ कर्मचारी, शिक्षक अझै बेपत्ता, सुरुङमा १२५ जना

२३ भदौ ८३, मंगलबार
Share this
747shares

२३ भदौ , काठमाण्डौ ।

Advertisement

बाढी आएको दुई  हप्ता पुगिसकेको छ । प्रधानमन्त्रीले उद्धार र खोजी कार्यलाई अन्तिम समयसम्म नै जारी राख्ने बताएका छन् । आफन्तको प्रतीक्षामा रहेकाहरुको धैर्यको बाँध टुट्न थालेको छ। उनीहरु सडकबाटै सरकारलाई खबरदारी गर्न थालिसकेका छन् । भोटेकोसी बाढीको १३औं दिनसम्म १३ सय ५५ जनाको शव भेटिएको छ ।

करिब ५ हजार जना अझै सम्पर्कविहीन छन् । भोटेकोशी बाढीका कारण २८ शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन भएका छन् । शिक्षा मन्त्रालयले गरेको द्रुत सर्वेक्षणअनुसार बाढीबाट १० हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । मन्त्रालयका अनुसार बाढी तथा पहिरोका कारण विद्यालयको पठनपाठन, भौतिक संरचना र विद्यार्थीको नियमित अध्ययनमा समेत असर परेको छ ।

Advertisement

प्रभावित क्षेत्रका विद्यालय तथा विद्यार्थीको अवस्थाबारे थप विवरण सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । बाढीका कारण सम्पर्कविहीन रहेका शिक्षक तथा विद्यार्थीको अवस्थाबारे सम्बन्धित निकायमार्फत खोजी तथा समन्वय भइरहेको जनाइएको छ ।

भोटेकोसीको बाढीले रसुवा र नुवाकोटमा मच्चाएको विनाशपछि सरकारी तथा सार्वजनिक सेवामा कार्यरत ५८ जना हराइरहेको संघीय मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बेपत्तामध्ये ८ जना स्थानीय तहका जनप्रतिनिधि छन्। यस्तै, स्वास्थ्यकर्मी, शिक्षक, अध्यागमन कर्मचारी, भन्सारका कर्मचारी, क्वारेन्टाइनका प्राविधिक र राष्ट्रिय निकुञ्जका कर्मचारी पनि हराइरहेका छन्।

Advertisement

गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष केसाङ नुर्पु तामाङका अनुसार उपाध्यक्ष प्रतिमा तामाङ, वडाध्यक्ष मामिछिरिङ तामाङ, अर्का वडाध्यक्ष दावा मिङ्मार तामाङ, वडासदस्यहरू लक्ष्मी परियार, कामी सिदार घले र सोनाम छिरिङ बेपत्ता छन्। पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षक गरेर २४ जना अझै फेला नपरेको उनी बताउँछन्।

यता, लेखा अधिकृत केसाङ दिण्डुप तामाङ, आन्तरिक लेखा परीक्षक सहायक पाँचौँ पदमा कार्यरत प्रकाश जिसी र प्रकाश आचार्य पनि अहिलेसम्म फेला परेका छैनन्। यस्तै, गोसाइँकुण्ड गाउँपालिकामै कृषि प्राविधिक सहायक चौथो पदमा कार्यरत नरबहादुर थापा, हेल्थ असिस्टेन्ट खम्बु बोहोरा, मनोसामाजिक परामर्शदाता कोपिला केसी, अहेबहरू विजयकुमार घले, सुस्मिता पाण्डे र कर्मा हिसी घलेको अवस्थाबारे पनि केही पत्ता नलागेको पालिका अध्यक्ष तामाङले बताए।

तीन महिनाको बच्चासहित अनमि सरिता मल्ल र सामाजिक परिचारिका शान्ति तामाङ पनि फेला परेका छैनन्। पाँच वर्षको छोरासहित कार्यालय सहयोगी ल्हाक्पा तेम्बा लामाको नाम पनि हराइरहेकाहरूको सूचीमा छ। कार्यालय सहयोगीहरू विशाल तामाङ, नाङकाङ घले पनि सम्पर्कविहीन छन्।

गोसाइँकुण्डमा मात्र होइन, बाढीले उत्तरगया गाउँपालिकाबाट पनि १५ जनालाई सम्पर्कविहीन बनाएको छ ।उनका अनुसार कार्यपालिका सदस्य ज्ञानु विक, सूचना प्रविधि अधिकृत जनक आचार्य, जनस्वास्थ्य अधिकृत बलराम न्यौपाने र प्रदिप न्यौपानेसहित अनमि दिनिशा शाही, कार्यालय सहयोगी रेखा तामाङ बाढीमा परेका छन्। रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत ठूलो संख्याका कर्मचारी बाढीपछि हराइरहेका छन्।

रसुवागढीको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन अधिकृत दुर्गाप्रसाद पोखरेलको अवस्था अज्ञात छ। तर, अध्यागमन अधिकृत यादव भण्डारीको भने शव फेला परेको छ। यसैगरी, अध्यागमन सहायक पार्वती मानन्धर र कार्यालय सहयोगी छिरिङ ल्हामु तामाङ पनि बाढीपछि फेला परेका छैनन्।

बाढीले तहसनहस पार्दा टिमुरेमा रहेको भन्सार कार्यालयका १५ जना हराइरहेको संघीय मामिला मन्त्रालयले जनाएको छ। जसमा भन्सार अधिकृत नकुल शर्माको शव फेला परेको छ। भन्सार कार्यालय टिमुरेमा कार्यरत गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी र प्रेम सेढाइँ भन्सारकै नायब सुब्बा विकास तामाङ, विष्णुप्रसाद भुसाल, स्विपर रामबहादुर नेपाली पनि बाढीदेखि कतै फेला परेका छैनन्।

इलेक्ट्रिसियनमा कार्यरत राजु वली, पद नखुलेको तर भन्सार कार्यालय टिमुरेमै कार्यरत सुनिल गुरुङ, भीमबहादुर लामा, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का र राजेन्द्रकुमार सोनकार पनि बेपत्ता रहेको संघीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता एकदेव अधिकारीले जानकारी दिए।

टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक जागेश्वर शर्मा, खरिदार आयुष खड्का र कार्यालय सहयोगी शिवप्रसाद ढकाल पनि बाढीपछि सम्पर्कविहीन छन्। यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर नीलम कार्की, सिनियर गेमस्काउट मैया दाहाल र पूर्णप्रसाद आचार्यलाई पनि फेला पार्न नसकेको मन्त्रालयले जनाएको छ।

रसुवाको गोसाइँकुण्डका अध्यक्ष तामाङका अनुसार निमावि शिक्षकद्वय रामचन्द्र विक र सन्तोष श्रेष्ठ हराइरहेका छन्। यस्तै, प्राविका शिक्षकहरू हिमानसिंह तामाङ, कविता न्यौपाने, कान्छी घले र सोनाम बुट्टीसहित ४ जनाको यथार्थ जानकारी पाउन सकिएको छैन।

उत्तरगया गाउँपालिका अध्यक्ष अर्याल पनि रमेश लामिछाने, सञ्जिव तामाङ, अजयकुमार यादव, नारायणबहादुर थापा, मनमाया तामाङ र मीननाथ न्यौपाने लगायत ६ जना शिक्षक भोटेकासीको बाढीमा परेर हराइरहेको बताउँछन्। उनको पालिकामा दुई वटा विद्यालयबाट २ सय बढी विद्यार्थी बाढीपछि हराइरहेका छन्।

यस्तै, विद्यालय नर्सका रुपमा कार्यरत ममता श्रेष्ठ र एक बोर्डिङ स्कुलका प्रिन्सिपल सुरज डंगोलको अवस्था अज्ञात रहेको उनले जानकारी दिए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार, जलविद्युत् आयोजनाका काममा संलग्न ९ सय ३३ जना सम्पर्कविहीन छन् । तर नेपाली सेनाले सुरुङ र पावर हाउसभित्र करिब १२१ मात्रै भएको दाबी गरेको छ।

जलविद्युत् आयोजनाका पावर हाउस र सुरुङमा ठूलो मात्रामा लेदो, ढुंगा र गेग्य्रान थुप्रिएको छ । सुरुङका प्रवेशद्वार पुरिएका छन् । सामान्य खोज तथा उद्धार टोली मात्र पर्याप्त नहुने भएपछि अनुभवी विदेशी विशेषज्ञ सहयोग गर्न आएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार, करिब डेढ सयको हाराहारीमा विदेशी विशेषज्ञ तथा फरेन्सिक विज्ञ काम गरिरहेका छन् ।

सुरुङ र पावर हाउसमा मानिस जीवित हुन सक्ने सम्भावित स्थान पहिचान, पुरिएका संरचनामा सुरक्षित प्रवेश र भेटिएका शव तथा मानव अवशेषको वैज्ञानिक तरिकाले पहिचान गर्दैैछन् । अष्ट्रेलियाका प्रसिद्ध सुरुङ उद्धार विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर अर्नोल्ड डिक्स खोजी अभियानमा सक्रिय छन् ।

डिक्स सुरुङभित्रका संरचनागत जोखिम, हावा, पानी, ग्यास र सम्भावित सुरक्षित स्थानको प्राविधिक मूल्यांकन गर्दै नेपाली तथा विदेशी टोलीलाई सल्लाह दिँदै छन् । उनले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा आफूले यसअघि सामना नगरेका चुनौती देखिएको बताएका छन् ।

यस्तै भारतका कर्नेल परिक्षित मेहरा सेनाका एक प्रतिष्ठित रक मेकानिक्स इन्जिनियर र सुरुङ निर्माण विशेषज्ञ उद्धारमा छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार, विशेषज्ञहरू आयोजनाको सम्पूर्ण संरचना लेदोले र ढुंगाले भरिँदा पनि भूमिगत सुरुङभित्र मानिस बाँच्न सक्ने ठाउँ बाँकी छ कि छैन भनी खोज्दै छन् ।

भारतबाट आएका २४ जना सुरुङ उद्धार विशेषज्ञ र १९ जना फरेन्सिक टोली पनि सक्रिय छन् । भारतीय टोलीले आयोजनाका सुरुङभित्र पुग्ने वैकल्पिक बाटो पहिचान, लेदो र पानी पार गर्ने उपाय तथा भूमिगत खोजीमा सक्रिय छन् । भारतको विदेश मन्त्रालयले पनि आफ्नो फरेन्सिक टोली काठमाडौंमा र सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् क्षेत्रमा परिचालित रहेको जनाएको छ ।

उता चीनबाट आएका सुरुङ उद्धार विशेषज्ञ र फरेन्सिक विज्ञ पनि नेपाली टोलीसँग समन्वय गरी खोजीमा छन् । नदीको माथिल्लो जलाधार, हिमनदी भत्किएको क्षेत्र, लेदो र गेग्य्रानको प्रकृति बुझ्न चिनियाँ प्राविधिक संलग्न छन् । दक्षिण कोरियाबाट ४४ सदस्यीय विपद् राहत टोलीसहित विशेष उद्धारकर्मी, अष्ट्रेलियाको विपद् सहायता टोली, मलेसियाको विशेष विपद् सहायता तथा उद्धार टोली, सिङ्गापुरको विपद् पीडित पहिचानसम्बन्धी टोली तथा इजरायलबाट आएको शव खोज टोली पनि नेपाली सेनाको समन्वयमा परिचालित छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार, विशेषज्ञहरूमध्ये कोही सुरुङभित्र मानिस खोजिरहेको, कोही जमिनमुनिको सम्भावित स्थान पत्ता लगाउन प्राविधिक उपकरण प्रयोग गर्दैछन् भने कोही शवको डीएनए र फरेन्सिक परीक्षणमार्फत पहिचानमा केन्द्रित छन् ।

विशेषज्ञ टोली ड्रोन, थर्मल उपकरण, भूमिगत संरचनाको नक्सा, सञ्चार प्रणाली र प्रत्यक्ष निरीक्षण एकसाथ गर्दैछन् । तर, सुरुङभित्र जमेको बाक्लो लेदो र साँघुरा घुमाउरा संरचनाका कारण आधुनिक उपकरणसमेत धेरै ठाउँमा प्रभावकारी हुन नसकेको उद्धारमा संलग्नहरूले बताएका छन् । केही स्थानमा ड्रोन पठाए पनि लेदो र अवरोधका कारण सुरुङको गहिराइसम्म पुग्न कठिन भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top