२४ भदौ , काठमाण्डौ ।
रसुवाको भेटेकोशी नदीमा बाढी आएको आज १५ दिन भएको छ ।भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ छ। बाढी आएको १५ औँ दिनसम्म पनि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र टनेलमा भइरहेको पछिल्लो अपडेटका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं ।

नेपाली सेनाको नेतृत्व तथा समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भारत, चीन, दक्षिण कोरिया, मेलेसिया, यूएईलगायत देशबाट आएका विज्ञ टोलीले विशेष गरी जलविद्युत् आयोजनाका टनेल (सुरुङ) मा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ । संयुक्त टोलीले रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला पारेको सेनाले जनाएको छ ।
लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य गरिरहेको भनाइ सेनाको छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले ४ वटा ६÷६ मिटर लम्बाइका ठूला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ ।
“स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म हेभी उपकरण लैजानको लागि सडकमा रहेको ठूलो ढुंगालाई ब्लास्टिङ गरी हटाउने कार्य भएको र मेजर रकसम्म पुग्नको लागि ९५ मिटर बाँकी रहेको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विन्च मेसिन र बकेटबाट गेग्य्रान हटाउने कार्य भइरहेको छ ।
संयुक्त टोलीबाट टनेलको ११५ मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको सेनाले जनाएको छ । “माथिल्लो त्रिशूली १ मा विदेशीसहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ,” नेपाली सेनाले भनेको छ ।
त्रिशूली ३ए को पावरहाउस तथा टनेलमा नेपाली सेना को ३४, सशस्त्र प्रहरी बलका ४ र आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । “त्रिशूली ३बी मा नेपाली सेना को १०१ जना र आयोजनाको प्रतिनिधिहरूसहितको संयुक्त टोलीले स्काभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गर्दा आयोजनाको कार्यालय तथा आवासगृह इलाकामा फेला नपरेको । खोजी कार्य भइरहेको छ,” नेपाली सेनाले विज्ञप्तिमा भनेको छ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र पसेर उद्धार टोली पावरहाउस पुग्ने प्रयास जारी राखेका छन्। उद्धार कार्यका क्रममा करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रमा पुग्ने प्रयास भइरहेको प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए। उक्त पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको छ।
हालसम्म उद्धार टोलीले सुरुङभित्र करिब ९० मिटरको दूरी पार गरिसकेको छ। पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ब्याट्री लगायत आवश्यक खाद्य सामग्री रहेको जानकारी प्राप्त भएको न्यौपानेले बताए। ’सुरुङको डिजाइन, संरचना र लेदो मिसिएको पानीको सतहको अवस्थालाई प्राविधिकरूपमा विश्लेषण गर्दा पावरहाउसको माथिल्लो भागमा कम्तीमा २ मिटर र बढीमा ८ मिटरसम्मको खुला सुरक्षित स्थान रहने देखिन्छ,’ न्यौपानेले भनेका छन् ।
उक्त स्थानमा भान्सासहित खानेपानी तथा खाद्यान्न भएकाले सबै व्यक्तिहरू त्यहाँसम्म पुगेको भए सुरक्षित अवस्थामा रहेको विश्वास उद्धार टोलीको छ। त्यस अवस्थामा सबै जनाको जीवित उद्धार गर्न सकिने उच्च आशा रहेको न्यौपानेले फेसबुकमार्फत् जानकारी दिएका छन्।
आज सम्म एक्स्काभेटरको पहुँचमार्ग पु¥याउने लक्ष्यसहित काम भइरहेको र हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको उनको भनाइ छ । सुरुङको डिजाइन, ड्रइङ तथा प्राविधिक पक्षहरूको अध्ययन र विश्लेषणका आधारमा पावरहाउसको माथिल्लो भाग सुरक्षित स्थान हुने देखिएको छ। यही विश्वासका साथ आज हामी चिलिमे जलविद्युत आयोजनामा सुरक्षित, सफल र जीवित उद्धारको प्रतीक्षामा बसिरहेका छौँ,’ न्यौपानेले फेसबुकमा लेखेका छन्।
यसैबीच प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा २ वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।
अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको हो। यसैगरी, रसुवा–भोटेकोशी बाढीपछि कोषमा रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ। उक्त रकम विपद्अघिको कोषमा रहेको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो।
भदौ २३ गते मात्रै कोषमा रु. ३० करोड ६२ लाख तथा १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। उता अमेरिकाले बाढीपछिको प्रतिकार्यमा सघाउन मेगन बोल्डिनलाई नेपाल पठाएको छ । उनी मंगलबार काठमाडौं आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
“मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा प्रतिकार्यमा सघाउनुका साथै नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको मद्दतमाथि केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोगको यस दूतावासका कार्यको नेतृत्व गर्नुहुनेछ,” काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार भनेको छ ।
काठमाडौं आउनुअघि मेगन बोल्डिन बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा कार्यरत थिइन् । त्यहाँ उनी सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् । करियर डिप्लोम्याट मेगनसँग सकंट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी व्यापक अनुभव रहेको अमेरिकी दूतावासले जनाएको छ ।
उनीसँग युक्रेन, इराक, बंग्लादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा काम गरेको अनुभव छ । “राहत तथा पुनर्लाभका प्रयासहरू जारी रहँदा नेपालमा उहाँको आगमनले नेपाल सरकार र साझेदारहरूसँग निकट रही काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई दर्साउँछ,” अमेरिकी दूतावासले भनेको छ ।
उता भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार, भदौ ५ देखि १० सम्म करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो ।
यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ । पचपन्न वर्षभन्दा लामो मौसमसम्बन्धी तथ्याङ्कअनुसार, यसअघि सोही अवधिमा तापक्रम कहिल्यै चार डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन । यद्यपि, उक्त उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन ।
क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गरी उक्त असाधारण तापक्रमको पुनर्निर्माण गरेका हुन् । उनका अनुसार, हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्यदेखि भदौ ५–१० को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले बढेको देखिन्छ ।
जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्ने हो भने, यस्तै तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र हुने प्रकृतिको हुन सक्ने रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गरेका छन् । युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाबाट सन् १९७० यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा उक्त घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ ।
फ्रान्सेली जलवायुविद् भ्यालेरी म्यासन–डेल्मोटेका अनुसार, असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई सम्भावित रूपमा बढावा दिएको हुन सक्छ । पर्माफ्रस्टले बरफको ‘सिमेन्ट’जस्तै काम गर्दै चट्टानी संरचनालाई एकसाथ बाँधेर राख्छ ।
यसको पग्लाइले त्यस्ता संरचनालाई थप अस्थिर बनाउन सक्छ । उपग्रहबाट प्राप्त तस्बिरले पनि घटना हुनुअघिका दिनमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखाएका छन् । फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सीएनआरएस)का हिमनदीविद् एटिएन बर्थियरका अनुसार, यसबाट उत्पन्न तरल पानी पहाडका चिरामा प्रवेश गरी पहिरो वा ढलान भत्किन सहज बनाएको हुन सक्छ ।
विज्ञले उच्च तापक्रमले हिमनदी वा पहाड भत्काउन प्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष निकाल्न अझै हतार गर्न नहुने बताएका छन् । अनुसन्धानकर्ताले अहिले हिमनदी भत्किनुअघिका वर्षमा पहाडमा देखिएका साना–साना गतिविधि तथा तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् ।
अध्ययन अनुशार पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिनुका कारण चट्टानको चिरा वा फ्र्याक्चर प्लेन आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाणित हुनु जलवायु परिवर्तनको भूमिकाको बलियो प्रमाण हुन सक्छ ।




