२३ असोज , काठमाण्डौ ।
मोरङको कटहरीमा अवस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनमा अत्याधुनिक सुविधासहितको छुट्टै ‘आँखा विभाग’ सञ्चालनमा आएको छ ।


अस्पतालमा बढ्दो बिरामीको चाप र गुणस्तरीय नेत्र उपचारको आवश्यकतालाई मध्यनजर गर्दै विश्व दृष्टि दिवसको अवसर पारेर बिहीबारबाट नवनिर्मित भवन मार्फत सेवा सुरु गरिएको जीवन विकास अस्पतालले जनाएको छ ।



आम नागरिकलाई सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको आँखा विभागको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले उद्घाटन गरेका छन् ।

१३ करोड रुपैयाँको लागतमा निर्मित अत्याधुनिक विभागबाट दक्ष चिकित्सकहरूको टोलीले सबै प्रकारका आँखासम्बन्धी रोगको विशेषज्ञ उपचार सेवा प्रवाह गर्नेछ ।

नयाँ भवनबाट आँखासम्बन्धी विभिन्न जटिल तथा सामान्य समस्याहरूको सम्पूर्ण परीक्षण र उपचार सुविधा एकै स्थानबाट उपलब्ध हुने बताइएको छ ।

अस्पतालका संयोजक तेजस्वी मण्डलका अनुसार सबै प्रकारका उपचार सुलभ दरमा एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित छुट्टै विभाग स्थापना गरिएको हो ।

आँखाको उपचारका लागि आउने बिरामीहरूले अस्पतालका अन्य विभागका चिकित्सकसँग परामर्श गर्नु परे ओपीडी शुल्क नलाग्ने समेत ब्यवस्था गरिएको मण्डलले जनाएका छन् ।





