३० असोज , काठमाण्डौ ।
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा–आराधना गरिँदै ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन दसैँ घर तथा पूजा कोठामा कात्यायनी देवीको विशेष पूजा गर्ने वैदिक सनातनी परम्परा ।

पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार, देवताहरूको कार्यसम्पादनका लागि भगवती देवी कात्यायन ऋषिको आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिएकी थिइन्।
उनको बाल सौन्दर्यबाट प्रभावित भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक मान्यता ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिएको थियो।
छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने परम्परा ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ।
देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास ।
शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर देवीको प्रसादका रूपमा जमरा र टीका लगाउने परम्परा ।
नेपालीले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म बडादसैँ पर्व मनाउने ।



