३० असोज , काठमाण्डौ ।
मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध थप जटिल बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि थप आक्रमण नगर्ने संकेत दिएका छन् ।
तर, अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति भने निरन्तर बढाइरहेको छ । पछिल्लो अवस्थाले युद्ध तत्काल अन्त्य हुने सम्भावना कमजोर देखिएको छ । अल जजिराका अनुसार अमेरिकाका कम्तीमा तीनवटा विमानवाहक युद्धपोत समूह मध्यपूर्व क्षेत्रमा तैनाथ छन् वा त्यसतर्फ अघि बढिरहेका छन् ।

यसैबीच, इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री आवागमनलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ । विश्वको ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने यस जलमार्गमा तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने चिन्ता पनि बढेको छ ।
सैन्य विश्लेषकहरूका अनुसार अमेरिकासँग इरानविरुद्ध अझै केही सैन्य विकल्प बाँकी छन् । तीमध्ये इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी कायम राख्ने, हवाई तथा क्षेप्यास्त्र आक्रमण पुनः सुरु गर्ने र सीमित स्थल सैन्य कारबाही गर्ने विकल्प प्रमुख छन् ।

इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुलाई नियन्त्रणमा लिने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। तर, यस्ता कदमले युद्धलाई थप विस्तार गर्न सक्ने जोखिम छ । विश्लेषकहरूले इरानले आफ्नो सैन्य रणनीतिमा परिवर्तन गर्दै अमेरिकी आक्रमणको सामना गर्ने क्षमता विकास गरेको बताएका छन् ।
लामो समयदेखि जारी युद्धका कारण अमेरिकाको महँगा क्षेप्यास्त्र तथा हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टरको भण्डारसमेत दबाबमा परेको बताइएको छ । यस्तो अवस्थामा थप आक्रमण गर्दा अमेरिकाले सैन्य स्रोतको व्यवस्थापनसँगै सम्भावित प्रतिआक्रमणको चुनौती पनि सामना गर्नुपर्ने देखिन्छ ।
यद्यपि, अमेरिकाले इरानमाथि पूर्णस्तरको स्थल आक्रमण गर्ने सम्भावना भने निकै कम रहेको सैन्य विश्लेषकहरूको आकलन छ । त्यस्तो अभियानमा ठूलो संख्यामा सैनिक हताहती हुन सक्ने र इरानसँग सम्बन्धित क्षेत्रीय सशस्त्र समूहहरू पनि युद्धमा सक्रिय हुन सक्ने जोखिम छ ।
यसले द्वन्द्वलाई मध्यपूर्वका अन्य देशसम्म फैलाउन सक्छ । यसैबीच, मध्यपूर्वका अन्य क्षेत्रमा पनि तनाव बढिरहेको छ । साउदी नेतृत्वको गठबन्धनले साउदी अरबको पूर्वी प्रान्ततर्फ आएको ड्रोन रोकेर नष्ट गरेको जनाएको छ । यमनका हुथी विद्रोहीहरूले भने मारिब क्षेत्रमा साउदी सेनाको ड्रोन खसालेको दाबी गरेका छन्।
यी घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको संकेत गरेका छन् । उता, चीनले इजरायललाई कब्जा गरिएको पश्चिम किनारमा बस्ती विस्तार रोक्न र स्थापित बस्तीहरू उल्ट्याउने कदम चाल्न आग्रह गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अजरबैजानमा इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटका क्रममा यस्तो धारणा राखेको चीनको विदेश मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जा गरिएको पश्चिम किनारमा इजरायली बस्तीहरू अवैध मानिन्छन् ।
गाजामा पनि इजरायली आक्रमण जारी रहेको विवरण सार्वजनिक भएको छ । स्थानीय पत्रकारहरूका अनुसार गाजा सिटीको शेख रदवान क्षेत्रमा भएको बमबारीका कारण एउटा परिवारको घरको केही भाग भत्किएको छ ।
उक्त घटनामा मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि निरन्तरको आक्रमणले सर्वसाधारणमा त्रास बढाएको बताइएको छ । युद्धको आर्थिक प्रभावसमेत देखिन थालेको छ । शुक्रबारको प्रारम्भिक कारोबारमा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५ अमेरिकी डलरभन्दा माथि रहेको थियो भने अमेरिकी डब्ल्यूटीआई तेलको मूल्य ९७ डलरभन्दा माथि कारोबार भएको थियो ।
आपूर्ति अवरोधको चिन्ताबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपत्कालीन भण्डारबाट थप डिजेल तथा उपलब्ध तेल बजारमा ल्याउने निर्णय गरेको विवरण पनि सार्वजनिक भएको छ । अमेरिकाले तत्काल थप आक्रमण नगर्ने संकेत दिए पनि मध्यपूर्वमा सैन्य गतिविधि र क्षेत्रीय तनाव घटेको छैन ।
इरानमाथि नाकाबन्दी कायम राख्ने, हवाई आक्रमण पुनः सुरु गर्ने वा सीमित स्थल कारबाही गर्ने जुनसुकै विकल्पले पनि ठूलो जोखिम निम्त्याउन सक्छ । त्यसैले आगामी दिनमा अमेरिका र इरानबीच कूटनीतिक समाधानको सम्भावना खुल्छ वा द्वन्द्व अझ चर्किन्छ भन्ने विषयले अन्तर्राष्ट्रिय राजनीति, ऊर्जा बजार र क्षेत्रीय सुरक्षामा निर्णायक प्रभाव पार्ने देखिन्छ ।।



