३१ असोज , काठमाण्डौ ।
नुवाकोटको ऐतिहासिक तथा धार्मिक तुलजा भवानी मन्दिरमा परम्परागत विधिसहित बाजागाजा र सैन्य सलामीकाबीच फुलपाती भित्राइएको छ ।
विदुर नगरपालिका–२ मा रहेको मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको निशान झन्डा, मंगल र भैरबी सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो ।

फुलपाती भित्र्याउने नुवाकोटको परम्परा मल्लकालदेखि चलिआएको मानिन्छ ।


वि.सं. १८०१ असोज १५ गते तेस्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि यसको महत्व झन् बढेको सरकारी प्रतिनिधि द्वारे महेन्द्र शाहीले बताए ।
गोरखा र हनुमानढोकामा जति महत्व छ, नुवाकोटमा पनि फुलपातीको उत्तिकै महत्व रहेको उनको भनाइ छ ।
यसबीच सयौँ सर्वसाधारणले साततले दरबार राष्ट्रिय संग्रहालय परिसरबाट ¥यालीसहित निस्किएर अशोकबाटिका स्थित धोबीधाराको चौतारामा पुगे ।
त्यहाँबाट संकलित फुलपाती लिएर बाजागाजा र तामझामसहित मन्दिरमा भित्र्याइएको हो ।

सुल्डाडा चौतारामा बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती करिब दुई किलोमिटरको दूरी पार गर्दै उच्च सुरक्षाका बीच मन्दिर ल्याइएको थियो ।
फुलपाती भित्र्याउनुअघि फुलपाती ल्याइने र भित्र्याइने दुवै स्थानलाई लिपपोत गरी शुद्ध बनाइएको र विशेष पूजापाठ गरिएको थियो ।
सरकारी तहबाट तुलजा भवानीमा एउटा बोका बलि पनि चढाइएको थियो ।
कार्यक्रममा नेपाली सेनाको टुकडीले मंगल सलामी दियो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली सेनाको बहादुर शेर गणका गणपति प्रमुख सेनानी आविष्कार ढुंगाना, त्रिशूली सैन्य तालिम केन्द्रका दीपक राई र विदुर नगर–२ का वडाध्यक्ष दीपक कायस्थलगायतको सहभागिता रहेको थियो ।
फुलपाती भित्र्याएपछि सबैले प्रसादस्वरूप टीका ग्रहण गरे ।



