फ्रान्स र इटालीमा नेपालको झल्को! ट्र«म्पले लगाए आप्रवासीलाई दोष

२ कात्तिक २०८३, सोमबार
Share this
827shares

२ कार्तिक , काठमाण्डौ ।

Advertisement

युरोपेली राष्ट्र फ्रान्समा केहीसातादेखि जारी रहेको देशब्यापी आन्दोलन थप हिंसात्मक बनेको छ । देशका विभिन्न शहरहरुमा आगजनी, तोडफोड र लुटपाटका घटना भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यस्तै प्रर्दशन इटालीमा समेत भएको छ।

विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्धका प्रर्दशन युरोपका अन्त देशमा समेत फैलिने आशंका गरिएको छ । प्रदर्शनका क्रममा भएका झडप, लुटपाट र आगजनीका घटनामा संलग्न रहेको आरोपमा करिब २ हजार ४०० जना पक्राउ परेका छन् ।

Advertisement

शनिबार भएका प्रदर्शनका क्रममा फैलिएको हिंसाले फ्रान्समा बढ्दो जीवनयापन खर्चप्रतिको जनआक्रोश र सरकारले अघि सारेको सार्वजनिक खर्च कटौतीको नीतिविरुद्धको असन्तुष्टिलाई उजागर गरेको छ । सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा यस घटनाले देशको राजनीतिक तनावसमेत बढाएको छ ।

शनिबार फ्रान्सका कैयौँ सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुनुका साथै आगजनी र लुटपाटका घटना भएका थिए । फ्रान्सको गृह मन्त्रालयका अनुसार, झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएका छन् । पेरिस प्रहरीले राजधानीमा मात्रै ८५५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

Advertisement

यो राजधानीमा अहिलेसम्मकै उच्च पक्राउ संख्या भएको बताइएको छ । अभियोजन पक्षका अनुसार, पक्राउ परेकामध्ये १७१ नाबालिगसहित ५१७ जना हिरासतमा रहेका थिए । आइतबार बिहानसम्म पनि पक्राउ गर्ने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताइएको थियो ।

राजधानीमा भएका अधिकांश पक्राउ चोरीका सामान लुकाएको वा राखेको आशंका, हिंसात्मक गतिविधिका लागि संगठित समूहमा सहभागी भएको तथा तोडफोड र उपद्रव मच्चाएको आरोपसँग सम्बन्धित छन् । मध्य फ्रान्सको लिमोज सहरमा उपद्रवीहरूले ऐतिहासिक नगर भवनमा आगजनी गर्दा भवनको ठूलो हिस्सा जलेर नष्ट भएको छ ।

नगर प्रमुख गुइलेम गुरिनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली सञ्चारमाध्यम एलसीआईसँग भने, “यस घटनाको निन्दा गर्न शब्द नै छैन । यो निकै भयानक छ । देश अहिले अराजकताको स्थितिमा पुगेको छ ।” यसैबीच, मार्से, लियोन, आभिग्नोन र ग्रेनोबल सहरमा पनि सार्वजनिक भवन तथा पसलहरूमाथि आक्रमण भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले विभिन्न सहरमा अश्रुग्यास, लाठीचार्ज र पानीको फोहरा प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू पनि घाइते भएका छन् । सेन्ट–एटिएनमा प्रहरीले प्रहार गरेको अश्रुग्यास वा ग्रेनेडका कारण १७ वर्षीय एक युवकले हात गुमाउनुपरेको फ्रान्सेली समाचारपत्रले फिगारोले जनाएको छ ।

हिंसात्मक घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनले हिंसालाई कुनै पनि आधारमा जायज ठहर गर्न नसकिने बताएका छन् । सम्बोधनका क्रममा उनले भने, “आज राति हामीले आक्रोश र लज्जाको महसुस गरेका छौँ ।”

उनले न्यायोचित माग राख्दै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक र तोडफोड, क्षति तथा लुटपाटमा संलग्न हुनेहरूबीच स्पष्ट भिन्नता छुट्याउनुपर्नेमा जोड दिए । प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीबारे पूर्ण पारदर्शिता अपनाउने प्रतिबद्धतासमेत राष्ट्रपति म्याक्रोनले व्यक्त गरे ।

सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा म्याक्रोनको उत्तराधिकारी बन्न चाहने विपक्षी नेताहरूले पनि हिंसात्मक घटनाको आलोचना गरेका छन् । दक्षिणपन्थी नेतृ मरिन ल पेनले आफ्ना अति–वामपन्थी प्रतिद्वन्द्वी ज्याक–लुक मेलेन्चोनको दलमाथि हिंसालाई वैधानिकता दिएको आरोप लगाएको छ ।

उनले फ्रान्सेली जनतालाई अति–वामपन्थीहरूको हिंसाबाट सुरक्षित राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे । यता, विद्यार्थी तथा जनप्रदर्शनलाई सुरुदेखि नै समर्थन गर्दै आएका मेलेन्चोनले प्रदर्शनकारीहरूलाई लुटपाटमा संलग्न नहुन आग्रह गरे ।

उनले लुटपाटलाई आफ्नो राजनीतिक कार्यशैलीको विपरीत भएको बताए । उता इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बढ्दो महँगीविरुद्ध देशका विभिन्न सहरमा प्रदर्शनका क्रममा भएको हिंसा र तोडफोडको कडा निन्दा गरेकी छन् ।

उनले शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गरिन् । तर, राजनीतिक हिंसा र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने गतिविधि स्वीकार्य नहुने उनले स्पष्ट पारेकी छन् । मेलोनीले शान्तिपूर्ण प्रदर्शनकारी र हिंसा मच्चाउने समूहबीच भिन्नता छुट्ट्याउँदै लोकतन्त्रमा आफ्नो विचार राख्ने र विरोध प्रदर्शन गर्ने अधिकारको सम्मान गर्नुपर्ने सामाजिक सञ्जाल एक्समार्फत बताएकी छन् ।

“आज शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने हजारौँ मानिसप्रति म उच्च सम्मान व्यक्त गर्छु । यसमा ‘सीजीआईएल’ ट्रेड युनियनको आह्वानमा सहभागी नागरिक र वामपन्थी नेताहरू पनि छन् । प्रदर्शनको मुद्दा जुनसुकै भए पनि सहभागिता जनाउनु स्वस्थ लोकतन्त्रको आधारशिला हो,” उनले भनेकी छन् ।

इटालीका विभिन्न सहरमा सुरक्षाकर्मीमाथि आक्रमण र तोडफोडका घटना भएका छन् । मिलानमा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार हुँदा केही अधिकारी घाइते भएका थिए । हिंसा र तोडफोडका कारण जुलुस समेत रोक्नुपरेको उनले बताएकी छन् ।

उनले प्रदर्शनको आडमा अराजकता फैलाउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने र सहरको जनजीवन अस्तव्यस्त बनाउने गतिविधिको आलोचना गरेकी छन् । मेलोनीले विपक्षी दलका नेताहरूलाई सडकमा हुने हिंसाविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गरेकी छन् ।

यस्ता घटनाविरुद्ध सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै उनले हिंसाबारे मौन बस्दा त्यसलाई जायज ठहर गर्ने आधार बन्न सक्ने बताएकी छन् । शनिबार देशका विभिन्न सहरमा बढ्दो महँगी र जीवनयापनको उच्च लागतविरुद्ध प्रदर्शन भएका थिए ।

मिलानमा मात्र पाँच हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शन ‘इटाली इन द स्क्वायर’ समितिले आह्वान गरेको थियो । प्रदर्शनकारीले बढ्दो महँगी, न्यून ज्याला, सार्वजनिक स्वास्थ्य सेवामा अपर्याप्त बजेट र सरकारी विद्यालयको कमजोर अवस्थाविरुद्ध आवाज उठाएका थिए ।

उनीहरूले सरकारको आर्थिक नीतिको आलोचना गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा भएको हिंसाका लागि आप्रवासनलाई जिम्मेवार ठहराएका छन् । उनले फ्रान्स आप्रवासीका कारण जलिरहेको र उनीहरूकै कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै फरक देशबाट आएका र मनमा घृणा बोकेका मानिसका कारण फ्रान्सको अवस्था बिग्रिएको बताएका हुन् । उनले ढिलो हुनुअघि नै सीमा बन्द गरेर परिस्थितिमाथि नियन्त्रण कायम गर्न फ्रान्सलाई आग्रह गरेका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि फ्रान्समा भएको हिंसाका लागि आप्रवासीलाई जिम्मेवार ठहराएका छन् । उनले पश्चिमी उदारवादीहरूले विविधता र करुणाका नाममा तेस्रो विश्वका मानिसलाई आफ्नो देशमा स्थान दिएको आरोप लगाएका छन् ।

भान्सले फ्रान्समा ऐतिहासिक स्थलहरूमा क्षति हुन नदिन आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । साथै, उनले अमेरिकी नागरिकलाई फ्रान्सको घटनाक्रममा ध्यान दिन आग्रह गर्दै डेमोक्रेटिक सांसदहरूले अमेरिकालाई पनि त्यस्तै दिशामा लैजान खोजेको आरोप लगाएका छन् ।

खराब शिक्षा व्यवस्था, शिक्षकको अभाव र विद्यालयमा बजेट बढाउनुपर्ने मागसहित फ्रान्समा विद्यार्थीहरू तीन सातादेखि प्रदर्शनमा छन् । आन्दोलनमा महँगी र सरकारी सेवामा बजेट कटौतीका विषयसमेत उठाइएका छन् ।

विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप तथा आगजनीका घटना भएका छन् । तर, फ्रान्सेली अधिकारीहरूले हिंसाका लागि कुनै विशेष समूहलाई जिम्मेवार ठहर गरेका छैनन् । राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारी कार्यालय, व्यवसाय र नगर भवनमा आक्रमण तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।

म्याक्रोंले सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै फ्रान्समा हिंसाका लागि कुनै स्थान नरहेको बताएका छन्। उनले सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने, सरकारी कार्यालय तथा व्यवसायमाथि आक्रमण गर्ने र नगर भवनबाट सामान लुट्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।

म्याक्रोंले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न चाहने नागरिकलाई अवरोध गर्ने तथा अराजकता फैलाउनेहरूविरुद्ध एकजुट भएर उभिने पनि बताएका छन्। फ्रान्सभरका प्रदर्शनकारीले सन् २०१८ मा सामाजिक अन्यायविरुद्ध सुरु भएको ‘येलो भेस्ट’ आन्दोलनलाई पुनः सक्रिय बनाउन सामाजिक सञ्जालमार्फत गरिएको आह्वानलाई समर्थन गरेका थिए।

पछिल्ला महिनामा पेट्रोल, ऊर्जा र खाद्यान्नको मूल्य बढेपछि सरकारप्रति व्यापक असन्तुष्टि र आक्रोश देखिएको छ। सन् २०१८ को आन्दोलनको प्रतीक बनेको चम्किलो पहेँलो भेस्ट लगाएका प्रदर्शनकारी पनि उल्लेख्य संख्यामा देखिएका थिए।

मध्य सेप्टेम्बरदेखि विद्यालय बन्द गराएर प्रदर्शन गर्दै आएका विद्यार्थी समूहले पनि आफ्ना समर्थकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए। फ्रान्सको प्रमुख ट्रेड युनियनमध्ये एक सीजीटीले पनि प्रदर्शनलाई समर्थन गरेको थियो। युनियनले ‘उच्च तलब र पेन्सन, कम मूल्य तथा जनताको आवश्यकताअनुसारका सार्वजनिक सेवाको संरक्षण’ गर्न माग गरेको थियो।

सेप्टेम्बरमा पेरिस नजिकको क्रेटेइल क्षेत्रमा उठेको विरोध अरू विद्यालयसम्म फैलिएको थियो । विद्यार्थीका गुनासा थिए कक्षामा भीड हुन्छ, शिक्षक पर्याप्त छैनन्, पढ्ने ठाउँको अवस्था राम्रो छैन। कतिपय विद्यार्थीले विश्वविद्यालयमा भर्ना हुने प्रक्रियाले थप तनाव दिएको पनि बताएका थिए ।

यसरी सुरु भएको आन्दोलनमा विद्यालयका प्रवेशद्वार रोकिए । केही ठाउँमा झडप र तोडफोड पनि भयो। अक्टोबर ६ को रोयटर्सको रिपोर्टमा ६ हजार १०० भन्दा बढी पक्राउ परेको उल्लेख छ। पक्राउ पर्नेमा धेरै नाबालिग थिए। तर सबै प्रदर्शन हिंसात्मक थिएनन्। धेरैले शान्तिपूर्ण रूपमा आफ्ना माग राखेका थिए।

फ्रान्स र इटालीमा चर्किएका प्रदर्शन तथा हिंसात्मक घटनाले नेपालमा भदौ २४ गते भएको जेनजी आन्दोलनको झल्को दिएको छ । सार्वजनिक सेवाप्रतिको असन्तुष्टि, आर्थिक दबाब, सरकारप्रतिको आक्रोश र राजनीतिक नेतृत्वप्रतिको अविश्वासले युवाहरूलाई सडकमा उतारेका घटनामा केही समानता देखिन्छन् ।

तर, यी आन्दोलनका कारण र राजनीतिक सन्दर्भ भने फरक छन् । विश्लेषकहरूका अनुसार युवाहरूको असन्तुष्टि समयमै सम्बोधन गर्न नसक्दा सामान्य विरोध प्रदर्शनसमेत व्यापक आन्दोलनमा परिणत हुन सक्छ ।

बेरोजगारी, महँगी, कमजोर सार्वजनिक सेवा र भविष्यप्रतिको अनिश्चितताले युवा पुस्तामा निराशा बढाउन सक्छ । सामाजिक सञ्जालले यस्ता असन्तुष्टिलाई तीव्र गतिमा फैलाउन र मानिसहरूलाई एकत्रित गर्न पनि भूमिका खेल्न सक्छ ।

नेपालको जेनजी आन्दोलनमा सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक जवाफदेहिताका माग प्रमुख रूपमा उठेका थिए । फ्रान्समा शिक्षा प्रणाली, शिक्षकको अभाव र सार्वजनिक सेवामा बजेटको विषय आन्दोलनसँग जोडिएको छ भने इटालीमा जीवनयापनको बढ्दो लागतलगायतका विषयमा विरोध प्रदर्शन भएका छन् ।

नेपाल, फ्रान्स र इटालीका घटनालाई एउटै कारणबाट उत्पन्न भएको आन्दोलनका रूपमा बुझ्नु उपयुक्त हुँदैन । तर, जनअसन्तुष्टिलाई बेवास्ता गर्दा त्यसले गम्भीर राजनीतिक तथा सामाजिक संकट निम्त्याउन सक्ने पाठ भने यी घटनाले दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top