२ कार्तिक , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । जसकाकारण विहान कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगको आकाशमा आंशिक बादल लागेको थियो ।
तराईका केही स्थानमा भने हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगको आकाशमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । अनि कोसी प्रदेशको तराईमा आंशिक बादल देखिनेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ । यस क्रममा दिउँसो देशका हिमाली भूभागका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना छ ।
यसैगरी आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ’खासै नदेखिएको’ मौसम महाशाखाकी मौसमविद् बिनु महर्जनले बताएकी छन् । यसबीच बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
प्राप्त विवरण अनुसार म्याग्दी, गोरखा र सुर्खेत जिल्लाका सडक खण्डहरू बाढी र पहिरोका कारण अवरुद्ध तथा एकतर्फी सुचारु रहेका छन् । गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५ः५० बजे गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु रहेको छ।
यस्तै, गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२, ३ र आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित बाढीका कारण सोतीमा रहेको फलामको पुल र गोर्खा आरुघाटबाट धादिङ जोड्ने सडक असोज २५ गते बिहान ५ः३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यसैगरी, कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान ५ः४५ बजे गएको पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्रयास भइरहेको छ ।
यसैबीच काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको हो । इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो।
दुर्घटनालगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनको समेत प्रयोग गरेको थियो । उता आइतबार काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोसी नदीमा खस्दा मृत्यु भएका तीन जना र बेपत्ताहरूको पहिचान खुलेको छ ।
दुर्घटनामा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको हो ।
लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्थिन्। यस्तै स्वस्तिका काठमाडौँमा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी गरिरहेकी थिइन् ।
आइतबार बिहान २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाका क्रममा नदीमा खसेका ३ जना अझै भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता भएकामा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन् । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते भएका हुन् ।
प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने सम्झनाको अवस्था गम्भीर छ । सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
घाइते शिवानी र अङ्कितको भने सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए । काठमाडौँबाट शनिबार करिब ११ बजे प्रस्थान गरेको सुमोमा चालकसहित १० जना थिए । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ ।



