३ कार्तिक , काठमाण्डौ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला ।
मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउने । तलेजु भवानी मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने परम्परा ।

हनुमानढोका दरबार हेरचाह अड्डाले सरोकारवाला निकायसँग गरेको छलफलपछि आज बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मन्दिर खुला गर्ने निर्णय ।
महानवमीका अवसरमा तलेजु भवानीको दर्शन गर्न हरेक वर्ष हजारौँ भक्तजन हनुमानढोका पुग्ने गर्छन् ।

यस वर्ष पनि बिहानैदेखि भक्तजनको भीड देखियो ।
पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई असोज ३१ गते बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो ।
सोही दिन बिहान १०ः३९ बजे मूलचोकमै स्थिरासन गराइएको थियो ।
विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजा–आराधना गरिनेछ भने कात्तिक ४ गते बिहान १०ः५१ बजे यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराउने साइत ।



