५ कार्तिक , काठमाण्डौ ।
वार्ताका लागि दक्षिण कोरियाका राष्ट्रपतिले पटक पटक आह्वान गरिरहँदा उत्तर कोरिया भने झनै आक्रामक बन्दै गएको छ । एकातिर उसले हतियार विकास गरिएको छ भने अर्कातिर सीमामा थप गतिविधि बढाएको छ ।
दक्षिण कोरियासँगको सम्बन्ध थप बिग्रँदै गएपछि उत्तर कोरियाले सीमाभरि ठूल्ठूला लाउडस्पिकर केही दिनभित्र पुनः सञ्चालन गर्ने तयारी गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनका शक्तिशाली बहिनी किम यो जोङले सीमा क्षेत्रको निरीक्षण गरेपछि यस्तो बताएकी हुन् ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले बिहीबार उनको भनाइ सार्वजनिक गरेको हो । त्यसको एक दिनअघि उनले अक्टोबर महिनाभित्र सीमाभरि लाउडस्पिकर सञ्चालनमा ल्याइने बताएकी थिइन् ।
उत्तर र दक्षिण कोरियाले विगतदेखि नै सीमापार प्रचारप्रसारका लागि ठूला लाउडस्पिकर प्रयोग गर्दै आएका छन् । द गार्डियनका अनुसार पछिल्ला वर्षहरूमा उत्तर कोरियाले लाउडस्पिकरबाट डरलाग्दा जनावरका आवाज प्रसारण गर्ने गरेको थियो भने दक्षिण कोरियाले के–पप संगीत र उत्तर कोरियाको आलोचना गरिएका समाचार प्रसारण गर्दै आएको थियो ।
यदि प्रसारण पुनः सुरू भएमा १६ महिनापछि दुई देशबीच सीमापार लाउडस्पिकरको प्रयोग पुनः सुरू हुनेछ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पदभार सम्हालेको केही दिनपछि नै सन् २०२५ जुनमा उत्तर कोरिया सँगको तनाव कम गर्ने उद्देश्यले दक्षिणतर्फबाट हुने प्रसारण बन्द गरेका थिए ।
त्यसै वर्षको अगस्टमा दक्षिण कोरियाली सेनाले लाउडस्पिकर हटाएको थियो । बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताले उत्तर कोरियाले प्रसारण सुरू गरेमा त्यसअनुसार जवाफी कदम चाल्नुपर्ने बताए।
तर, यसबारे कुनै निर्णय भइनसकेको उनले स्पष्ट पारे । दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुखहरूको कार्यालयले किम यो जोङको भनाइ सार्वजनिक हुनुअघि नै उत्तर कोरियाका लाउडस्पिकरमा नियमित मर्मतसम्भार भइरहेको देखिएको जनाएको छ ।
गत सेप्टेम्बरमा सैन्य सीमारेखाको दक्षिणतर्फ भएको बारूदी सुरूङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई देशबीचको तनाव थप बढेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर थियो ।
सोल र सन् १९५३ मा कोरियाली युद्ध अन्त्य नभए पनि युद्धविराम गराउने सम्झौताको निगरानी गर्ने संयुक्त राष्ट्रसंघीय कमान्डले उक्त विस्फोट उत्तर कोरियाले बिछ्याएको व्यक्ति मार्न वा घाइते बनाउन प्रयोग गरिने बारूदी सुरूङका कारण भएको निष्कर्ष निकालेका थिए।
उनीहरूले यसलाई युद्धविराम सम्झौताको उल्लंघनसमेत ठहर गरेका थिए । तर, प्योङयाङले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै यसलाई ‘आफैँले रचेको नाटक’ भनेको थियो। लाउडस्पिकर पुनः सञ्चालन गर्ने चेतावनीसँगै उत्तर कोरियाले सीमाक्षेत्रमा आफ्नो सुरक्षा संरचना बलियो बनाउने कामलाई पनि तीव्रता दिएको छ ।
किम जोङ उनले सन् २०२३ डिसेम्बरमा दुई कोरियालाई ‘एकअर्काप्रति शत्रूतापूर्ण दुई राज्य’ घोषणा गरेयता उत्तर कोरियाले सीमाक्षेत्रमा बारूदी सुरूङ बिछ्याउने, काँडेतार लगाउने र ट्यांक रोक्न प्रयोग गरिने अवरोधहरू निर्माण गर्ने काम गर्दै आएको छ ।
बुधबार किम यो जोङले उत्तर कोरियाको रक्षा मन्त्रालयका सल्लाहकार तथा मार्सल पाक जोङ चोनसँगै सीमाक्षेत्रका विभिन्न सुरक्षा संरचनाको निरीक्षण गरेकी थिइन् । सीमाक्षेत्रलाई अझ स्पष्ट रूपमा छुट्याएर पहिलेभन्दा बलियो किल्लामा परिणत गरिएको उनले बताइन्।
उनका अनुसार किम जोङ उनले उक्त सीमालाई ‘कहिल्यै पार गर्न नहुने स्थायी रेखा’ बनाउन निर्देशन दिएका छन् । दक्षिण कोरियाका अनुसार सीमाक्षेत्रमा निर्माण कार्य भइरहेका बेला उत्तर कोरियाली सैनिकहरू दुई देशबीचको २५० किलोमिटर लामो सैन्य सीमारेखा पटक–पटक पार गर्ने गरेका छन्।
त्यसपछि दक्षिण कोरियाली सैनिकहरूले लाउडस्पिकरबाट चेतावनी दिने र चेतावनीस्वरूप गोली चलाउने गरेका छन्। छिमेकीसंग उत्तर कोरियाले तनाव तन्काई रहँदा उता उसको मित्र रुसले भने अब युक्रेनसंग वार्ता गर्ने भएको छ । रुसी राष्ट्रपति अमेरिका र युक्रेनसंग त्रीपक्षिय वार्ता गर्न सहमत भएका छन् ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन्। उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे ।
ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार आफूसँग रहेको उनको भनाइ थियो ।
इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकामा प्रशंसा गरे । उनले रुस र चीनलाई सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी बैठक गर्ने सम्भावनालाई पनि सकारात्मक बताए ।
यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहलस्वरूप वर्तमान अग्रपङ्क्तिमा लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको बताएका छन् । उनले युद्धविरामपछि अमेरिका र युरोपेली राष्ट्रहरूबाट सुरक्षा प्रत्याभूति खोजिने स्पष्ट पारे ।
डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धमैदानमा विजय हासिल गरिरहेको दाबी अस्वीकार गरे । उनले वर्तमान युद्धक्षेत्रको अवस्थालाई आधार बनाएर वार्ता सुरु गर्नुपर्ने र त्यसबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने बताए ।
यसैबिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबिच चीनमा हुने आगामी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने बताएका थिए ।
यस्तै पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् ।
अबुधाबीमा वार्ता हुन सक्ने सम्भावना छ । यद्यपि, वार्ताको मिति र विस्तृत कार्यतालिका निश्चित भइसकेको छैन । सीएनएनको विश्लेषणअनुसार ट्रम्पले रुससँगको सहमतिलाई युद्ध अन्त्य गर्ने अवसरका रूपमा हेरेका छन् भने पुटिनले अमेरिकासँगको वार्ताबाट रुसको रणनीतिक हित अघि बढाउन खोजिरहेका छन् ।
रुसमाथिका प्रतिबन्ध, ऊर्जा व्यापार र युक्रेनको भूभागसम्बन्धी विवाद वार्ताका महत्त्वपूर्ण पक्ष हुन् । रोयटर्सका अनुसार पुटिन र विटकफबीचको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । तर, युद्ध अन्त्य गर्ने सर्तमा रुस र युक्रेनबीच अझै मतभेद छन् ।
रुसले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रणको माग गर्दै आएको छ । युक्रेनले भने आफ्नो भूभाग त्याग्ने विषयमा असहमति जनाउँदै आएको छ । युक्रेनको सुरक्षा प्रत्याभूति र भविष्यमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन पाउने विषय पनि विवादका प्रमुख मुद्दा हुन् ।
ट्रम्पले भने युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र पारिरहेका छन् । तर, त्रिपक्षीय वार्ताका लागि सहमति हुनु र युद्ध अन्त्य गर्ने सम्झौता हुनु फरक विषय हुन् । वार्ता अघि बढे पनि त्यसले युद्ध अन्त्य गर्ने ठोस सहमतिको रूप लिन्छ कि लिँदैन भन्ने स्पष्ट भइसकेको छैन ।
रुस र युक्रेनबीच जारी युद्ध २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि चर्किएको थियो । यद्यपि, दुई देशबीचको द्वन्द्व सन् २०१४ मै सुरु भएको थियो ।
त्यतिबेला रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेको थियो भने पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी समर्थित सशस्त्र समूह र युक्रेनी सेनाबीच लडाइँ सुरु भएको थियो ।



