२०८३ कात्तिक ८ गते ।मानसुन बाहिरिएपनि नेपालमा अर्काे साता केही दिन देशभर भारी वर्षा हुने भएको छ । यस्तै भारतमा शक्तिशाली आँधी आउने भएका कारण त्यसको असर समेत नेपालमा पर्ने भएकाले मौसम महाशाखाले सचेतनाका लागि आग्रह गरेको छ । यस्तै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको आजको मौसमपूर्वानुमान सहित मौसम सम्बन्धी खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ । यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ । राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सफा रहने पूर्वानुमान छ । आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११ बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको जनाएको छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै एकिन गर्न सकिने अवस्था नरहेको मौसम महाशाखाले उल्लेख गरेको छ। मौसम महाशाखाले शुक्रबार जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ।’सूचनामा भनिएको छ, मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषणको आधारमा शनिबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको र उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कार्तिक ९ गते (अक्टोबर २६) सोमबार चक्रवात आँधीमा विकसित भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ। उक्त मौसम प्रणालीका कारण आगामी कार्तिक ११ (अक्टोबर २८) गते (बुधबार) देखि कार्तिक १५ (नोभेम्बर ०१) गते (आइतबार) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिन्छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन। तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ। नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ। मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि यस विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्नुहुन अनुरोध छ।

यस्तै, बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने भएकाले यस अवधीमा धान नकाट्न मौसमविद्को सुझाव छ । विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” मौसमविद् विनोद पोखरेलले भनेका छन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ । मौसमविद् पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् । “यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा भारी वर्षा हुन सक्ने अहिलेको पूर्वानुमानले देखाउँछ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ । भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् ।

“करिब एक महिनाअघि पनि यस्तै प्रणालीले नेपालमा भारी वर्षा गराएको थियो, जुन पूर्वानुमान गरिएको समयभन्दा एक दिनअगावै सुरु भएको थियो,” मौसमविद् पोखरेल लेख्छन्, “त्यसैले यसपटक पनि वर्षा सुरु हुने समय, स्थान र मात्रा केही फेरिन सक्छ ।”



