मृत्यु भएको हल्लाका बीच किम नयाँ पुलबाट चीन पुगे

८ कात्तिक २०८३, आइतबार
Share this
668shares

२०८३ कात्तिक ८ गते । उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्। किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। किम जोङ उन चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित यालु नदी पुल हुँदै चीनको सीमावर्ती सहर डानडोङ पुगेका हुन्। उत्तर कोरियाली नेताको स्वास्थ्य र सम्भावित मृत्युबारे सामाजिक सञ्जालमा विभिन्न दाबी फैलिरहेका बेला उनको चीन भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएको हो।

Advertisement

चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक समिटमा स्वागत गर्ने तयारी छ। समिटमा ट्रम्प, सी, पुटिनलगायत विश्वका अन्य नेताहरू भेला हुने अपेक्षा छ। ट्रम्पले किमलाई फेरि भेट्न आफूले चाहेको बताएका छन्।

एक वर्षभन्दा बढी समयपछि किमको चीनतर्फको यो पहिलो भ्रमण हो। यो भ्रमण अर्को महिना दक्षिण चीनको सेन्जेन सहरमा हुन लागेको एपेक समिटको पूर्वसन्ध्यामा भएकोमा अर्थपूर्ण मानिएको छ। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चीनका चौथो वरीयताका नेता वाङ हुनिङले शनिबार किमलाई स्वागत गरे र भ्रमणका क्रममा साथ दिए। किमसँग वाङले दुई देशबीच जनस्तरको आदानप्रदान तथा आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्न आह्वान गरे। साथै, उनले रणनीतिक सञ्चार र समन्वयलाई सुदृढ पार्न तथा शान्तिपूर्ण र स्थिर बाह्य वातावरण सिर्जना गर्न जोड दिए। जसबाट दुवै देशले आ–आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको रक्षा गर्न सक्ने उनको भनाइ थियो।

Advertisement

किमको यो एक दिने चीन भ्रमणबारे पहिले कुनै घोषणा गरिएको थिएन। यो भ्रमण सन् १९५० मा कोरियाली युद्धमा चिनियाँ सेना प्रवेश गरेको वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको हो। युद्धका बेला चिनियाँ सेनाले यालु नदी पार गरेर उत्तर कोरिया प्रवेश गर्दा डानडोङ मुख्य प्रवेशद्वारको रूपमा रहेको थियो। वाङले किमलाई अमेरिकी आक्रामकता विरुद्ध प्रतिरोध र कोरियालाई सहयोग गर्ने युद्धु सम्बन्धी स्मृति भवनमा स्वागत गरे, जहाँ उत्तर कोरियाली नेताले पुष्पहार अर्पण गरे। त्यसपछि किमले स्मृति भवनमा राखिएका युद्धकालीन सामग्रीहरूको अवलोकन गरे। यी सामग्रीहरूले दुई मित्र राष्ट्रहरूले कसरी काँधमा काँध मिलाएर लडेका थिए भन्ने कुराको स्मरण गराउँछन्। दिउँसो, वाङले किमको साथमा डान्दोङस्थित एउटा कार कारखानाको पनि भ्रमण गरे। सिन्ह्वाका अनुसार, चीनका विदेशमन्त्री वाङ यी शनिबारका यी सबै कार्यक्रमहरूमा किमसँगै उपस्थित थिए। किम यालु नदीको नयाँ पुल हुँदै डान्दोङबाट उत्तर कोरियातर्फ प्रस्थान गर्दा वाङ हुनिङ र वाङ यी दुवै उनीसँगै थिए। गत हप्ता उक्त पुलको उद्घाटन समारोहमा, चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्योङयाङप्रति बेइजिङको समर्थन दोहो¥याउँदै दुवै मुलुकले आपसी सम्पर्क (कनेक्टिभिटी) सुधार गर्नुपर्ने बताएका थिए।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार सरकारी स्रोतले किम शनिबार बिहान नयाँ पुल हुँदै डानडोङ पुगेको पुष्टि गरेको छ। चीनले दुई देशबीचको सीमा निर्धारण गर्ने यालु नदीमाथि निर्माण गरिएको नयाँ पुल औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरेपछि यो घटनाक्रम सार्वजनिक भएको हो। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अक्टोबर १४ मा उक्त पुलले चीन र उत्तर कोरियाबीचको व्यापार तथा जनस्तरको आदानप्रदानलाई सहज बनाउने बताएकी थिइन्। चीन र उत्तर कोरिया दुवै पक्षबीच भएको सहमतिअनुसार पुल सञ्चालनमा ल्याइएको र संयुक्त रूपमा उद्घाटन समारोह आयोजना गर्ने तयारी गरिएको माओले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन्। चीन र उत्तर कोरियालाई ‘पहाड र नदीले जोडिएका मित्रवत् छिमेकी’ को संज्ञा दिँदै उनले नयाँ पुल दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधार भएको बताएकी थिइन्। पुल सञ्चालनमा आएपछि द्विपक्षीय व्यापार र जनस्तरको आवागमन बढ्नुका साथै दुवै देशका नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने चीनको अपेक्षा छ।

Advertisement

यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियासँगको सीमामा नयाँ प्रतिकारात्मक साधन तैनाथ गर्ने चेतावनी दिएकी छन्। उनले दक्षिण कोरियालाई लक्षित प्रचारप्रसारका लागि प्रयोग गरिने लाउडस्पिकरसमेत केही दिनभित्र तयारी अवस्थामा राखिने बताएकी छन्। योनहापका अनुसार उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको वक्तव्यमा किम यो जोङले नयाँ प्रतिकारात्मक साधन दक्षिणी सीमाको सम्पूर्ण क्षेत्रमा परिचालनका लागि सतर्क अवस्थामा राखिने उल्लेख गरेकी छन्। उनले दक्षिण कोरिया गणतन्त्र (आरओके) विरुद्ध प्रयोग गरिने प्रचारात्मक लाउडस्पिकर पनि केही दिनभित्र तयारी अवस्थामा रहने बताएकी छन्।
यसअघि पनि किम यो जोङले उत्तर कोरियाले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियातर्फ प्रचारात्मक लाउडस्पिकर प्रसारण पुनः सुरु गर्न सक्ने चेतावनी दिएकी थिइन्। पछिल्लो अभिव्यक्तिले दुई कोरियाबीचको तनाव थप बढ्न सक्ने संकेत गरेको छ। किम यो जोङले दक्षिणी सीमामा सुरक्षा संरचना थप मजबुत बनाउने प्योङयाङको प्रयासको बचाउ गर्दै निर्माण कार्य उत्तर कोरियाको आफ्नै भूभागभित्र निरन्तर जारी रहने बताएकी छन्।
यी घटनाक्रमसँगै सामाजिक सञ्जालमा किम जोङ उन गम्भीर मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको दाबीसहितका अपुष्ट खबर फैलिएका छन्। तर, उनको मृत्यु भएको दाबी पुष्टि गर्ने स्वतन्त्र तथा विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन। यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम जोङ उनले जुत्ता तथा महिलाका लुगासम्बन्धी प्रदर्शनीको निरीक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ। न्युयोर्क पोस्टका अनुसार कोरियाली केन्द्रीय समाचार संस्थाले किमले सोमबार उक्त प्रदर्शनीको भ्रमण गरेको जनाएको छ। यद्यपि, सार्वजनिक गरिएका तस्बिरको स्वतन्त्र रूपमा प्रमाणीकरण भएको छैन। अमेरिकामा रहेका चिनियाँ असन्तुष्ट वानजुन सीले सामाजिक सञ्जालमा किम अस्पताल भर्ना भएको र उनको सम्भावित उत्तराधिकारीलाई लिएर संकट उत्पन्न भएको दाबी गरेका थिए। उनले यसैबीच चीनले प्योङयाङमा सेना परिचालन गरेको दाबीसमेत गरेका छन्। तर, किमको स्वास्थ्य अवस्था, सम्भावित उत्तराधिकारीसम्बन्धी संकट वा प्योङयाङमा चिनियाँ सेना परिचालन गरिएको भन्ने दाबी पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन।

यसअघि मस्तिष्कमा रक्तस्राव (ब्रेन ह्यामरेज) भएर किमको मृत्यु भएको हल्ला फैलिएपछि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा नेता किम जोङ उनकी नयाँ तस्वीरहरू सार्वजनिक भएका थिए । उत्तर कोरियाको सरकारी अखबार ‘रोदोङ सिनमुन’ ले यी तस्वीरहरू प्रकाशित गरेको हो। तस्वीरमा ४२ वर्षीय शासक किम जोङ उन आफ्नी छोरीसँगै कपडा तथा जुत्ताको प्रदर्शनी अवलोकन गरिरहेको देखिएका थिए ।

अमेरिकामा बसोबास गर्ने चीनका एक असन्तुष्ट कार्यकर्ताले कुनै प्रमाणबिना किमको मृत्यु भएको दाबी गरेको केही घण्टापछि यी तस्वीरहरू सार्वजनिक भएका हुन्। ती कार्यकर्ताले किम कोमामा गएको, उपचारका लागि बेइजिङको एक अस्पतालमा भर्ना गरिएको र त्यसपछि उनको मृत्यु भएको दाबी गरेका थिए। यद्यपि, उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरूका लागि यस्ता अफवाह अब लगभग सामान्य भइसकेका छन्। उत्तर कोरिया विश्वकै सबैभन्दा गोप्य देशहरूमध्ये एक हो। त्यहाँबाट बाहिर आउने सूचनाको पुष्टि गर्न प्रायः कठिन हुन्छ। यही कारणले गर्दा अड्कलबाजी र अफवाहले सजिलै ठाउँ पाउँछन्। यसपटक यस्तो दाबी वानजुन सी नामका व्यक्तिले गरेका हुन्। उनी आफूलाई ‘चाइनिज डेमोक्रेटिक पार्टी’का अध्यक्ष बताउँछन्। उक्त संगठनलाई चीनका अधिकारीहरूले प्रतिबन्ध लगाएका छन्।

सीले यसअघि पनि पुष्टि नभएका दाबीहरू गर्दै आएका छन्। उनका अनुसार उत्तर कोरियामा आवश्यक उपचार सुविधा नभएकाले किमलाई बेइजिङ लगिएको थियो।उनले पछि किमको मृत्यु भएको र उनको शव गोप्य रूपमा उत्तर कोरिया फिर्ता पठाइएको दाबीसमेत गरेका थिए। उत्तर कोरियाली सरकारले उनको मृत्युको खबर लुकाइरहेको पनि उनको भनाइ थियो। तर अचानक किम चीनमा पुगेपछि फैलाइएका मृत्युका सबै हल्लाहरु गलत सावित भएका छन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top