२०८३ कात्तिक ८ गते । यमनका इरानसमर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा फेरि आक्रमण गरेका छन् । हुथीहरुले साउदीको इस्ट–वेस्ट तेल पाइपलाइन र विभिन्न विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् । हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो वक्तव्यमा साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रमा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार यान्बुस्थित साउदी अरामकोको संरचना, राबिग तेल प्रशोधन केन्द्र र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको थियो । त्यसैगरी, दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतस्थित एक हवाई सैन्य अखडामा समेत आक्रमण गरिएको हुथी प्रवक्ताले दाबी गरेका छन् ।
हुथीका यी दाबीबारे साउदी अरबले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसैबीच, साउदी अरबको रक्षा मन्त्रालयले हुथी विद्रोहीले प्रहार गरेका र हावामै अवरोध गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रका अवशेष मक्काको वादी अल–मुग्मास क्षेत्रमा खसेको जनाएको छ । मन्त्रालयका अनुसार जिद्दा, ताइफ र राबिग क्षेत्रमा पनि क्षेप्यास्त्रका अवशेष भेटिएका छन् । यसैबीच उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारसम्म इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने वा तेहरानसँग ‘ठूलो र भव्य’ सम्झौता हुन सक्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताए ।
उनले आक्रमण गर्नेबारे अन्तिम निर्णय भइसकेको छ वा छैन भन्ने स्पष्ट पार्न अस्वीकार गरे । यद्यपि, उनले इरानसँग कूटनीतिक सम्झौता गर्ने सम्भावना पनि खुला रहेको संकेत गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले सैन्य कारबाहीबारे विचार गरिरहेको बताए । तर, आक्रमण गर्ने विषयमा अन्तिम निर्णय भइसकेको छ कि छैन भन्ने खुलाउन अस्वीकार गरे । इरानले सम्भावित सम्झौता पालना गर्छ कि गर्दैन भन्नेमा पनि उनले आशंका व्यक्त गरे । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु आफ्नो मुख्य उद्देश्य रहेको ट्रम्पको भनाइ थियो । यसअघि भएका अमेरिकी सैन्य कारबाहीले स्थायी नतिजाको सुनिश्चितता नगरेको उल्लेख गर्दै उनले आगामी कदमबारे निश्चित समयसीमा भने तोकेनन् । उनका अनुसार अमेरिका सैन्य कारबाही अघि बढाउने वा सम्झौता गर्ने विकल्पमध्ये एकमा जान सक्छ ।

यसअघि इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका थिए । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान समर्थित समूहबाट लगभग दैनिक आक्रमण भइरहेका छन् । तीमध्ये रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण साउदी अरबमा वर्षौँमा भएको सबैभन्दा घातक आक्रमण थियो ।
“इरानले अमेरिकी कर्मचारीलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको हामीलाई गोप्य जानकारी प्राप्त भएको छ,” क्लेटनले विदेशमन्त्री मार्को रुबियोलाई पठाएको ज्ञापनपत्रमा लेखेका एक अमेरिकी अधिकारीले बताएका छन् । “अमेरिकी नागरिकविरुद्ध इरानीहरूको घातक षड्यन्त्र प्रयास मध्यपूर्व र केही अन्य देशहरूमा उच्च चरणमा पुगेको छ,” पत्रमा भनिएको छ । आक्रमण प्रयासको पहिलो रिपोर्ट एक्सियोसले यस पहिले नै गरेको थियो । वासिङ्टनले यसअघि पनि इरानविरुद्धको युद्ध सुरु हुनुअघि खाडीबाट गैरआवश्यक कर्मचारीलाई फिर्ता बोलाएको थियो तर जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आक्रमणको लहर रद्द गरेसँगै अमेरिकी नागरिकलाई फिर्ता गर्ने अभियान सुस्त बनेको थियो ।

अमेरिकी अधिकारीले भनेका छन्, “हाम्रो दूतावासमा कर्मचारी राख्ने विषयमा हामी सुरक्षा वातावरणबारे नयाँ जानकारी निरन्तर मूल्याङ्कन गर्छौँ।” “हूथी आक्रमणको खतरा र अमेरिकी अधिकारीहरूलाई निसाना बनाउने इरानी आतङ्कवादी षड्यन्त्रले हाम्रा निर्णयहरूलाई प्रभाव पारिरहेका छन्,” अधिकारीले थपे । ट्रम्पले शुक्रबार अमेरिका इरानविरुद्ध फेरि सैन्य कारबाही सुरु गर्न सक्ने बताएका थिए। “हामी अर्को सानो ‘एपिक फ्युरी’ गर्न सक्छौँ,” इरानमाथिको अमेरिकी आक्रमणको नाम उल्लेख गर्दै समयबारे कुनै सङ्केत नगरी राष्ट्रपति ट्रम्पले भने । फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व द्वन्द्वसुरु भएको थियो, जसमा इरानका सर्वोच्च नेतासहित वरिष्ठ सैन्य कमाण्डरहरू मारिएका थिए ।



