वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानी योजनाबारे गुप्तचरको सूचना

१ मंसिर २०८३, मंगलबार
Share this
671shares

०१ मंसिर , काठमाण्डौ ।    अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकामा ठूलो आक्रमण गर्ने योजना बनाएको पत्ता लगाएको छ । उसको नयाँ प्रतिवेदनले इरानले वाशिङ्टन, डीसीमा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै ’डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाइरहेको देखाएको हो । अमेरिकी सञ्चारमाध्यम सीएनएनले सात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस्तो योजनाको खुलासा गरेको हो । सीनएनएनकै हवाला दिएर विभिन्‍न सञ्चारमाध्यमहरुले यो समाचार प्रकाशित गरेका छन् । स्रोतका अनुसार अमेरिकासँगको युद्धमा सबै विकल्प खुला राख्ने उद्देश्यले लामो समयदेखि उसले यस्तो योजना बनाइरहेको हो । पत्ता लागेका योजनाहरूमा निश्चित स्थान र लक्षित व्यक्तिहरूको स्पष्ट विवरण रहेका कारण अमेरिकी अधिकारीहरूले आकस्मिक सुरक्षा तयारी र छलफल तीव्र बनाएका छन् ।
यद्यपि इरानले यस्तो आक्रमण गर्न सक्ने क्षमता राख्छ वा वास्तवमै आक्रमण गर्ने तयारी गरिरहेको छ भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच अझै बहस भइरहेको छ । ‘आक्रमण गर्न आवश्यक जनशक्ति उनीहरूसँग वास्तवमै उपलब्ध छ कि छैन भन्ने विषयमा बहस भइरहेको छ,’ एक अमेरिकी अधिकारीले सिएनएनसँग भनेका छन् । गुप्तचर स्रोतहरूका अनुसार इरानको यो योजना तत्कालै आक्रमण गर्ने तयारीभन्दा पनि भविष्यमा आवश्यक परेको अवस्थामा प्रयोग गर्न सकिने विकल्प तयार पार्ने प्रयासका रूपमा देखिएको छ । तर अमेरिकी गुप्तचर निकायले प्राप्त गरेको सूचनामा आक्रमणका सम्भावित स्थान र लक्ष्यसमेत उल्लेख भएकाले अमेरिकी अधिकारीहरूले सुरक्षा सतर्कता र आकस्मिक प्रतिकार्यको तयारी तीव्र पारेका छन् । ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले भने अमेरिकाले सम्भावित सबै खतरामाथि निगरानी गरिरहेको तर हाल अमेरिकी भूमिमा आक्रमणको कुनै विश्वसनीय खतरा नरहेको बताएकी छन्।‘सम्भावित सबै प्रकारका खतरामाथि निगरानी गरिरहेका छौं। तर अहिलेका लागि अमेरिकी भूमिमा कुनै विश्वसनीय खतरा रहेको सूचना प्राप्त भएको छैन,’ उनले भनिन् । अमेरिकी अधिकारीहरूले भने पछिल्लो गुप्तचर सूचनालाई इरानले द्वन्द्व थप चर्काउन सक्ने संकेतका रूपमा लिएका छन्। अमेरिकाले गरिरहेको निरन्तर सैन्य आक्रमण र कडा आर्थिक नाकाबन्दीका कारण दबाबमा परेको इरानले अब अमेरिकी भूमिभित्रै सम्भावित आक्रमणको योजना बनाउन थालेको स्रोतहरूको भनाइ छ । द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका कूटनीतिक वार्ता प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपति ट्रम्पले गत साता युद्ध चाँडै अन्त्य हुने बताएका थिए। तर पछिल्लो सुरक्षा चुनौतीलाई लिएर अमेरिकी अधिकारीहरूले पर्दापछाडि गरिरहेको तयारीले युद्धको अवस्था अझै अनिश्चित रहेको देखाएको छ ।यस विषयमा जानकार दुई स्रोतलाई सिएनएनले उदृत गर्दै लेखेको समाचार अनुसार पछिल्लो एक सातामा अमेरिकी अधिकारीहरूले सम्भावित खतराको प्रतिकार कसरी गर्ने भन्नेबारे पटक–पटक बैठक गरेका छन् ।

Advertisement

यसैबीच, इरानबाट प्राप्त सुरक्षा चुनौतीका कारण अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) ले अर्थमन्त्री स्कट बेसेन्टलाई गत साता सैन्य आवासमा सारेको थियो । इरानले ट्रम्प प्रशासनका वर्तमान तथा पूर्वअधिकारीलाई लक्षित गर्ने गतिविधि यसअघि पनि गर्दै आएको अमेरिकी अधिकारीहरूको भनाइ छ । सन् २०२४ मा ट्रम्पको हत्या गर्न सुपारी दिने योजनासमेत सार्वजनिक भएको थियो । यस्ता गतिविधि मुख्यतः अमेरिकी अधिकारीहरू विदेश भ्रमणमा रहेका बेला उनीहरूलाई निशाना बनाउने अवसर खोज्न केन्द्रित थिए ।डर्टी बम आणविक बमभन्दा निकै फरक हुन्छ । आणविक बम न्युक्लियर फिसन प्रक्रियामा आधारित हुन्छ र यसको विनाशकारी क्षमता डर्टी बमको तुलनामा कैयौं गुणा बढी हुन्छ । डर्टी बमले पनि रेडियोधर्मी विकिरणयुक्त कणलाई हावामा फैलाएर केही ब्लकदेखि माइलौ टाढासम्म प्रदूषण फैलाउन सक्छ । तर विशेषज्ञहरूका अनुसार यसबाट हुने मानवीय क्षतिको प्रमुख कारण विकिरणभन्दा बम विस्फोट नै हुने सम्भावना बढी हुन्छ । सामान्य विस्फोटक बमको तुलनामा डर्टी बम बनाउनु खासै कठिन हुँदैन । तर यसका लागि आवश्यक रेडियोधर्मी पदार्थ प्राप्त गर्नु भने मुख्य चुनौती हो । पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्व हर्मुज जलमार्ग र पश्‍चिम एशियाका अन्य देशमा समेत केन्द्रित छ । अमेरिकी अधिकारीहरूले पश्चिम एशियामा तैनाथ अमेरिकी सैनिकहरूविरुद्ध पनि रासायनिक हतियार प्रयोग हुन सक्ने जोखिम औंल्याएका छन् ।दुई देशबीचका कूटनीतिक वार्ता र युद्धविरामका प्रयासहरू अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन्। अमेरिकी अधिकारीहरूले इरानले यस्ता विनासकारी हतियार प्रयोग गरेमा त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् । तर, इरानले आफ्नो अस्तित्व नै संकटमा परेको महसुस गरेमा यस्ता खतरनाक कदम चाल्न सक्ने जोखिम अझै कायम रहेको छ । यसबीच अमेरिकाले पश्चिम एसियामा तेस्रो विमानवाहक युद्धपोत तैनाथ गरेको छ । यसले पनि अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व चर्कने आशंका बढाएको छ । ‘यूएसएस थियोडोर रुजवेल्ट’ नोभेम्बर १५ मा मध्यपूर्व पुगेको हो ।

यससँगै अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)अन्तर्गत तीन विमानवाहक युद्धपोत परिचालन भएका अमेरिकी अधिकारीले बताएका छन् । सन् १९८६ मा अमेरिकी नौसेनामा समावेश गरिएको आणविक ऊर्जाबाट चल्ने रुजवेल्टमा पाँच हजारभन्दा बढी सैनिक र एफ–१८ सहित ६० भन्दा धेरै विमान राख्न सकिन्छ । यसले हवाई सैन्य कारबाही, समुद्री सुरक्षा, आपूर्ति र उद्धार अभियान सञ्चालन गर्छ ।रुजवेल्टसँगै ‘यूएसएस जर्ज वासिङ्टन’ र ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ पनि मध्यपूर्वमा परिचालित छन् । यसबाहेक दुई हजारभन्दा बढी मरीन सैनिक बोकेको ‘मेकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप’ पनि पठाइएको छ । पछिल्लो तैनाथीमा थप नौ हजारदेखि १० हजार अमेरिकी सैनिक संलग्न हुन सक्ने द वाल स्ट्रिट जर्नलले जनाएको छ । यता इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले अमेरिकी आक्रमणको प्रतीक्षा गरेर आफ्नो देश नबस्ने चेतावनी दिएका छन् । अमेरिकाले अर्को आक्रमणको तयारीका निम्ति कूटनीतिको आडमा समय लिइरहेको हुन सक्ने उनको आरोप छ । उनले इरानलाई क्युबा वा भेनेजुएलाजस्तो ठानेर दबाबमा झुकाउन नसकिने बताए । इरानको आईआरजीसीले नयाँ क्षमताका क्षेप्यास्त्र उत्पादन गरिरहेको उनले जिकिर गरे ।

Advertisement

इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिकी आक्रमणले क्षेत्रीय स्थिरतामा खतरा पैदा गरेको बताएका छन् । ऊर्जा आपूर्ति सुरक्षित राख्न क्षेत्रीय सुरक्षा संयन्त्र आवश्यक रहेको उनको भनाइ छ ।यता अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि इरान नीतिबारे ट्रम्प प्रशासनभित्र पनि मतभेद देखिएको छ । विदेशमन्त्री मार्को रुबियोले आर्थिक दबाब प्रभावकारी भइरहेकाले इरानविरुद्ध ठूलो सैन्य कारबाही पुनः सुरु गर्नु आवश्यक नहुन सक्ने बताएका छन् । तर, ट्रम्पले सैन्य विकल्प खुला राख्दै होर्मुजमा नाकाबन्दी र आर्थिक दबाब जारी राखिने बताएका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन, आर्थिक प्रतिबन्ध फुकुवा गर्न, रोक्का रकम फिर्ता र सबै मोर्चामा युद्ध अन्त्यको स्पष्ट घोषणा गर्नुपर्ने सर्त राखेको छ । इन्टरनेसनल क्राइसिस ग्रुपका अली भाएजका अनुसार, अमेरिका र इरान दुवै पक्ष पहिले आक्रमण गर्नु सुरक्षित हुने मानसिकतासहित जोखिमपूर्ण प्रतिस्पर्धामा छन् । यसले युद्ध रोक्ने प्रयासकै क्रममा अनियन्त्रित द्वन्द्व निम्त्याउन सक्छ ।

इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले आफ्नो देश ‘न युद्ध न शान्ति’को अवस्थाबाट बाहिर निस्कन चाहेको बताएका छन् । कतारी मध्यस्थकर्तामार्फत सम्झौताका सात सर्त पठाइएको र इरान अमेरिकी जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ । विश्लेषकका अनुसार, आपसी अविश्वास, दुवै पक्षका अधिकतम माग र आफू बलियो अवस्थामा रहेको ठान्ने प्रवृत्तिले सहमति कठिन बनाएको छ । क्षेत्रीय देशहरू युद्धको विपक्षमा रहे पनि अमेरिका र इरानबीच सम्मानजनक निकास ननिस्किए वार्ता युद्धबीचको अस्थायी विश्राममा सीमित हुन सक्ने उनीहरूको आकलन छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top