३००को चिउरा किन्दा १० लाख जिते, सबैभन्दा बढी कर तिर्ने राजबहादुर

१ मंसिर २०८३, मंगलबार
Share this
733shares

०१ मंसिर , काठमाण्डौ ।    सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कात्तिक महिनाको दोस्रो १५ दिनका विजेताहरूको नाम सार्वजनिक भएको छ । यसअन्तर्गत यसपटक भक्तपुर सूर्यविनायकका राम श्रेष्ठले १० लाख उपहार जितेका छन् । उनले ३०० रुपैयाँको चिउरा किन्दा १० लाख बम्पर उपहार पाएका हुन् । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कार्तिक १६ देखि ३० सम्मको कारोबारमा उनी विजेता बन्न सफल भएका हुन् । सो अवधिसम्म आधिकारिक बिल लिएर खरिद गर्ने अन्य १५ जना दैनिक विजेताको पनि घोषणा गरिएको छ । लक्की ड्रमार्फत छानिएका १५ जना दैनिक विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । उनीहरूले कर कटाएर जनही १ लाख रुपैयाँ हात पार्ने छन् । वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक लिने बानीको विकास गरी उपभोक्तालाई कर प्रणालीप्रति आकर्षित गर्न आन्तरिक राजस्व विभागले यो योजना कार्यान्वयनमा ल्याएको हो ।

Advertisement

यसैबीच सरकारले आव २०८१–८२ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा क्षेत्रगत रूपमा अगाडि रहेका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको हो । जसमा निकायहरूमध्येः सूर्य नेपाल, एकलौटी फर्महरूमध्येः थर्ड आइ इन्टरनेसनल, वस्तु निर्यात गर्नेमध्येः डाबर नेपाल, आईटी निर्यात गर्नेमध्येः इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल, कृषि तथा पशुपन्छीजन्य उद्योगमध्येः ओसीबी फुड्स एन्ड फिड, बैंकिङ कारोबार गर्नेमध्येः नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थामध्येः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएका छन् । यसैगरी पर्यटन व्यवसाय गर्नेमध्येः सोल्टी होटल, वस्तु व्यापारतर्फः सीजी इम्पेक्स, वार्षिक ५० करोड देखि १०० करोडको कारोबार गर्नेमध्येः फुड एन्ट टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, ऊर्जामुलक उद्योगमध्येः भोटेकोशी पावर कम्पनी, यसैगरी व्यक्तिगत रूपमा सबैभन्दा बढी कर तिर्नेः राजबहादुर साह अनि रेमिट्यान्स कारोबार गर्नेमध्येः आईएमई लिमिटेड पनि सम्मानित भएको हो । यस्तै प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पु¥याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई पनि विशेष सम्मान गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् । व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पु¥याएको भूमिकाको कदर गर्दै भाटभटेनीलाई सरकारले विशेष सम्मान गरेको हो।राजबहादुर जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजका प्रबन्ध निर्देशक हुन् । उनी र उनका पिता जो इन्ड्रष्टिजका संस्थापक हुन्, दुवैजनाले यससँगै ६ पटक सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका हुन् ।

राजबहादुरले २०८१, २०८२ र २०८३ मा सबैभन्दा बढी कर तिरेको सम्मान ग्रहण गरेका थिए भने विजयबहादुर शाहले २०७७, २०७९ र २०८० सालमा सम्मानित भएका थिए । यस्तै नेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले संस्थागत र व्यक्तिगत गरी करदाताको संख्या ८० लाख पार भएको जानकारी दिएका हुन् । यसले मुलुकका आर्थिक गतिविधिहरू औपचारिक दायरामा आउँदै गएको र करको दायरा विस्तार भइरहेको पुष्टि गर्ने उनले बताए ।’कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको कर सप्ताह तथा विशेष समारोहमा उपमहानिर्देशक शर्माले नेपाल सरकारको कुल राजस्व संकलनमा विभागको योगदान झन्डै ४५ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गरे ।

Advertisement

विभागले गत आर्थिक वर्षमा करिब ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा ७ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पछिल्लो समय राजस्व संकलनमा उत्साहजनक सुधार देखिएको भन्दै शर्माले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । यो अवधिगत लक्ष्यको ९० प्रतिशत र गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो ।आन्तरिक राजस्व विभाग सूचना प्रविधिको प्रयोगमा सरकारी निकायमध्ये अग्रणी रहेको दाबी गर्दै उपमहानिर्देशक शर्माले हाल ९५ प्रतिशतभन्दा बढी सक्रिय करदाताहरूले घर वा कार्यालयबाटै अनलाइन माध्यमबाट कर विवरण दाखिला गरिरहेको बताए । ई–टीडीएस, क्युआर, डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत कर भुक्तानी गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ ।

करदातालाई थप सहज सेवा दिन विभागले तयार पारेको ‘अपडेटेड ट्याक्सपेयर पोर्टल भर्सन’ आजैदेखि सञ्चालनमा ल्याइएको ल्याएको छ । यस्तै, समग्र कर प्रणालीको सुधारका लागि विभागले चालु आर्थिक वर्षमा २८ बुँदे कर सुधार कार्ययोजना कार्यान्वयनमा ल्याएको छ भने वार्षिक १० करोडभन्दा धेरै कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानहरूलाई केन्द्रीय राजस्व सूचना प्रणालीमा आबद्ध गरिएको छ ।बिल बिजक लिने दिने बानीको विकास गर्न सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा बिक्रेतालाई समेत समेटिएको उनले बताए ।

विभागले हाल ४७ वटा आन्तरिक राजस्व कार्यालय, ३८ वटा कोष तथा लेखा नियन्त्रक कार्यालय र २०० भन्दा बढी स्थानीय तहबाट कर सम्बन्धी सेवा प्रवाह गरिरहेको छ । वैदेशिक लगानी प्रवद्र्धन गर्न नेपालको आफ्नै नमुना सन्धि तयार गरी युएई, हङकङ र बेलायतसँग द्वैध कर मुक्ति सम्झौताको वार्ता अघि बढाइएको शर्माले जानकारी दिए । साथै, नेपाल ‘ओईसीडी ग्लोबल फोरम अन ट्याक्स ट्रान्सपरेन्सी फर एक्सचेन्ज अफ इन्फर्मेसन’ को १७३ औं सदस्य राष्ट्र बनेको छ । देशका सबै व्यवसायमा अझै पनि पर्याप्त करदाता शिक्षा पुग्न नसकेको स्वीकार गर्दै उपमहानिर्देशक शर्माले डिजिटल मिडिया र रेडियोमार्फत स्थानीय भाषामा कर सचेतना कार्यक्रम स्थानीय तहसम्म विस्तार गरिने योजना रहेको बताए । आजदेखि सुरु भएको देशब्यापी कर सप्ताह विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रमसहित मंसिर ७ गतेसम्म चल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top