एनपीएल पहिलो क्वालिफायर आजः लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३, मंगलबार
Share this
709shares
०१ मंसिर , काठमाण्डौ ।    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल पुग्ने एउटा टोलीको आज तय हुँदैछ । टियू मैदान कीर्तिपुरमा पहिलो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन् । यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अर्को एउटा मौका पाउने छ । दिउँसो ५ बजे सुरु हुने खेलमा लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी दुवै टोली उपाधि दाबेदार मानिएका छन् । सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा फाइनल पुग्ने प्रयासमा रहँदा लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसरका रूपमा हेरिएको छ । गत संस्करणका फाइनलिस्ट यी दुई टोलीमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । जारी सिजनमा पनि लुम्बिनीले समूह चरणमा ७ विकेटको जित हासिल गरेको थियो ।
तर यी दुवै खेलमा लुम्बिनीले सुदूरलाई कमजोर योगफलमा समेट्न सफल भएको थियो । अर्थात लो–स्कोरमै यी दुईबीच प्रतिस्पर्धा सीमित हुँदै छ। अब पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराउन सके लुम्बिनीको रवाफ यात्रामा ह्याट्रिक हुने छ । लिग चरणमा दुवै टोलीले ५–५ जित निकालेका छन्। सुदूरपश्चिमले २ खेल हार्दा लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल रद्द भएको थियो जसका कारण लुम्बिनीको १ अंक बढी रह्यो । एनपीएलको यो सिजन यी २ टोली दोस्रोपटक भिड्न लागेका हुन् । एनपीएलको उद्घाटनमा यी २ टोलीको पहिलो भेट भएको थियो । सो भेटमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिमलाई पराजित गरेको हो । आजको खेलमा सुदूरपश्चिम त्यो हारको बदला लिँदै फाइनल पुग्न चाहन्छ । सुदूरपश्चिम लुम्बिनीलाई हराउँदै लगातार तेस्रोपटक फाइनल पुग्न चाहन्छ । दोस्रो क्वालिफायरमा आजको खेलमा पराजित हुने टोली र एलिमिनेटरको विजेताले खेल्नेछन् । एलिमिनेटरमा तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानमा रहेको चितवन राइनोज खेल्न्छन् । एलिमिनेटर खेल बुधबार हुनेछ । यता सात खेलबाट पाँच जित, एक हार र एक खेलमा नतिजा नआउँदा अंक बाँडेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रह्यो । टोलीले प्रतियोगिताभर ब्याटिङ र बलिङ दुवैमा सन्तुलन देखाएको छ । लुम्बिनीको आत्मविश्वासको अर्को आधार सुदूरपश्चिमविरुद्धकै पछिल्लो नतिजा पनि हो । जुन खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो । जवाफमा लुम्बिनीले ९.५ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । सो खेलमा शेर मल्लले तीन विकेट लिँदा किशोर महतोले चार विकेट झारेका थिए । ब्याटिङमा डार्सी शर्टले १८ बलमा ४० र आसिफ शेखले २५ बलमा ३२ रन बनाएका थिए । यसपटक पनि लुम्बिनी आफ्नो यही संयोजनमा भरोसा गर्नेछ । डार्सी शर्ट र आसिफ शेखको आक्रामक सुरुआत टोलीको ब्याटिङको आधार बनेको छ । कप्तान रोहित पौडेलले आवश्यकताअनुसार इनिङ्स सम्हाल्दै आएका छन् । मध्यक्रममा सन्दीप जोराको उपस्थिति लुम्बिनीका लागि अर्को बलियो पक्ष हो । जोराले विराटनगर किङ्सविरुद्धको पछिल्लो खेलमा आफ्नो क्षमता देखाइसकेका छन्। अन्तिम दुई ओभरमा ३३ रन आवश्यक हुँदा उनले ११ बलमा २५ रन बनाएर टोलीलाई जिततर्फ डो¥याएका थिए ।
दबाबको अवस्थामा खेलको नतिजा बदल्न सक्ने यस्तै खेलाडी लुम्बिनीको शक्ति हुन् । बलिङमा पनि लुम्बिनी कमजोर छैन। शेरले ६ खेलमा नौ विकेट लिएका छन् । किशोर र रुबेन ट्रम्पलम्यानले समान आठ विकेट हात पारेका छन्। विपक्षीलाई फरक–फरक कोणबाट दबाब दिन सक्ने यी बलर लुम्बिनीका मुख्य हतियार हुन् ।  तर, बलियो टोली हुनु र निर्णायक खेल जित्नु फरक कुरा हुन्। लुम्बिनीको शीर्षक्रम चाँडै आउट भएमा मध्यक्रममाथि दबाब बढ्ने गरेको देखिँदै आएको छ । त्यसैले सुदूरपश्चिमको बलिङ आक्रमणविरुद्ध सुरुआती ब्याटरले जिम्मेवारी लिनुपर्नेछ । कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचन पनि टोलीको बलिङप्रति विश्वस्त छन् । यद्यपि‚ ब्याटिङमा अझै सुधार आवश्यक रहेको उनको बुझाइ छ । युवा खेलाडी अभिषेक गौतमको प्रदर्शन र कप्तान रोहितको नेतृत्वलाई उनले टोलीको सकारात्मक पक्षका रूपमा लिएका छन् ।
‘हाम्रो बलियो पक्ष बलिङ हो र हामीले त्यसलाई राम्रोसँग प्रयोग गरिरहेका छौं। ब्याटिङमा भने अझै सुधार गर्नुपर्ने ठाउँ छ। अभिषेक गौतमजस्ता युवा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। कप्तान रोहितले पनि खेलको अवस्था बुझेर सही समयमा सही निर्णय लिइरहेका छन्,’ उनी भन्छन् । लुम्बिनीको सुदूरपश्चिमसँगको प्रतिस्पर्धा नयाँ होइन। सन् २०२४ मा पहिलो भेटमा सुदूरपश्चिमले ४५ रनको जित निकालेको थियो। सन् २०२५ को लिग चरणमा पनि उसैले लुम्बिनीलाई सात विकेटले हराएको थियो। तर, त्यही संस्करणको फाइनलमा लुम्बिनीले ६ विकेटको जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो । यसपटकको लिग चरणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराइसकेको छ । अर्थात् पछिल्लो समय महत्त्वपूर्ण खेलमा लुम्बिनीको आत्मविश्वास बढ्दो छ । पहिलो क्वालिफायर जिते लुम्बिनीले नोभेम्बर २१ मा हुने फाइनलमा स्थान बनाउनेछ ।
यसबीच यी दुई टोलीबीचको हेड टु हेडको कुरा गर्नुपर्दा लुम्बिनीले यस सिजनको पहिलो खेलमै सुदूरपश्चिमलाई पराजित गर्दा त्यसपछि चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडे । लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले हरायो । काठमाडौं गोर्खाजसँग भने ३४ रनले पराजित भयो । त्यसपछि पुनरागमन गरेको लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेट, कर्णाली याक्सलाई ४ विकेट र विराटनगर किङ्सलाई ४ विकेटले पराजित ग¥यो । लगातार जितसहित लिग चरण पूरा गरेको लुम्बिनी शीर्ष स्थानमा रह्यो । यता सुदूरपश्चिमले पहिलो खेलमै लुम्बिनीसँग ७ विकेटको हार बेहोरेको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको थियो । तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको सुदूरपश्चिमले त्यसपछि लगातार चार खेल जित्यो । उसले चितवन राइनोजलाई ५ विकेट, कर्णाली याक्सलाई ३९ रन, जनकपुर बोल्ट्सलाई २७ रन र काठमाडौं गोर्खाजलाई ७ रनले हरायो। पाँच जित र दुई हारसहित १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो ।
Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top