राष्ट्रसंघको नयाँ महासचिव को बन्दैछ ? यस्तो गोप्य मतदान र भिटो

१ मंसिर २०८३, मंगलबार
Share this
780shares

०१ मंसिर , काठमाण्डौ ।    वर्तमान महासचिव एन्टोनियो गुटेरेसले डिसेम्बर ३१ मा पद छाड्नुपर्ने भएकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (यूएनएससी) ले नयाँ महासचिव चयन गर्न विभिन्न चरणमा प्रारम्भिक मतदान गरिरहेको छ । अहिले राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया निर्णायक मोडतर्फ अघि बढिरहेको छ । संयुक्त राष्ट्रसंघ अर्थात् यूएन विश्व शान्ति, सुरक्षा, मानवअधिकार, अन्तर्राष्ट्रिय सहयोग र विकासका लागि स्थापना गरिएको विश्वव्यापी संस्था हो। सन् १९४५ मा स्थापना भएको राष्ट्रसंघमा हाल १९३ सदस्य राष्ट्र छन्।

Advertisement

राष्ट्रसंघको सबैभन्दा प्रमुख प्रशासनिक अधिकारी महासचिव हुन्। महासचिवले संस्थाको प्रशासन सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय विवाद समाधानका लागि कूटनीतिक पहल गर्ने, विश्व शान्ति र सुरक्षाका विषयमा सदस्य राष्ट्रहरूलाई सचेत गराउने तथा राष्ट्रसंघका कार्यक्रमलाई नेतृत्व प्रदान गर्ने जिम्मेवारी पाउँछन्। वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिँदैछ। त्यसैले राष्ट्रसंघले नयाँ महासचिव चयन प्रक्रिया अघि बढाइरहेको छ। नयाँ महासचिव चयनमा १९३ सदस्य राष्ट्र रहेको महासभा र १५ सदस्यीय सुरक्षा परिषद्को भूमिका हुन्छ। सुरुमा सुरक्षा परिषद्का सदस्यहरूले उम्मेदवारबारे अनौपचारिक मतदान गर्छन्। त्यसपछि परिषद्ले कम्तीमा नौ सदस्यको समर्थन र पाँच स्थायी सदस्य राष्ट्र अमेरिका, चीन, रुस, बेलायत तथा फ्रान्समध्ये कुनैको पनि भिटो नलाग्ने गरी एक उम्मेदवार सिफारिस गर्नुपर्छ। सुरक्षा परिषद्को सिफारिसपछि महासभाले नयाँ महासचिव नियुक्त गर्छ। औपचारिक सिफारिस र नियुक्तिको मिति अझै घोषणा भएको छैन। नयाँ महासचिवले सन् २०२७ जनवरी १ देखि कार्यभार सम्हाल्नेछन्।महासचिव पदका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कोस्टारिकाकी रेबेका ग्रिन्स्पान संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास निकाय (यूएनसीटीएडी) की प्रमुख पनि हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अर्जेन्टिनी प्रमुख राफेल ग्रोसी र संयुक्त अरब इमिरेट्स (यूएई) की विदेश मामिलासम्बन्धी राज्यमन्त्री लाना नुसेबेह पनि प्रतिस्पर्धामा छन् । सुरक्षा परिषद्ले कम्तीमा नौ मत प्राप्त गर्ने र पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनैको पनि भिटो नलाग्ने उम्मेदवारलाई महासचिवका लागि सिफारिस गर्छ । त्यसपछि संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) ले अनुमोदन गरेसँगै चयन प्रक्रिया पूरा हुन्छ ।व्यवहारमा १५ सदस्यीय सुरक्षा परिषद्ले नै संयुक्त राष्ट्रसंघको महासचिव चयन गर्छ । सुरक्षा परिषद्मा पाँच स्थायी सदस्य छन् । चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका स्थायी सदस्य हुन् । उनीहरूसँग कुनै पनि प्रस्ताव रोक्न सक्ने भिटो अधिकार छ । त्यसबाहेक प्रत्येक दुई वर्षमा निर्वाचित हुने १० अस्थायी सदस्य पनि परिषद्मा हुन्छन् । अहिले बहराइन, कोलम्बिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, डेनमार्क, ग्रिस, लाट्भिया, लाइबेरिया, पाकिस्तान, पानामा र सोमालिया सुरक्षा परिषद्का अस्थायी सदस्य छन् ।संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९७ अनुसार सुरक्षा परिषद्ले महासचिवका लागि उम्मेदवार छनोट गरी अनुमोदनका लागि महासभामा सिफारिस गर्छ । त्यसपछि महासभाका सबै सदस्य राष्ट्रले मतदान गर्छन् ।सुरक्षा परिषद्ले सिफारिस गरेको उम्मेदवारलाई महासभाले अस्वीकार गरेको इतिहास छैन । यसको अर्थ सैद्धान्तिक रूपमा सबै सदस्य राष्ट्रको मताधिकार भए पनि महासभाले अहिलेसम्म सुरक्षा परिषद्को निर्णयविपरीत निर्णय गरेको छैन । पाँच स्थायी सदस्यसँग भिटो अधिकार भएकाले उनीहरूले अस्थायी सदस्य राष्ट्रलाई समेत सहमत गराएपछि व्यवहारतः महासचिव चयनमा निर्णायक भूमिका खेल्छन् ।

यद्यपि सन् १९५० मा सुरक्षा परिषद्मा सहमति जुट्न नसकेपछि महासभाले परिषद्को सिफारिसबिनै तत्कालीन महासचिवको कार्यकाल थप्ने निर्णय गरेको थियो । सुरक्षा परिषद्ले अनौपचारिक र गोप्य मतदान गर्छ । यसलाई प्रारम्भिक मतदान (स्ट्र पोल) भनिन्छ । यस्तो मतदानमा सदस्य राष्ट्रले उम्मेदवारप्रति ‘समर्थन गर्छौँ’, ‘समर्थन गर्दैनौँ’ वा ‘कुनै धारणा छैन’ भन्ने विकल्पमा मत दिन्छन् ।मतदान गोप्य हुने भनिए पनि समर्थन, असमर्थन र धारणा नराख्ने मतको संख्या प्रायः सार्वजनिक हुने गर्छ । मतदानका पछिल्ला चरणमा फरक रङका मतपत्र प्रयोग गरिन्छ । यसले सुरक्षा परिषद्का स्थायी र अस्थायी सदस्यको मत छुट्याउन मद्दत गर्छ । यसबाट उम्मेदवारप्रति दुवै समूहको धारणा स्पष्ट हुन्छ । प्रारम्भिक मतदानबाट कुनै उम्मेदवारले कम्तीमा नौ मत समर्थन प्राप्त गरेको र स्थायी सदस्यबाट कुनै भिटो नलाग्ने अवस्था देखिएपछि सुरक्षा परिषद्ले औपचारिक मतदान गर्छ । त्यसपछि महासचिवका लागि उक्त उम्मेदवारलाई महासभामा सिफारिस गरिन्छ । महासभाले पनि त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिन्छ । संयुक्त राष्ट्रसंघको छनोट प्रक्रियामा पारदर्शिताको माग गर्दै आएको गैरसरकारी संस्था यूएन एसोसिएसन–यूकेकी प्रमुख कार्यकारी जेन किनिनमोन्टका अनुसार परम्परागत रूपमा महासचिव चयन प्रक्रिया ‘बन्द र गोप्य’ रहँदै आएको छ । तर नागरिक समाजका समूह र सदस्य राष्ट्रहरूको अभियानका कारण पछिल्लो समय यो प्रक्रिया केही खुला हुँदै गएको छ ।

Advertisement

केही उम्मेदवारले प्रतिस्पर्धाबाट नाम फिर्ता लिएपछि अहिले महासचिव पदका लागि आठ जना मैदानमा छन् । प्रमुख प्रतिस्पर्धीका रूपमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख ग्रोसी र संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास निकायकी प्रमुख ग्रिन्स्पानलाई हेरिएको छ । ग्रिन्स्पान निर्वाचित भएमा उनी संयुक्त राष्ट्रसंघको पहिलो महिला र पहिलो यहुदी महासचिव बन्नेछिन् । सन् २०२२ मा रुस र युक्रेनबीच भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभ (काला सागर हुँदै खाद्यान्न निर्यात गर्ने सम्झौता) गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उक्त सम्झौताले युद्धग्रस्त युक्रेनबाट लाखौँ टन खाद्यान्न निर्यात गर्ने बाटो खोलेको थियो । त्यसको ठूलो हिस्सा विकासशील राष्ट्रहरूमा पुगेको थियो । ग्रोसी सन् २०१९ देखि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको नेतृत्वमा छन् । रुस–युक्रेन युद्धका क्रममा आणविक तनाव बढ्न नदिन राष्ट्रसंघले गरेका प्रयासमा उनी केन्द्रमा रहँदै आएका छन् ।तर ग्रोसीले विशेषगरी इरानबाट आलोचना पनि खेप्दै आएका छन् । इरानको आणविक कार्यक्रमबारे उनले सार्वजनिक गरेका आलोचनात्मक प्रतिवेदनले अमेरिका र इजरायललाई इरानमाथि आक्रमण गर्ने बहाना उपलब्ध गराएको आरोप उनीमाथि लाग्दै आएको छ।
अन्य उम्मेदवारहरुमा :
– मारिया फर्नान्डा एस्पिनोसा गार्सेस (संयुक्त राष्ट्रसंघ महासभाकी पूर्वअध्यक्ष, इक्वेडर)
– लाना जाकी नुसेबेह (राज्यमन्त्री, यूएई)
– फेरिदुन हादी सिनिर्लियोग्लु (युरोपमा सुरक्षा तथा सहयोग संगठनका प्रमुख, टर्कीए)
– क्यारोलिन रोड्रिगेज बिर्केट (संयुक्त राष्ट्रसंघका लागि गुयानाकी राजदूत)
– इभोने ए–बाकी (राजनीतिज्ञ, इक्वेडर)
– ओलारा ओटुनु (राजनीतिज्ञ, युगान्डा)

अहिलेसम्म आठ चरणमा प्रारम्भिक मतदान भइसकेको छ । तर कुनै पनि उम्मेदवारका पक्षमा पूर्ण सहमति जुट्न सकेको छैन । अर्थात् अहिलेसम्म कसैले पनि असमर्थन मत शून्य बनाउन सकेका छैनन् । संयुक्त राष्ट्रसंघको महासचिव चयन प्रक्रियालाई निष्पक्ष, खुला र समावेशी बनाउन विश्वभरका संस्था तथा व्यक्तिहरूले चलाएको ‘वान फर एट बिलियन’ अभियानका अनुसार आठौँ चरणको मतदानमा ग्रिन्स्पान सबैभन्दा अगाडि रहिन् । गत साता भएको मतदानमा उनले १२ समर्थन मत, तीन असमर्थन मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेका ग्रोसीले नौ समर्थन मत, चार असमर्थन मत र दुई धारणा नराख्ने मत पाए । त्यस्तै, बिर्केटले आठ समर्थन मत, पाँच असमर्थन मत र दुई धारणा नराख्ने मत प्राप्त गरिन् । पाँच स्थायी सदस्य राष्ट्रले कसलाई मत दिए र कसैले भिटो प्रयोग गरे वा गरेनन् भन्ने स्पष्ट छैन । तर महासचिवका लागि सिफारिस हुन उम्मेदवारले पाँच स्थायी सदस्यबाट कुनै पनि असमर्थन मत पाउनु हुँदैन । किनिनमोन्टका अनुसार सुरक्षा परिषद्का स्थायी सदस्यले भिटो अधिकार प्रयोग गर्दै आएका कारण परिषद् प्रायः निष्क्रिय बन्न पुगेको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

संयुक्त राष्ट्रसंघको बडापत्रमा वर्तमान महासचिव गुटेरेसको कार्यकाल सकिँदासम्म नयाँ महासचिव चयन हुन नसके के गर्ने भन्ने व्यवस्था छैन । निर्णयमा सहमति जुटाउन कठिनाइ भए सुरक्षा परिषद्सँग केही विकल्प छन् । परिषद्ले छोटो कार्यकालका लागि महासचिव सिफारिस गर्न सक्छ वा सन् १९९६ मा कोफी अन्नानलाई चयन गर्दा जस्तै सहमतिका आधारमा उम्मेदवार अघि सार्न सक्छ । त्यसबेलासम्म सदस्य राष्ट्रहरूले राष्ट्रसंघका कुनै वरिष्ठ अधिकारीलाई संगठनको कामकाज हेर्ने जिम्मेवारी दिन पनि सक्छन् । आज नोभेम्बर १७, सम्म उपलब्ध विवरणअनुसार सुरक्षा परिषद्को अनौपचारिक मतदान प्रक्रिया जारी छ। औपचारिक सिफारिस र महासभाको नियुक्तिको मिति अझै घोषणा भएको छैन। प्रतिस्पर्धामा रहेका ८ जना मध्ये पाँच जना महिला छन्। अहिलेसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा कुनै महिला निर्वाचित भएकी छैनन्।सन् २०२६ को अन्तिम त्रैमासिकभित्र नयाँ महासचिव नियुक्त गर्ने र कार्यभार हस्तान्तरणको तयारी गर्ने लक्ष्य छ। अहिले कोस्टारिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा देखिए पनि अमेरिकी, चिनियाँ, रुसी, बेलायती र फ्रान्सेली समर्थनबिना उनी महासचिव बन्न सक्दिनन्। त्यसैले अन्तिम परिणाममा शक्ति राष्ट्रहरूको कूटनीतिक सहमति निर्णायक हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top