६ मंसिर , काठमाण्डौ । साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ। शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो। लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले उपाधि जितेसँगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन्। पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो। तेस्रो सिजनको उद्घाटन र लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै त्यो हारको बदला समेत लिएको छ। सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने सुन्दर मौका गुमायो। सुदूरपश्चिमले फाइनल खेलमा ब्याटिङमा सुधारिएको प्रर्दशन गर्यो।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । जर्ज मुन्सी र विनोद भण्डारीले १ सय ५८ रनको अविजित साझेदारी गरेपछि सुदूरपश्चिमले सहज जित निकालेको हो। मुन्सीेले ५४ बलमा ८ चौका र १२ छक्का सहयोगमा १ सय २५ रनको अविजित पारी खेले। जारी एनपीएलमा बनेको यो सर्वाधिक व्यक्तीगत स्कोर हो। विनोद भण्डारीले २७ बलमा ३ चौका सहयोगमा ३० रनमा नटआउट रहे। तेस्रो सिजनको एनपीएलमा शतक पूरा गर्ने मुन्सी तेस्रो खेलाडी हुन्। यसअघि चितवनका कमिल मिसाराले काठमाडौ गोर्खाजविरुद्ध र पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णालीविरुद्ध शतक हानेका थिए। समग्रमा एनपीएलमा यो छैटौँ शतक हो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।मुन्सीको विस्फोटक ब्याटिङसामु लुम्बिनीका कुनै पनि बलर प्रभावकारी बन्न सकेनन्। उनले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई खेलमा फर्कने मौका नै दिएनन्। सुदूरपश्चिमले पावरप्लेमा ६० रन बनाएको थियो। पहिलो विकेटका लागि मुन्सी र भण्डारीले ३० बलमै ५० रनको साझेदारी गरे। त्यसपछि पनि उनीहरूको आक्रमण रोकिएन। दुवैले १० ओभरमा टोलीको स्कोर ९० रन पु¥याए। पहिलो विकेटका लागि ६४ बलमा शतकीय साझेदारी पूरा गरेका उनीहरूले ८० बलमै १५६ रनको लक्ष्य पार गरे। त्यसपछि उनले थप आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए। योसँगै मन्सी एनपिएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडी बने। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले बनाएको ८७ रन नै फाइनलमा व्यक्तिगत उच्च स्कोर थियो। मन्सीले उक्त कीर्तिमान तोड्दै फाइनलमा १२५ रनको अविजित इनिङ्स खेले।सुदूरपश्चिम रोयल्सले उपाधि जित्दा थुप्रै कीर्तिमानसमेत बनाएको छ। सुदूरपश्चिमको ऐतिहासिक जितका नायक जर्ज मुन्सी बने। मन्सीको यो शतक एनपिएलको फाइनलमा बनेको पहिलो शतक हो। यसअघि प्रतियोगिताको फाइनलमा कुनै पनि खेलाडीले शतक बनाउन सकेका थिएनन्। यस्तै यो फाइनलको उच्च स्कोर समेत हो। त्यस्तै, मुन्सी को १२५ रन एनपिएलको फाइनलमा मात्र नभई प्रतियोगिताकै व्यक्तिगत सर्वाधिक स्कोरको कीर्तिमानसँग पनि जोडिएको छ। यसअघि चितवन राइनोजका कमिल मिसाराले बनाएको १२० रन प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर थियो। मुन्सीले उक्त स्कोरलाई उछिन्दै नयाँ कीर्तिमान बनाए।सुदूरपश्चिमको जित अर्को अर्थमा पनि विशेष रह्यो। फाइनलमा १० विकेटको जित एनपिएल फाइनल इतिहासकै सबैभन्दा ठूलो जित हो। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले ५ विकेट र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले ६ विकेटको जित निकालेका थिए। सुदूरपश्चिमले दुवैभन्दा ठूलो अन्तरको जित निकाल्दै उपाधि उचाल्यो। मन्सीको कीर्तिमानी शतक, एनपिएल इतिहासकै ठूलो व्यक्तिगत स्कोर र फाइनलमा सबैभन्दा ठूलो जितसँगै सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलोपटक एनपिएलको उपाधि जितेको छ।
यता चितवन राइनोजका रिजन ढकाल एनपीएल ३ का सर्वाेत्कृष्ट बलर बनेका छन् । रिजनलाई सर्वाेत्कृष्ट बलर चुनिएको हो । योसँगै रिजन यस सिजन ‘ओमोडा इलेक्ट्रिफाई प्लेयर अफ द टुर्नामेन्ट’ पनि चुनिए । उनले पुरस्कारस्वरूप ओमोडाको जेईको जे फाइभ प्रो गाडी र पल्सर मोटरसाइकल जिते । रिजन यस सिजनका सर्वाधिक विकेटकर्ता हुन् । उनले १७ विकेट लिए । उनले पहिलो सिजनदेखि नै चितवन राइनोजबाट एनपीएल खेल्दै आएका छन् । यस सिजन उनले आठ खेलमा २७ ओभर बलिङ गर्दा औसतमा ९.८८ को इकोनोमी कायम गरे । उनको चितवन यस सिजन क्वालिफायर्स २ मै सीमित भएको थियो । सुदूरपश्चिम रोयल्ससँग तीन विकेटको हार व्यहोरेपछि टोली फाइनल पुग्न चुकेको थियो । जनकपुर बोल्ट्सका बलर राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको ‘इमर्जिङ प्लेयर’ घोषित भएका छन् । उनले पुरस्कारस्वरूप एउटा मोटरसाइकल प्राप्त गरे ।

यसअघि कुनै पनि घरेलु प्रतियोगितामा उपस्थिति नजनाएका राहुल यस सिजन सबैको ध्यान तान्न सफल भए । ट्यालेन्ट हन्टबाट टिममा परेका उनीले उत्कृष्ट बलिङ गरे । उनी यस सिजनका सर्वाधिक विकेतकर्ताको शीर्ष पाँचमा छन् । १२ विकेटसहित उनी चौथो स्थानमा रहे । ‘डेब्यु’ खेलमै कर्णाली याक्सविरुद्ध दुई विकेट लिएका थिए । लिग चरणको उक्त खेलमा उनले दुई विकेटका निम्ति १५ रन खर्चंदै उत्कृष्ट बलिङको नमुना पेस गरेका थिए । त्यसपछि उनले काठमाण्डू गोर्खाविरुद्ध चार विकेट लिएका थिए । त्यसमा उनी ‘प्लेयर अफ द म्याच’ पनि भएका थिए । उनको टोली समूह चरणमै सीमित भएको थियो ।पोखरा एभेन्जर्सका ओपनर युवराज सम्रा नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनका ‘प्लाटिनम क्याप’ विजेता बनेका छन् । क्यानडाका सम्रालाई प्लाटिनम क्यापबाट पुरस्कृत गरिएको हो । सम्रा यस सिजनका सर्वाधिक रनकर्ता हुन् । उनले सर्वाधिक व्यक्तिगत २९४ रन बनाए ।
विभिन्न आठ टोली सहभागी यस प्रतियोगितामा काठमाडौँ गोर्खाज तेस्रो स्थानमा रह्यो । चितवन राइनोज चौथो स्थानमा रहदा विराटनगर किङ्स पाँचौँ र कर्णाली याक्स छैटौँ स्थानमा रहे । पोखरा एभेन्जर्स दुई जित र पाँच हारसहित चार अङ्क जोडेर सातौँ स्थानमा रह्यो भने पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स अन्तिम स्थानमा सीमित भयो ।यता प्रधानमन्त्री बालने शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने घोषणा गरेका छन्। त्यसका लागि सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन्।एनपिएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्रीले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका हुन्।
उनका अनुसार क्लबका लागि आवश्यक क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ। प्रस्तावित योजनाअनुसार आठवटै फ्रेन्चाइज क्लबका लागि छुट्टाछुट्टै रंगशाला निर्माण गरिनेछ। विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ। त्यस्तै, काठमाडौं गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ। सरकारको यो योजनाले एनपिएललाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। योजना कार्यान्वयन भए छैटौँ संस्करणदेखि एनपिएलका खेल क्लबका आफ्नै घरेलु मैदानमा आयोजना हुनेछन्।



