६ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । उनी आज मध्याह्न १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । प्रधानमन्त्री बालेन भारतीय समय अनुसार आज अपराह्न ३ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए । विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएको छैन । भोलिपल्ट अर्थात् मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भइको छ । मोदीसँगको भेटवार्ताको क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ । साथै दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उदघाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत सहकार्यका विभिन्न क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ । भारतले बालेनको भ्रमणलाई एेितहासिक बनाउने तयारी गरेको छ । मंसिर ७ गते नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने र दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा छ ।
भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ । विदेश मन्त्रालयका अनुसार, आइतबार दिउँसो उनी नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । उक्त भेटवार्ता आइतबार साँझ ६ बजे होटल ताजमहलमा हुने विदेश मन्त्रालयले जनाएको छ । त्यसबाहेक आइतबारका लागि प्रधानमन्त्री शाहको अन्य भेटघाट वा कार्यक्रम तय भएको छैन । उनले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत एवं भेटघाट गर्नेछन् । त्यस्तै, सोही दिन उनले राजघाटस्थित समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्नेछन् । लगत्तै, उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उक्त भेटवार्ता हैदरावाद हाउसमा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, मध्यान्ह १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ । सोही दिन दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने उक्त भेटघाटपछि दिउँसो ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणलक्षित भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा नै दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । उनको स्वागतका निम्ति दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झन्डा पोलमा राखिएका छन् । नेपाल र भारतका झन्डाले सजिएका सडकले प्रधानमन्त्री शाहको भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको संकेत गरेको छ । प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । राजकीय भ्रमणका क्रममा हुने भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र समझदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल बनाउन शुभकामना दिँदै नेपाली कांग्रेसले राष्ट्रिय महत्त्वको भ्रमणअघि प्रमुख प्रतिपक्षसहित राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हितमा उपयोग हुनुपर्ने बताएका छन् । उनले दुई मित्रराष्ट्रबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालको हितका विषयमा ठोस उपलब्धि हासिल गर्न भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । कांग्रेसले भारतसँगको सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ । यसका लागि गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको थियो ।
जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्या छलफलका विषय थिए । तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको कांग्रेसको आरोप छ । राष्ट्रिय महत्त्वका भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको भन्दै कांग्रेसले सरकारबाट सुझाव नमागिएकाले औपचारिक सुझाव अघि नसारेको जनाएको छ । सरकारसँग विभिन्न विषयमा असहमति भए पनि राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट रहेको कांग्रेसले जनाएको छ । भ्रमण क्षणिक लोकप्रियता वा प्रचारमा सीमित नभई विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा केन्द्रित हुनुपर्ने कांग्रेसको अपेक्षा छ । कांग्रेसले भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य र घोषणाभन्दा नेपाल तथा नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धिका आधारमा मूल्याङ्कन हुनुपर्ने स्पष्ट पारेको छ ।
यस्तै, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र दीर्घकालीन समृद्धिसँग जोडिएका महत्त्वपूर्ण विषय टुङ्ग्याउने अवसरका रूपमा उपयोग गर्न सुझाव दिएका छन्। पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामो समयदेखि नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै ती विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरे। प्रधानमन्त्रीले भ्रमणमा प्राथमिकतामा महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई राख्न सुझाए। उनले भने, ‘लामो समयअघि सम्झौता भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै परियोजना अघि बढाउन आवश्यक निर्णय र प्रक्रियालाई टुङ्ग्याउनुपर्छ।
पञ्चेश्वर परियोजना कार्यान्वयन भए नेपाललाई दीर्घकालीन रूपमा ठूलो आर्थिक लाभ पुग्छ।’ उनले टनकपुर ब्यारेजबाट सुदूरपश्चिमका क्षेत्रमा सिँचाइका लागि पानी उपलब्ध गराउने विषयलाई पनि भारत भ्रमणमा टुङ्ग्याउनुपर्ने बताए। करिब २८ किलोमिटर सिँचाइ नहर निर्माण भइसकेको भन्दै सम्झौताअनुसार पानी उपलब्ध गराउनुपर्नेमा जोड दिए। नेपालमा कहिले विद्युत् खेर जाने र कहिले अभाव हुने अवस्था रहेको रहेको भन्दै भारत र बंगलादेशको विद्युत् बजारमा नेपालको सहज पहुँच स्थापित गर्नुपर्नेमा उनले जोड दिए। भारत, बंगलादेशलगायत बीबीआईएन क्षेत्रका मुलुकसँग विद्युत् व्यापार विस्तार र बजार पहुँचलाई थप सुदृढ बनाउन आवश्यक सहमति गर्नुपर्ने उनको भनाइ छ। भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास र सञ्चालन गर्न आवश्यक हवाई मार्गको अनुमति तथा सहमति प्राप्त गर्न सके नेपालको हवाई क्षेत्रको विकासमा ठूलो उपलब्धि हुने उनको बुझाइ छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्रीलाई पन्चेश्वरसहितका परियोजनामा सहमति कायम गर्न सुझाव दिएका छन् । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्रीले रास्वपा सभापति रवि लामिछानेसँग परामर्श गर्नु वाहेक अन्य कुनैपनि राजनीतिक दल तथा कुटनैतिक अधिकारीहरुसँग छलफल गरेका छैनन् । तर विभिन्न माध्यमबाट पूर्वप्रधानमन्त्रीसहित कुटनैतिक अधिकारीहरुले बालेनलाई सmुभाव दिएका छन् । निजी क्षेत्रले पनि प्रधानमन्त्रीलाई विभिन्न १८ बुँदे सुझाव पेश गरेको छ ।



