८ शहरमा ८ क्रिकेट स्टेडियम, छैठौं संस्करणदेखि ८ टिमको होम ग्राउन्ड

६ मंसिर २०८३, आइतबार
Share this
774shares

६ मंसिर , काठमाण्डौ ।     दर्शकहरुको अभूतपूर्व उत्साहका साथ नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण (सिजन–३) को उपाधि सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा दर्ता गराउँदै प्रतियोगिता सम्पन्न भएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपीएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो । लगातार पहिलो र दोस्रो संस्करणको एनपीएलमा फाइनलमा पुग्दै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास कायम ग¥यो ।

Advertisement

दोस्रो संस्करणको एनपीएलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । कात्तिक ९ गतेदेखि सुरुआत भएको तेस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम विजेता बनेको छ । यसअघि भएको पहिलो संस्करणमा जनकपुर बोल्टल्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।सुदूरको जितपछि बधाई दिँदै प्रधानमन्त्री बालेन्द्र शाहलेभने सम्पूर्णक्रिकेट प्रेमीहरुमा उत्साह भर्ने ऐतिहासिक घोषणा गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने प्रधानमन्त्री बालेन शाहले घोषणा गरेका हुन् ।

एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताएका हुन् । उनका अनुसार आठवटै क्लबका रंगशाला नेपाल सरकारअन्तर्गत पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइने प्रधानमन्त्रीले बताएका छन् । सरकारको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ । त्यस्तै, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई क्लबको घरेलु मैदानका रूपमा विकास गर्ने योजना छ । आठवटै क्लबका लागि आफ्नै घरेलु मैदान र फ्लडलाइटसहितको रंगशाला निर्माण भएपछि एनपीएललाई देशका विभिन्न सहरमा सञ्चालन गर्न सहज हुनेछ । होम एन्ड अवे प्रणालीले प्रतियोगितालाई क्षेत्रीय स्तरमा विस्तार गर्नुका साथै स्थानीय दर्शकको सहभागिता, क्रिकेटको लोकप्रियता र खेलसँग जोडिएका आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ । सरकारले क्रिकेटलाई व्यावसायिक खेलका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा लगानी गर्ने घोषणा गरेसँगै नेपाली क्रिकेटमा दीर्घकालीन संरचना निर्माणको नयाँ योजना अघि बढ्ने भएको हो। प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।

Advertisement

यस्तै रास्वपा सभापति रवि लामिछानेले समेत राज्यले क्रिकेटमा लगानी बढाउने भन्दै प्रधानमन्त्रीको घोषणाको स्वागत गरेका छन् । उनले लेखेका छन्, एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अनेकौँ आन्तरिक मानक र विश्व परिदृश्यमा स्थापित पहिचान बनायो। विश्वचर्चित खेलाडीको सहभागिता, निजी क्षेत्रको बढ्दो लगानी, क्लबहरूमा परिष्कृत हुँदै गरेको व्यावसायिकता र किशोर खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटले मारेको फड्को विश्वले नै अनुभूत गरेको छ। बधाई छ, नेपाल र नेपालीलाई! उनले थ पभनेका छन्, ​गर्नुपर्ने अझै धेरै छ। प्रधानमन्त्रीबाट आजै क्रिकेटमा राज्यले लगानी बढाउने र क्लबहरूको व्यावसायिकतामा भरथेग गर्ने घोषणा भएको छ। नेपाली क्रिकेटले अझै फड्को मार्नेछ; बस्, इमानदार सामूहिक प्रयास निरन्तर आवश्यक छ। एनपीएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई। ती सबैलाई धन्यवाद, जसको निरन्तरको मेहनतले विश्वस्तरमै नेपाली क्रिकेटलाई थप स्थापित गरेको छ। रवि हिजोको एनपीएलको उपाधि भिड्न हेर्न स्टेडियम पुगेका थिए । पुरस्कार वितरण समारोहमा समेत गृहमन्त्री सुधन गुरुङ, खेलकुद मन्त्री सस्मित पोखरेलसहित रवि पनि सहभागी भएका थिए ।

कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पहलमा मंसिर ४ गते रंगशालाको पूर्वाधार निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) आह्वान गरिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले अनलाइनमार्फत बोलपत्र आह्वान गरेको छ । ठेक्का छनोटका लागि सिङ्गल स्टेज टु इन्भेलप विधि अपनाइने कार्यालयले जनाएको छ । यस ठेक्काअन्तर्गत रंगशालाको मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने र जमिन सम्याउने काम गरिनेछ । त्यसैगरी, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका पूर्वाधारका काम अघि बढाइनेछ ।

बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण कम्पनीको औसत वार्षिक निर्माण कारोबार भ्याटबाहेक कम्तिमा १३ करोड ८१ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कम्तिमा एउटा समान प्रकृतिको आरसीसी फ्रेम स्ट्रक्चर परियोजना भ्याटबाहेक ११ करोड १० लाख रुपैयाँ बराबरको सम्पन्न गरेको अनुभव हुनुपर्नेछ । कार्यालयले बोलपत्र जमानत रकम ५४ लाख रुपैयाँ तोकेको छ । बोलपत्र खुलेको मितिले ९० दिनसम्म बोलपत्र मान्य रहने र बोलपत्र जमानतको अवधि १२० दिन हुनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक निर्माण कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गरी प्रक्रियामा सहभागी हुन सक्नेछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सुदूरपश्चिमको खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । रंगशाला निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।गत असोजमा नै पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने गरी सम्झौता गरिसकेको छ । खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भएको छ। सम्झौताअनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नेछ भने निर्माण सम्पन्न भएका पूर्वाधारको सञ्चालन राष्ट्रिय खेलकुद परिषद्ले गर्नेछ। पूर्वाधारको स्वामित्व हस्तान्तरण र सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा विगतमा निर्माण भएका कतिपय खेलकुद पूर्वाधार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै परिषद्सँग आवश्यक समन्वय गरेर खेलकुद पूर्वाधार निर्माणको काम अघि बढाउन लागिएको हो।

फुटबलका लागि देशका मुख्य १० शहरमा नयाँ निर्माण तथा स्तरोन्नतिमार्फत रंगशाला विकास गरिनेछ। त्यस्तै, प्रत्येक प्रदेशबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीलाई सहयोग पुग्ने गरी ८ हजार दर्शक क्षमताका फ्लडलाइटसहितका क्रिकेट पूर्वाधार निर्माण गरिनेछ। प्रत्येक प्रदेशमा भलिबल, बास्केटबल र कबड्डीलगायतका फ्रेन्चाइज इभेन्ट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि समेत बजेट विनियोजन गरिएको छ।फुटबलतर्फ झापाको भद्रपुरस्थित मेची रंगशाला, झापाकै आदिवासी जनजाति रंगशाला, पर्साको वीरगञ्जस्थित नारायणी रंगशाला, चितवन रंगशाला, बाँकेको नेपालगञ्ज रंगशाला, सुर्खेत रंगशाला, कैलालीको धनगढी रंगशाला, काठमाडौंको दशरथ रंगशाला, कास्कीको पोखरा रंगशाला, रुपन्देहीको बुटवल एन्फा कम्प्लेक्स, मोरङको शहीद रंगशाला, सुनसरीको धरान रंगशाला र बाँकेको कोहलपुर फुटबल रंगशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ।

क्रिकेटतर्फ जनकपुरस्थित रामजानकी क्रिकेट रंगशाला, विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशाला, बाँकेको कोहलपुरस्थित शहीद सुलभ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सुर्खेतस्थित चाँदनी चोक क्रिकेट रंगशाला, धनगढीस्थित फाप्ला क्रिकेट रंगशाला, काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट रंगशाला, कास्कीस्थित पोखरा क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ। भलिबल, बास्केटबल, कबड्डीलगायतका इन्डोर खेलका फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न सकिने गरी सातै प्रदेशमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिनेछ।

लुम्बिनी प्रदेशमा बुटवल, गण्डकी प्रदेशमा पोखरा रंगशाला, मधेश प्रदेशमा सिरहाको लहान, कोशी प्रदेशमा मोरङको विराटनगर, कर्णाली प्रदेशमा कर्णाली प्रदेश रंगशाला, सुदूरपश्चिम प्रदेशमा फाप्ला खेलग्राम र बागमती प्रदेशमा काठमाडौंमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिनेछ। देशका मुख्य शहर र प्रत्येक प्रदेशलाई लक्षित गरेर तयार गर्न लागिएको खेलकुद पूर्वाधारले नेपालको व्यवसायीक खेलकुदको विकासमा ठोस योगदान गर्ने लक्ष्य सरकारले राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top