७ मंसिर , काठमाण्डौ ।
घाँटीमा ठूलो ट्युमर पलाएपछि नौ महिनादेखि ओछ्यानमा थलिएका रोल्पाका २८ वर्षीय वीरेन्द्र घर्ती क्षेत्रीको केएमसीले निशुल्क उपचार गरेको छ ।
आर्थिक अभावका कारण उपचार गराउन नसकेका वीरेन्द्रलाई काठमाडौं ल्याएर काठमाडौं मेडिकल कलेज (केएमसी) मा सम्पूर्ण उपचार निःशुल्क भइ रहेको डा सुनीलकुमार शर्माले जानकारी दिएका छन् ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–२, सिर्प निवासी वीरेन्द्रको घाँटीमा ट्युमर पलाएपछि हातखुट्टा चलाउनसमेत कठिन भएपछि उपचारका लागि बुटवललगायतका अस्पताल पुगे पनि शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आवश्यक रकम जुटाउन नसकेपछि घर फर्र्किएका थिए ।
वैदेशिक रोजगारीमा समेत असफल भएर फर्किएका वीरेन्द्रको परिवार आर्थिक संकटमा परेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको आग्रहमा डा शर्माले भिडियो कलमार्फत बिरामीको अवस्था बुझेर तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको हो ।



