विराटनगर,कात्तिक १८
विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । मोदी विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटनसँगै विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका हुन् ।
आफ्नो पाँचौँ भ्रमणका क्रममा मोदी मंसिर २६ गते नेपाल आउने निश्चत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री केपीशर्मा ओली र मोदीले विराटनगर महानगरपालिका वडा नं १८ भेडियारी र त्यसको समानान्तर भारतीय भूमिमा बनेको एकीकृत जाँच विन्दु (आइसिपी) को मंसिर २६ गते संयुक्तरुपमा उद्घाटन रुपमा गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम अनुसार ३८ किलोमिटर लामो जनकपुर–जयनगर रेल खण्डको उद्घाटन गरेपछि आइसिपीको उद्घाटन गर्ने कार्यक्रम छ। यसपछि आइसिपी खण्डमा पनि रेल सञ्चालन गरिने छ ।
पूर्वको व्यावसायिक समृद्धिका लागि ड्रिम प्रोजेक्ट मानिएको विराटनगर र सीमावर्ती भारतको गरी दुबै स्थानका आइसिपी भारु ३७३ करोडको लागतमा तयार भएको निर्माण कम्पनीले जनाएको छ ।
आइसिपी निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको १ सय २९ बिघा जमिनमा भारत सरकारले भौतिक संरचनाको निर्माण गरिदिएको हो ।
निर्माण कम्पनी इरकोनका महाप्रबन्धक सुरेन्द्रप्रसाद सिंहका अनुसार भारतीय स्टेसन बथनाहादेखि आइसिपीमा बनाइएको नेपाल कस्टम यार्ड सम्मको ८ किलोमिटरको रेलमार्गको निर्माण पूरा भएको छ ।
उनले बथनाहादेखि १८ किलोमिटर उत्तरमा रहेको कटहरी गाउँपालिकासम्म यसको गन्तव्य रहेको जानकारी दिए ।