विराटनगर, कात्तिक २०
हिन्दु नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार यतिबेला घर आँगनमा प्रवेश गरिसकेको छ भने अर्को प्रमुख तथा मिथिलाञ्चलको प्रमुख पर्व छठ नजिकिँदै छ ।
फूलैफूलको पर्व तथा बत्तीको पर्वमा सबैको घर तथा सडक यतिबेला निकै झिलिमिली पारिएको छ । घर तथा सडकमा झिलीमिली बत्तीहरु लगाएर सजाइएको छ ।
विराटनगर महानगरपालिका– ११ पिचराको सडकपनि यतिबेला झिलीमिली बनाइएको छ । पिचराको जनपथस्कुलदेखि पश्चिम करिब एकहजार मिटरसम्म मनै लोभ्याउने गरी झिलीमिली बत्ती जोडिएको छ ।
तिहार सुरु भएसँगै सडकको पूरै भागमा सजाईएको झिलीमिली बत्ती छठपूजा समारोह समिति पिचराले जडान गरेको हो । अरुबेला जे जस्तो भएपनि महान चाड तिहार तथा छठपर्व भव्यताका साथ मनाउनका लागि स्थानीयबाट सहयोग संकलन गरी झिलीमिली बत्ती जडान गरिएको छठपूजा समारोह समिति पिचराका अध्यक्ष शिवराम सहनीले बताए ।
पिचरामा ३२ बर्षदेखि यसरी नै छठपूजाा समारोह समितिले झिलीमिली बनाउने गरेको उनले बताए । स्थानीयबाट करिब ४ लाख सहयोग संकलन गरि सोमबारबाट जडान गरिएको सो बत्ती छठपर्वसम्म रहने छ । समितिले छठपर्वमा प्रसाद गर्ने पनि अध्यक्ष सहनीले बताए ।