विराटनगर : विराटनगर–११ स्थित होटल एभरेष्ट इनका सञ्चालक अर्जुन साहले त्यहाँ कार्यरत एक होटल मजदुरलाई नदिएको पैसालाई दिएको भन्ने कागज गराएर निर्घात कुटपिट गरेका छन् । होटल सञ्चालक अर्जुन साहले हतार–हतार ५० हजार रूपैयाँ पेश्की लिएको भौचर बनाएर त्यसमा जबरजस्ती हस्ताक्षर गराएपछि होटल मजदुर उत्तम श्रेष्ठलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् ।
नियमित तलब नपाएका होटलका रिसेप्सनिष्ट श्रेष्ठलाई सञ्चालक साहले सुरक्षा गार्ड लगाएर कुटेका हुन् । उनले मजदुर श्रेष्ठलाई थुक्न लगाएर त्यही थुक चाट्नसमेत लगाएका छन् । श्रेष्ठले कोठामा पाहुना आएका कारण होटलको स्टोरबाट बिल कटाएरै आइतबार विहानै केही बोतल वाइन र बियर लगेका थिए । उनी शनिबार राति होटलमै अवेरसम्म काम गरेर त्यहीं सुतेका थिए ।
होटल सञ्चालकले दशैं तिहारमा समेत नियमित तलब नदिएका कारण आर्थिक समस्या भएपछि श्रेष्ठले होटलको नियम अनुसार बिल कटाएर पेयवस्तु लगेको दाबी गरेका छन् । तर सञ्चालक साहले चोरी गरेर लगेको आरोप लगाउँदै कोठाबाटै दुर्व्यवहार गर्दै होटल ल्याएको र हलमा लगेर सुरक्षागार्ड सहितको संलग्नतामा निर्धात कुटपिट गरेको पीडित श्रेष्ठले बताए । कुटपिटपछि आफुलाई जबरजस्ती ५० हजार रूपैयाँ पेश्की लिएको भौचरमा हस्ताक्षर गराएको उनले दाबी गरे ।
साहले श्रेष्ठसहित उक्त होटलमा कार्यरत एक दर्जन बढी मजदुरहरूलाई अहिलेसम्म नियमित तलब भुक्तानी नगरेको होटलका व्यवस्थापक प्रकाश बस्नेतले बताए ।
‘मेरै ३०–३५ हजार रूपैयाँ लिन बाँकी छ, कसैले श्रम ऐन अनुसार नियमित तलब पाएका छैनन्’ बस्नेतले भने– ‘प्रकाश भाइले नियम अनुसार नै बिल काटेर सामान लगेको हो, हरेक होटलमा मजदुरहरूलाई यस्तो सुविधा हुन्छ ।’ व्यवस्थापक बस्नेतले दशैंमा समेत तलब नदिई कसैलाई पाँचसय र कसैलाई एक हजार रूपैयाँ दिएर टारेको आरोप लगाए ।
पीडित मजदुर श्रेष्ठले आफूलाई होटलबाट चोरी गरेर सामान लगेको आरोप लगाउँदै सञ्चालक साहले कुटपिट गरेको बताए । ‘म मासिक आठ हजार रूपैयाँमा काम गर्दै थिएँ, दुई महिनादेखि तलब पाएको छैन’ श्रेष्ठले भने– ‘होटलबाट बिल काटेरै सामान लगेको थिएँ तर मलाई चोरी गरेको भन्दै कुटपिट गर्यो, थुक चाट्न लगायो, लिंदै नलिएको ५० हजार रूपैयाँ लिएको भनेर सही गर्न लगायो ।’
कुटपिट भएपछि मजदुर श्रेष्ठले नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका केन्द्रीय सदस्य कृष्णबहादुर श्रेष्ठलाई फोन गरेर घटनाबारे सुनाएका थिए ।
घटना लगत्तै केन्द्रीय सदस्य श्रेष्ठ सहितको मजदुर टोलीले सञ्चालक साहलाई पक्राउ गरी कानुनी कारवाही गर्न प्रहरी समक्ष माग गरेका छन् । उनले होटल मजदुरलाई नियम अनुसार तलबसमेत नदिने सञ्चालक साहले उल्टै कुटपिट र दुर्व्यवहार गरेको घटनाले होटलमा काम गर्ने अन्य मजदुर र होटल सञ्चालकहरूलाई समेत नकारात्मक असर पारेको बताए ।
यसैबीच कुटपिटमा संलग्न साहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पीडितको लिखित जाहेरीका आधारमा साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।