एजेन्सी, कात्तिक २६
स्पेनिस ला लिगा अन्तर्गत मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । आइतबारको खेलमा बेटिसले बार्सिलोनाको घरेलु मैदानमा ४–३ को जित दर्ता गरेको हो ।
पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे ।
उनलाई पूर्व बार्सिलोना खेलाडी क्रिस्टियन टेलोले असिस्ट दिए । पहिलो हाफमा २–० ले पछाडी परेको बार्सिलोनाले दोस्रो हाफको लागि मिडफिल्डर आर्थर मेलोको स्थानमा आर्टुरो भिडाललाई मैदान प्रवेश गराएको थियो ।
दोस्रो हाफको सुरुवातमा बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रहयो । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान मेसीले ६८ औं मिनेटमो पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए ।
तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुन कायम गर्यो । टेलोकै पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ ले अगाडी बढाए ।
वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना पातलियो ।
८३ औं मिनेटमा सर्जियो कानालेसले बार्सिलोनालाई थप समस्या दिए । फिर्पोको पासमा सहज गोल गर्दै कानालेसले २ गोलको अग्रता कायम राखे । इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् । उनले भिडालको पासमा सहज गोल गरेका थिए ।
यस हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ । ११ खेल खेलेको एस्पान्योलको २१ अंक छ भने जित दर्ता गरेमा बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर छ ।