काठमाडौँ, कात्तिक २६
दशैँको घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गएको छ । चलचित्रको नेपालमा मात्र विदेशमा पनि माग थेगी नसक्ने गरि बढेको छ । नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गर्दै रेकर्ड कायम गरेको छ ।
अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा–२ र लूट २ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिएको छ । नेपालीहरुको बाक्लो बसोबास हुदै गरेको अमेरिकाको डालस टेक्सास मा अहिले छक्का पन्जा ३ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ ।
चलचित्रले हाल सम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस् ले जनाएको छ । दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र छक्का पन्जा ३ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् ।









