काठमाडौँ, कात्तिक २९
पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘भिलेन’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको ‘भिलेन’को नयाँ गीत ‘च्यानाकुटी झ्याई झ्याई।।।’ रिलिज भएको हो ।
अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा चलचित्रकी नायिकाहरू शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री फिचर्ड छन् । सो गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने सङ्गीत लाल कुमार बरालले भरेका हुन् ।
गीतको अन्त्यमा अभिनेता निखिल उप्रेतीको एक्सनपनि समावेश गरिएको छ ।
भिडियोलाई दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठले कोरियोग्राफी गरेका हन् । चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाङ्कन, वसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको सङ्गीत, शुक्रराज शाहको द्वन्द्व छ ।
यो चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् भने बलबहादुर श्रेष्ठ (शीतल)ले निर्माण गरेका हुन् । चलचित्रमा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।









