विराटनगर : सामाजिक सञ्जाल भाईबर, ह्वाटसप, इमोमार्फत चिठ्ठा पर्यो भनी ठगी गर्ने गिरोहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
चिठ्ठा पर्यो भन्दै ठगीमा परेकाहरुको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले बुधबार पाँच भारतीयसहित ९ जनालाई पक्राउ गरेको थियो ।
तर दुई भारतीय नागरिकको संलग्नता नदेखिएपछि प्रहरीले तीन भारतीयसहित प्रहरीले तीन भारतीयसहित ७ जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरि अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा भारत विहारको अररिया जिल्ला अन्तर्गत फारबिसगञ्जका २५ बर्षीय मनोजकुमार ठाकुर, २३ वर्षीय चन्दनकुमार भगत र २८ वर्षीय पंकजकुमार साह छन् ।
भारतीय नागरिकलाई पैसा पुर्याएर सहयोग गर्ने कटहरी गाउँपालिका ४ का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षीय टुनटुन साहलाई पनि प्रहरीले पक्राउ गरेको हो । बुधबार पक्राउ परेका भारतीय नागरिक अमित कुमार, रविन कुमारको संलग्नता नदेखिएपछि छाडिएको थियो ।
प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेकाहरुले विभिन्न ब्यक्तिहरुबाट १६ लाख ५७ हजार रुपैँया ठगी गरेको खुल्न आएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरुले भाईबर, ह्वाटसप, इमो लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई ठुलो धनराशीको चिठ्ठा परेको भन्दै फोन गरेर चिठ्ठा बापतको रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै प्रभावमा पारेर रकम असुलेका थिए ।