एजेन्सी, कात्तिक ३०
यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबारको खेलमा विश्व उपविजेता क्रोएसियाले पूर्व विश्व विजेता स्पेनलाई ३–२ ले पराजित गरेको छ ।
क्रोएसियाको घरेलु मैदान माकसिमिरमा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जिताउन टिन जेडभाजले २ तथा एन्ड्रिज क्रामारिकले १ गोल गरे । स्पेनका ड्यानियल सेवालस र सर्जियो रामोसले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।
खेलको ५४औं मिनेटमा एन्ड्रिज क्रामारिकले इभान पेरिसिकको पासमा गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै ड्यानियल सेवालेसले इस्कोको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
टिन जेडभाजले कप्तान लुका मोड्रिचको पासलाई गोलमा परिणत गरेपछि ६९औं मिनेटमा क्रोएसियाले खेलमा फेरि २–१ को अग्रता लिएको थियो । स्पेनका कप्तान सर्जियो रामोसले पेनाल्टी गोलमार्फत ७८औं मिनेटमा पुनः बराबरीमा ल्याउन सफल भए । क्रोएसियाका भर्साल्जकोले डि–बक्समा ह्यान्ड गरेपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो ।
बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा टिन जेडभाजलेले गोल गर्दै क्रोएसियालाई ३–२ को सघंर्षपूर्ण जित दिलाए ।
जितपछि समुह ४ मा रहेको क्रोएसियाले दोस्रो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । क्रोएसियाको ४ अंक रहँदा पराजित स्पेनको ६ अंक तथा इंग्ल्यान्डको ४ अंक रहेको छ । अहिलेसम्म तीन टोलीको दोस्रो चरण पुग्ने सम्भावना जीवित नै रहेको छ ।