डडेल्धुरा, मंसिर १
डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुर्ङाइलमा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
भागेश्वर गाँउपालिकाको बोगटाबाटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जिप शनिबार बिहान करिब ११ बजेतिर लाकम र ढिमौलाको बीच कुर्ङाइलमा दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
जिप सडकबाट एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा भागेश्वर– ३ बोगटाका ४५ बर्षिय गाडी मालिक दीपेन्द्र शाही र भागेश्वर गाउँपालिका– २, रुपालका २७ वर्षिय धर्मसिं मडै रहेका छन्। जिप चालक फरार रहेको र घाइतेहरूको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा भागेश्वर गाउँपालिका– ३ का ३ वर्षिय एलकस नागरी, ४० वर्षिय रणबहादुर शाही, ११ वर्षिय तनुजा शाही, २२ वर्षिय नवीन शाही, ३२ वर्षिय विष्णु शाही, २३ वर्षिय माया नागरी, बैतडी जिल्ला मेलौली गाउँपालिका– ८ बस्ने १८ वर्षिय गौरी बिष्ट, धनगढी उपमहानगरपालिका– १४ का २६ वर्षिय केशव मल्ल, बैतडी तल्लो सोराड– ४ का १२ वर्षिय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षिय सर्मीला अवस्थी रहेका छन्। भने अन्य ७ जनाको अझै नाम खुल्न सकेको छैन।