राजविराज, मंसिर ८
शुक्रबार राती हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० मा भएको बस दुर्घटनामा एकै नगरपालिकाका ४ महिला सहित ५ जनाको मृत्यु भएपछि डाक्नेश्वरी बासी नै शोकमग्न बन्न पुगेको छ ।
सुनसरीको बराह क्षेत्र र चतरामा पुर्णिमा स्नान र मेला भरेर आफन्तहरु घर फर्कने प्रतिक्षामा रहेकालाई उनीहरु घर नपुग्दै मृत्युको खबर आईपुग्दा डाक्नेश्वरी नगरबासी शोकमग्न पुगेको हो । मृतक परिवारमा रुवाबासी चलेको छ भने छरछिमेक र नगरबासी सवै घटनाको खबर सुनेर स्तब्ध छन् ।
डाक्नेश्वरी नगरपालिकाबाट बस रिजर्ब गरी सुनसरीको बराह र चतरा मेला भरेर तथा पुर्णिमा स्नान गरेर तिर्थ यात्रु फर्किने क्रममा को.१ख. २७९९ नंं. को पुरानो र थोत्रो बस शुक्रबार राती ८ः४५ बजे तिर सडक भन्दा ५० मिटर तल पोखरीमा खसेर दुर्घटना भएको थियो ।
घटना स्थलमै ४ महिला सहित ५ जनाको मृत्यु भएको थियो । घटना मृत्यु हुने सवै डाक्नेश्वरी नगरपालिकाका बासिन्दा हुन् । २० जनाको प्रहरीद्वारा जिवितै उद्घार गरिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा डाक्नेश्वरी नगरपालिकाका दिनेश रजक र उनको पत्नी भोगी देवी रजक छन । यस्तै दुर्घटनामा सोही नगरपालिकाका बेच्नी देवी यादव, सिकिलिा देवी साह र मुखनी देवी यादवको पनि मृत्यु भएको छ ।
घाईतेहरुको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, धरान र विराटनगरमा उपचार भई रहेको डिएसपी भावेश रिमालले जानकारी दिए । राती अवेर सम्म उद्घार कार्य जारी राखी प्रहरीद्वारा शव र घाईतेहरुलाई अस्पताल पुर्याएको थियो ।
क्षमता भन्दा बढी यात्रु र तिब्र गतिका कारण अनियन्त्रित भई बस सडक किनारमा रहेको पोखरीमा खसेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। घटना पछि चालक भने फरार भएको र खोजी कार्य भएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए । ४० सिट क्षमता भएको बसमा ५० जना भन्दा बढी सवार थिए । ति मध्ये ७ जना पौडिएर बाचेका छन भने अन्यलाई प्रहरीको गोताखोर टोलीले उद्घार गरेको थियो ।