काठमाडौं , मंसिर ८
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ ।
शनिबार टीयू मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । जवाफमा जोन्टी ११ ले ९ विकेट गुमाउँदै अन्तिम ओभरमा लक्ष्य प्राप्त गर्यो ।
पारस ११ टोलीमा कप्तान पारस खड्कासँगै कमेडीयन सन्दीप क्षेत्री विनोद भण्डारी, आरिफ शेख, आसिफ शेख, ललित सिंह भण्डारी, कमल सिंह ऐरी, लगायतका खेलाडी खेलेका थिए ।
सन्दीपले खेलमा बलिङ, ब्याटिङ र फिल्डीङ तीनै पक्षमा रमाइलो प्रदर्शन गरेका थिए । जोन्टी ११ बाट कप्तान रोड्ससँगै अभिनेता सुनील थापा, प्रशिक्षक मन्जुर आलम खान, दीपेन्द्र चौधरी, राष्ट्रिय टोलीका अनिल कुमार साह, सुवास खकुरेल, लगायतले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस)र स्पोट्र्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
रोड्स ‘राइज अफ द क्रिकेटिङ’ हाइ पर्फर्मेन्स क्याम्पका लागि पछिल्लो दुई सातादेखि नेपालमा छन् । दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् । विश्व अटिजम दिवसको अवसरमा गराईएको च्यारिटी खेलमा दर्शकहरुको लागि भने प्रवेश निस्शुल्क रहेको थियो ।