विराटनगर पुस ८
पुर्वी नेपालका मुख्य दुई नाका झापाको मेची र विराटनगरको रानी भन्सारबाट पाँच महिनाको अवधिमा ३४ करोड ४७ लाख मुल्य बराबरको ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात भएको छ ।चालु आर्थिक बर्षको पाँच महिनामा यी दुई भन्सारबाट सो मुल्य बरावरको ‘टोम्याटो पाउडर’ अयात भएको हो ।मेची भन्सार कार्यालयबाट पाँच महिनाको अवधिमा २३ करोड र रानी भन्सारबाट ११ करोडको ‘टोम्याटो पाउडर’ आयात भएको हो ।
विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको ४ लाख ९८ हजार ३ सय २७ किलो टोम्याटो पाउडर आयात भएको थियो । अघिल्लो वर्ष मेची भन्सार नाकाबाट १३ करोड रुपैयाँ बराबरको गोलभेडा पाउडर आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
प्रदेश नं एकमा सस उत्पादनकालागि भनेर खोलिएका उद्योगहरु धेरै छन्। उनीहरुले ठूलो परिमाणमा गोलभेडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने गरेका छन् । अचार र सस् उत्पादन गदै आएको रिजाल टाँसीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताए ।
रिजाल टासीले मात्र वार्षिक ७० हजार किलो टमाटरको सस बजारमा खपत गर्दै आएको छ । नेपालमा व्यवसायिक खेतीको प्रचलन बढेसंगै उत्पादन वृद्धि भएका कारण प्रदेश नं एकबाट चालु आर्थिक वर्षको पाँच महिनामा झण्डै ५० लाख रुपैयाँ मुल्य बराबरको गोलभेडा मेची भन्सारबाट भारत निर्यात भएको तथ्याङक रहेको छ ।
प्रदेश नं एकको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश नं एकमा ४ हजार ५ सय ५९ हेक्टरमा गोलभेडा खेती हुदै आएको छ ।जसमा कुल बार्षिक उत्पादन भने ९४ हजार ४६६ मेट्रिकटन उत्पादन रहेको छ ।