विराटनगर, पुस २२
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको विराटनगरको पुसेट क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्वियु पुसेट कमिटिले तालाबन्दी गरेको छ ।
क्याम्पस प्रशासन र विश्वविद्यालयले चरम लापरबाही गरेको तथा क्याम्पसको समस्याको बारेमा बारम्बार जानकारी गराउँदा पनि समस्या समाधान नगरी मौन बसेको भन्दै अनेरास्वियुले तालाबन्दी गरेको हो ।
क्याम्पसमा रहेको सिभिल र इलेक्ट्रिकल संकाय नेपाल इञ्जिनियरिङ काउन्सिलमा तत्काल दर्ता हुनुपर्ने, मनपरी शुल्क खारेज गर्नुपर्ने तथा आङ्गिक क्याम्पस सोसरह पूरानो छात्रावृत्ति नियम लागु गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
आफूहरुका मागहरु सम्बोधन नहुन्जेल तालाबन्दी जारी रहने अनेरास्वियु पुसेट कमिटिका उपाध्यक्ष शिवरत्न साहले जानकारी दिए । विगतमा भएका सम्झौता पनि तत्काल कार्यन्वयन गर्नुपर्ने आफुहरुको माग रहेको उनले बताए ।
क्याम्पसको पुस्तकालयमा आवश्यक पुस्तकको ब्यबस्था गर्नुपर्ने र पठनपाठन नियमित रुपमा सञ्चालन हुनुपर्ने उनीहरुको माग रहेको छ ।
तालाबन्दीमा अनेरास्ववियु पुर्वाञ्चल कमिटीका कोषाध्यक्ष निरज खड्का र पुर्वाञ्चल विश्वविद्यालयको अनेरास्ववियु इन्चार्ज भुषण लिम्बुको समेत उपस्थिती रहेको थियो ।