विराटनगर, पुस २६
सुनसरी प्रहरीले दुहबीका व्यवसायी फिदा हुसेनलाई गोली हानी हत्या गर्ने ३ जनालाई पक्राउ गरेको छ । हत्याराहरु दुहबीकै व्यक्ति रहेको प्रहरीले जनाएको छ । इनरुवामा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।
गएको मंसीर ५ गते बिहान श्रीमतीसहित हिँडिरहेका हुसेनमाथि गोली प्रहार भएको थियो । हत्यामा संलग्न दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय सकिम हुसेन र ३१ वर्षीय जाविर हुसेन रहेका छन् । त्यस्तै हत्यामा संलग्न भएको भनिएका हतियार लुकाउने जिम्मा लिएका दुहबी नगरपालिका–१२ सीतापुरका ६० वर्षीय विश्वम्भर यादवलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार दुहबी–९ कै जफ्फर मियाँलाई बाँकेबाट पक्राउ गरिएको छ । प्रहरीको विशेष अनुसन्धान टोलीले हत्यारा प्रक्राउ गर्न सफल भएको एसपी अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सकिम हत्याको मूख्य योजनाकार हुन् भने जाविर हुसेन हत्या योजनामा संलग्न तथा सहयोगी हुन् ।
त्यसैगरी पक्राउ परेका वृद्ध बिशम्भर यादव हत्यामा प्रयोग भएको हतियार लुकाउन सहयोगी भूमिका खेल्ने व्यक्ति भएको पाइएको सुनसरी प्रहरीले जनाएको छ । हत्यामा संलग्नहरु पक्राउ पश्चात बयानका क्रममा हत्या सुनियोजित र रिसिवीका साथै आर्थिक लेनदेनको कारण भएको खुलेको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए ।
हत्यामा अन्यको समेत संलग्नताको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको कटुवा पेस्तोल, २ राउण्ड गोली र चक्कु एक थान दुहवी १२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा खाल्डो खनी लुकाएको अवस्थामा फेला पारेको छ ।