एजेन्सी, माघ २
बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको कसिलो बलिङसँगै सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई पराजित गरेको छ । सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा भएको खेलमा सन्दीप सम्मिलत सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको हो । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको राइडर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो ।
सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। सन्दीपले सातौं ओभरमा ६ रन खर्चदै पहिलो ओभर सकाएका थिए । चार सिंगल र एक डबल रन थियो । सन्दीपले ९ औं ओभरमा ५ रन मात्र खर्चिए । जसमा सिंगल तीन र डबल एक थियो । सन्दीपले ११ औं ओभरमा तीन डट,दुई सिंगल र एक डबल गर्दै मात्र ४ रन खर्चिए । १७ औं ओभरको पाँचौ बलमा बेनी होवेललाई १३ रनमा बोल्ड आउट गरे । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए ।
राइडर्सका लागि रिले रोसौव ५८,मोहम्मोद मिथुन ३५ र कप्तान मशरफे मोर्तजा ३३ रन बनाउन बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । सन्दीप बाहेक सिक्सर्सका तस्कीन अहमद र मेहदी हसन रानाले समान दुइ विकेट हात पारे ।टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । टोलीका लागि ओपनर लिटन दासले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए । कप्तान डेविड वार्नरले ३६ बलमा ६ चौका र २ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । सिक्सर्सका अन्य निकोलस पुरन २६,शबिर रहमान २० रन जाडे । राइडर्सका शफीउल इस्लामले सर्वाधिक ३ विकेट लिए ।
त्यस अघि सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । चौथो खेलमा कोमिल्लासँग भने सन्दीप सुरुवाती ११ मा परेका थिएनन् ।